के देश पूर्वाधारले बन्ने हो ?

डा. निरज पौड्याल

पूर्वाधारले मात्र देश बन्दैन भन्ने कुरा त घाम जतिकै छर्लङ छ । बडेबडे विकासविद्ले पनि सार्वजनिक रूपमा नै पूर्वाधारले मात्र त देश विकास नहुने पो रहेछ भनेर महसुस गरेको कुरा सार्वजनिक रूपमा भनेको सुनिन थालिसकिएको छ । अर्थशास्त्रको कखरा मात्र जान्नेले पनि यो कुरा बुझिसकेको छ भन्दा हुन्छ । तर, पूर्वाधारले देश टाट पल्टिन पनि सक्छ, राजनीतिक उथलपुथल र द्वन्द्व पनि निम्त्याउन सक्छ भन्ने कुरा चाहिँ हामी मध्य कमैले मात्र विचार गरेका होलाऔं । होइन हामीले त देश विकास भनेकै जति सक्दो चौडा बाटो, अग्लो पुल, रेल त्यो पनि विद्युतीय, अन्तर्राष्ट्रिय विमानस्थल, त्यो पनि प्रदेशैपिच्छे भनेर बुझेको होइन र ? भ्यु टावर र गेटलाई त एकछिन पूर्वाधार नै नमानौं । होइन यो कस्तो तर्क हो ? पूर्वाधार पनि खराब हुन सक्छ र ? राजनीतिले हाम्रो देश विकास गर्दिन लागेको आकर्षक पूर्वाधार थपेर होइन र ? ऋणै गरेर भए पनि एयरपोर्ट किन नबनाउने ? जताततै ६ वा ८ लेनको राजमार्ग किन नबनाउने ? पानीजहाज चलाउन जलमार्गको विकास पनि किन गरी नहाल्ने आउँदो पाँच वर्षमा नै ? पूर्वपश्चिम रेलमार्ग पनि किन नबनाउने ? हामीलाई चाहिएको नै यस्तै विकास होइन र ? हो, आज यसै विषयमा केही चर्चा गरौं । ‘स्थापित’ भनेर मानिएका पूर्वाधारसम्बन्धी धारणामाथि केही प्रश्न गरौं ।

हामीले पूर्वाधार किन आवश्यक पर्छ, पूर्वाधार बनाउनु किन सधैं सही निर्णय होइन र पूर्वाधारको सीमा के हो जस्ता कुरामा ध्यान दिनुपर्छ । विकसित देशमा सुरुमा नै एउटा कुरा बडो बेजोडले देखिन्छ । त्यो भनेको गजबको पूर्वाधारको विकास हो । त्यो देख्दा पूर्वाधार नै विकास रहेछ, विकास भएको त पूर्वाधारले पो रहेछ भनेर आममानिसले ठान्नु अनौठो होइन होला । तर, पूर्वाधार रूखमा फल्दैन । पूर्वाधारको निर्माण गर्न प्राविधिक क्षमताले मात्र पनि पुग्दैन । प्राविधिक र वित्तीय क्षमताले पुगे पनि पूर्वाधार बनाउनु उचित नै काम हो भनेर भन्न सकिँदैन । गर्न सकिने सबै कुरा गर्न योग्य हुँदैनन् । पूर्वाधार निर्माण गर्न वित्तीय पुँजीको वा भनांै लगानीको आवश्यकता पर्छ । संसारमा कुनै पनि देश वा वित्तीय र विकास संस्थासँग असीमित वित्तीय पुँजी हुँदैन । तर, ती सबै देश र संस्थाका आवश्यकताको भने कुनै सीमा हुँदैन, सबैले केही न केही नयाँ गर्न खोजी नै रहेका हुन्छन् जुन उपलब्ध स्रोतले पूरा हुन सक्दैन । त्यसैले तिनले सीमित स्रोतको उचित उपयोग गर्नुपर्नेहुन्छ । निजी लगानी कसले केमा गर्छ र डुब्छ कि लगानी उठ्छ, त्यो सार्वजनिक चासोको विषय होइन । तर, पूर्वाधारमा हुने लगानी आमकरदाताको पसिनाबाट गरिने हुँदा यसमा अझ बढी संवेदनशील हुनुपर्नेहुन्छ । फेरि पूर्वाधार सार्वजनिक वस्तु हो जसको उपयोग कुनै निश्चित व्यक्ति वा समूहका मात्र नभई सम्पूर्ण समुदायका लागि उपयोगी हुनुपर्ने कुरा हो । अर्कोतर्फ पूर्वाधार भनेको प्राकृतिक कुरा होइन । जति ठुलो पूर्वाधार भयो त्यति ठुलो पर्यावरणीय प्रभाव पनि हामीले भोग्नुपर्छ । जति ठुलो जलविद्युत् आयोजना बन्छ, त्यति धेरै पर्यावरणीय क्षति हुन्छ ।

पूर्वाधारमा लगानी गर्दा मुख्य दुई कुरामा ध्यान दिनुपर्छ । पहिलो कुरा सो पूर्वाधारले उचित प्रतिफल दिन्छ कि दिँदैन भनेर हेरिनुपर्छ । सामान्य भाषामा भन्दा सो पूर्वाधारको उपयोग उचित संख्यामा मानिसले गर्छ कि गर्दैनन् वा त्यसले अन्य आर्थिक गतिविधिलाई बढावा दिन्छ वा दिँदैन वा मानिस पैसा तिरेर त्यो पूर्वाधारको प्रयोग गर्न तयार कति हुन्छन् भन्ने कुरा नै पू्र्वाधारको प्रतिफल हो । पर्यावरणीय क्षतिले प्रतिफललाई कम गर्छ । जस्तै, नेपालमा हालसालै निर्माण सम्पन्न दुई अन्तर्राष्ट्रिय विमानस्थलले निकट भविष्यमा न्यूनतम पनि प्रतिफल दिने सम्भावना देखिएको छैन । यहाँ बुझ्नुपर्ने कुरा के छ भने, यी विमानस्थल बनाउँदा ऋण लिएर बनाइएको छ । यसको ब्याज र सावाँ दुवै तिर्नुपर्नेहुन्छ हामी करदाताले । र यी दुवै आयोजनाले कुनै आय नगरे पनि, त्यसको ब्याज र सावाँ हामीले तिरी नै रहेका हुन्छौं, मुख्यतः विदेशी ऋणदातालाई । त्यो तिर्ने रकम यी विमानस्थलले सिर्जना गर्न सकेनन् भने यी पूर्वाधार केवल गहना मात्र हुन्छन् । पानीमा बालुवा हालेसरह हुन जान्छ यस्तो लगानी ।

पूर्वाधारको निर्माण गर्न प्राविधिक क्षमताले मात्र पनि पुग्दैन । प्राविधिक र वित्तीय क्षमताले पुगे पनि पूर्वाधार बनाउनु उचित नै काम हो भनेर भन्न सकिँदैन । गर्न सकिने सबै कुरा गर्न योग्य हुँदैनन् । पूर्वाधार निर्माण गर्न वित्तीय पुँजीको वा भनांै लगानीको आवश्यकता पर्छ

के त्यसो भए ऋण नगरेर बचत वा करदाताको करको रकमबाट बनाउने पूर्वाधार चाहिँ प्रतिफल कम भए पनि बनाउनु उचित हो त ? छोटो उत्तर ‘होइन’ भन्ने हुन्छ । किनकि, त्यो स्रोतले अन्य क्षेत्रजस्तै बालबालिकाको प्राथमिक शिक्षा र स्वास्थ्यमा ठुलो सुधार गर्न सकिने सम्भावना रहन्छ । एउटा उपयोगविहीन विमानस्थल वा सुक्खा बन्दरगाह बन्ने लगानीले कतिवटा सुविधायुक्त कक्षाकोठा बनाउन पुग्ला, कतिवटा दुईकोठे स्वास्थ्यचौकी बनाउन पुग्ला ? उपयोगविहीन विमानस्थल वा सुख्खा बन्दरगाह वा दैनिक लाखौं घाटामा चलाउनुपर्ने रेलभन्दा बालबालिकाका लागि प्राथमिक शिक्षाका पूर्वाधार, साना कच्ची सडक वा खानेपानी र पुस्तकालय बढी उपयोगी र भविष्यमा बढी प्रतिफल दिने खालका हुन सक्छन् । हामीसँग प्रशस्त लगानी गर्न मिल्ने स्रोत भए पनि भौतिक पूर्वाधार बनाउनैपर्छ भन्ने छैन । हाम्रो आवश्यकता, क्षमता, पर्यावरणको संरक्षण सबै कुरालाई हेरेर मात्र निर्णय गर्नुपर्नेहुन्छ ।

पूर्वाधार चाहिने कुरा होइन भनेर भन्न खोजिएको कदापि होइन । तर, पूर्वाधार हेरेर आनन्द लिन, राम्रो राम्रो फोटो खिच्न वा देश विकासको नाराका लागि मात्र आवश्यक पर्ने होइन । पूर्वाधार आवश्यकताले जन्मिनुपर्छ । राजमार्गमा गुड्ने साधन, मानिस र सरसामान भए वा त्यसको प्रचुर सम्भावना भए मात्र पूर्वाधार बनाउने हो । यो गम्भीर अनुसन्धानको प्राविधिक विषय हो, फन्टुस गफ होइन ।

जसरी पनि पूर्वाधार, त्यो पनि अजंगका दैत्याकार पूर्वाधारको रटानले देश टाट पल्टिने मात्र होइन अन्तर्राष्ट्रिय द्वन्द्वको सिकार पनि हुने गरेका छन् । अन्तर्राष्ट्रिय ‘मिटर ब्याजी’ राष्ट्रको फन्दामा राम्रै कहलिएका देश पनि नराम्रोसँग परेका छन् । पूर्वाधारको लोभ देखाएर नेपालमा पनि बहुर्राष्ट्रिय प्रतिस्पर्धा चलेकै छै, एमसीसी, बीआरआई, रिभरलिंक आदि नाममा । कूटनीतिक चातुर्यता देखाउन नसक्ने हो भने हामी पनि भयंकर संकटमा पर्न सक्छौं । प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रेसमा नेपालको पोखरा विमानस्थललाई ऋणको पासोकै उदाहरणका रूपमा पेस भएको देख्न सकिन्छ । हामी अझ अर्को विमानस्थल बनाउनुपर्ने रटान छोड्ने मुडमा छैनौं, अझ जसरी पनि बनाउन पर्ने राजनीतिक आवाज नै बलियो छ ।

हालको हाम्रो विडम्बना के छ भने, हामीले घरघर बाटो, पानी र बिजुली पु¥याउने काममा ठुलो फड्को त मा¥यौं तर गाउँमा मानिस नै बस्न छोड्दै छन् । भत्केको बाटो मर्मत गर्ने मानिस पनि हाम्रो गाउँमा छैनन् । पुगेको पानी प्रयोग कसले गर्ने ? विद्यालय विद्यार्थीको अभावमा बन्द हुने वा अन्य विद्यालयमा समाहित हुने क्रममा छन् । कसका लागि बने त यी पूर्वाधार ? हाम्रो पूर्वाधारको यो भन्दा ठुलो नोक्सानी के हुन सक्छ ? यसबाट के प्रस्ट हुन्छ भने पूर्वाधार थोपरेर मात्र विकास हुने होइन, पूर्वाधार बनाउनका लागि बनाउने पनि होइन । पूर्वाधार मानिसको आवश्यकता पूरा गर्न बनाउने हो । विकास भनेको मानिसको जीवनस्तर सुधार गर्न आवश्यक पर्ने आर्थिक गतिविधि बढाउन हो । आर्थिक गतिविधिको उचित वातावरण नहुँदासम्म पूर्वाधारको कुनै अर्थ नै हुँदैन । हाम्रो देशमा पूर्वाधारको भन्दा पनि व्यवसाय गरेर जीवन चलाउने अन्य वातावरणको गम्भीर अभाव रहेको छ, जसमा सुधारको कुनै सम्भावना पनि देखिएको छैन ।

बरु नयाँ पूर्वाधारमा स्रोत खन्याउनुभन्दा पनि भएको पूर्वाधारको सदुपयोग, उचित मर्मतसम्भार र गुणस्तर सुधार आजको मुख्य आवश्यकता हुन सक्छ । यसले देशमा उत्पादन लागत निकै कम गर्न सक्छन् । नयाँ पूर्वाधार बनाउन सकिन्छ तर प्रतिफल निश्चित गरेर मात्र वा वैकल्पिक लगानीका सम्भावनाको पनि उचित मूल्यांकन गरेर मात्र । विकास भनेको पूर्वाधार मात्र होइन । थोरै पूर्वाधारमा पनि गुणस्तरीय विकास हुन सक्छ । अनावश्यक र पूर्वतयारीबिना बनेका दैत्याकार पूर्वाधार देशका लागि अभिशाप पनि हुन सक्छ ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुरका बागी उम्मेदवार भन्छन्, अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न