भारतमा मोदीको निर्णायक जित

काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले अभूतपूर्व एवं महत्वपूर्ण सफलता हासिल गरेका छन् । पाँच राज्यको प्रान्तीयसभा विधानसभाका लागि भएको निर्वाचनमा हिजो मत गणना भएका चारमध्ये तीन राज्यमा उनको भारतीय जनता पार्टी विजयी भएको छ । मध्यप्रदेश, राजस्थान र छत्तीसगढ राज्यमा मोदीको पार्टीले स्पष्ट बहुमतसहित सरकार गठन गर्ने भएको छ । दक्षिण भारतीय राज्य तेलंगानामा भने प्रतिपक्षी राहुल गान्धीको कांग्रेस पार्टीले स्पष्ट बहुमत हासिल गरेको हो । उत्तरपूर्वको राज्य मिजोरममा आज मात्र मत गणना हुँदै छ ।

संघीय सरकारको नयाँ कार्यकालका लागि आगामी २०२४ को अप्रिल वा मे महिनामा हुन गइरहेको आमनिर्वाचनका सन्दर्भमा अहिलेको प्रान्तीय निर्वाचनलाई सेमिफाइनलका रूपमा हेरिएको थियो । साथै यो निर्बाचनमा मोदीको भारतीय जनता पार्टीले नोक्सानी बेहोर्ने अनुमान गरिएको थियो । निर्वाचन प्रचारप्रसारको प्रारम्भिक दिनमा अधिकांश अपिनियन सर्भेमा हिन्दी भाषी तीन राज्य राजस्थान, मध्यप्रदेश र छत्तीसगढमा कांग्रेस पार्टी जित्ने अनुमान आएको थियो ।

प्रचारप्रसारले गति लिँदै जाँदा प्रायः सबै सर्भेले छत्तीसगढमा एकतर्फी कांग्रेस अगाडि रहेको देखायो भने मध्यप्रदेशमा बराबरीको लडाइँ रहेको र राजस्थानमा भारतीय जनता पार्टीको झिनो सम्भावना देखायो । दक्षिणी राज्य तेलंगानामा चाहिं के चन्द्रशेखर रावको सत्तारूढ बीआरएस दोहरिने अनुमान गरिएको थियो । निर्वाचनपश्चात्को एक्जिट पोलमा समेत छात्तीसगढमा भारतीय जनताले राम्रो मत पाए पनि सरकार चाहिं कांग्रेसकै बन्ने निक्र्याैल ग¥यो, मध्यप्रदेशमा केही सर्भेले मोदीको पार्टीले राम्रो संख्याका साथ जित्ने बताए पनि धेरैले कांग्रेस अगाडि रहने अनुमान ग¥यो र राजस्थानमा कडा प्रतिस्पर्धा हुने अनुमान ग¥यो । तेलंगानामा प्रायः सबै एक्जिट पोलले कांग्रेसको विजयको भविश्यवाणी गरेको थियो ।

खास परिणाम आउँदा अधिकांश विश्लेषकको अनुमान गलत साबित भयो । चुनाव पूर्वको अनुमान गलत भए पनि एक्जिट पोलका हिसाबले दक्षिणी राज्य तेलंगानामा चाहिं कांगेसले जित्ने अनुमान सही साबित भयो । तेलंगानाको ११९ सदस्यीय विधानसभामा कांग्रेसले ६४ स्थानमा विजय हासिल गरेर स्पष्ट बहुमत पाएको छ । मौजुदा सत्ताधारी क्षेत्रीय दल बीआरएस ३९ सिटमा सीमित रह्यो । मोदीको दल भारतीय जनता पार्टीले मौजुदा विधान सभाको १ स्थानको तुलनामा ८ स्थान जितेको छ । यसलाई उल्लेखनीय मानिएको छ । २३० सदस्यीय मध्यप्रदेश विधानसभामा कांग्रेसको ६७ स्थानको तुलनामा भारतीय जनता पार्टीले १६२ स्थान हासिल गरेको छ । यो दुईतिहाइभन्दा बढी हो । यहाँ भाजपाले अझ सशक्त ढंगले सत्तायात्रा दोहो¥याएको छ । २०० सदस्यीय राजस्थान विधानसभामा भाजपाले ११६ स्थान जितेको छ भने कांग्रेस ६८ सिटमा सीमित रह्यो । यसरी कांग्रेसका वर्तमान मुख्यमन्त्री अशोक गहलोतको सत्तायात्रामा विराम लागेको छ । प्रायः सबैजसोको अनुमानविपरीत छत्तीसगढमा समेत भाजपाले ९० सदस्यीय विधानसभामा ५४ स्थान जितेर स्पष्ट बहुमत हासिल गरेको छ भने कांग्रेस ३६ सिटमा सीमित भएको छ । लोकप्रिय मानिएका कांग्रेसी मुख्यमन्त्री भुपेश बघेलको सत्तायात्रा समाप्त भएको छ । समग्रमा कांग्रेसले दुई राज्यमा सत्ता गुमाएर एक नयाँ ठाउँमा सत्ता पाएको छ भने भारतीय जनता पार्टीले एक मौजुदा सत्ता बचाउँदै दुई नयाँ राज्यमा सत्ता थपेको छ ।

यो निर्वाचनको परिणामले आगामी २०२४ मार्च अप्रिलमा हुने संघीय आमनिर्वाचनलाई ठुलो असर गर्ने विश्लेषकको बुझाइ छ । त्यसै भएर आमनिर्वाचनको पूर्वसन्ध्यामा भएको यो प्रान्तीय निर्वाचनलाई सेमिफाइनल भन्ने गरिएको हो । त्यसो त, २०१९ सालमा संघीय निर्वाचनभन्दा ठिकअघि भएको यस्तै निर्वाचनमा भारतीय जनता पार्टी उल्लेखित तीनै हिन्दी भाषी राज्यमा हारेको थियो । तर, चार महिनापछि भएको आमनिर्वाचनमा मोदीको पार्टीले यी तीनै राज्यमा कांग्रेसलाई लगभग बंग्यायो । प्रान्तीय चुनावमा आएको विपरीत परिणामलाई संघीय निर्वाचन पुरै पल्टाउन मोदीले सक्छन्, तर मोदी विरोधीमा त्यो क्षमता देखिएको छैन । यस हिसाबले यो निर्वाचन परिणामले विपक्षीमा निक्कै हडकम्प मच्चिएको छ ।

मोदी र उनको पार्टीसँग लड्न विपक्षीले ‘इन्डिया’ नामको गठबन्धन बनाउने प्रयास भइरहेको थियो । तर, यो परिणामले उक्त गठबन्धन प्रयास पनि तुहिने विश्लेषण गरिँदै छ । उत्तरप्रदेश, बिहार, गुजरात, मध्यप्रदेश, राजस्थान, बंगाल, महाराष्ट्र जस्ता लोकसभाको धेरै सिट भएको राज्यमा अब गठबन्धनका अन्य घटकले कांग्रेसलाई मुख्य दलका रूपमा उल्लेख्य सिट दिन तयार हुने छैन । त्यसै पनि यीमध्ये कतिपय राज्यमा कांग्रेसको प्रभाव न्यून छ । उदाहरणका लागि ८० स्थान भएको उत्तर प्रदेशमा कांग्रेसलाई मुस्किलले २ स्थान दिइने संकेत छ । महाराष्ट्र, बिहार र बंगालमा त्यही हाल छ । दक्षिणी राज्य तेलंगानाको विजयले कांग्रेसमा अहंकार बढ्ने समेत आँकलन गरिँदै छ ।

अर्कातर्फ यो परिणाम भाजपाको पक्षमा यति सुखद परिणाम आउनुका पछाडि मोदीको व्यक्तित्व र ‘जादू’ले ठुलो काम गरेको बताइँदै छ । विपक्षका सामु कुनै सर्वस्वीकार्य व्यक्तित्व छैन । कुनै समझदारी भएर साझा उम्मेद्वार भइहाल्यो भने पनि मोदीसामु त्यो व्यक्ति ‘बामपुड्के’ साबित हुने देखिन्छ । उदाहरणका लागि, कथित गठबन्धनको सबभन्दा ठुलो घटक कांग्रेसका नेता राहुल गान्धी अन्यका लागि स्वीकार्य नै छैनन् । कुनै तरिकाले उनलाई अगाडि सारियो भने पनि उनी मोदीसामु निक्कै होचा सावित हुने छन् ।

कांग्रेसको यो दुर्गतिको अर्को कारण उसको अल्पसंख्यक तुष्टिकरण नीति र सनातन हिन्दुविरोधी प्रस्तुति पनि हो भनिँदै छ । कांग्रेसकै नेता आचार्य प्रमोद कृष्णम भन्छन्, ‘कांग्रेसको यो दुःखद स्थितिका कारण सनातनको अपमान र त्यसकारण सनातनबाट दिइएको श्राप हो ।’ मोदीको अत्यन्तै चतुर रणनीति र कार्यकुशलताका कारण भाजपाको भोट दिन प्रतिदिन सुदृढ हुँदै गएको देखिन्छ । बहुसंख्यक हिन्दु मतदाता मात्र होइन गरिब अल्पसंख्यक समेत बिस्तारै उनको पक्षमा लामबद्ध हुँदै गएको देखिन्छ । गृहमन्त्री अमित शाह र भाजपा अध्यक्ष नड्डा जस्ता कुशल रणनीतिकार संगठकको मेहनत एवं हिन्दुवादी संगठन राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ताको परिश्रम त छँदै छ ।

मोदीको नेतृत्वमा केन्द्र सरकारले कोरोना कालमा गरेको व्यवस्थापन र कल्याणकारी योजनाले पनि उनलाई निक्कै सुदृढ बनाएको छ । छोटो समयमा २ अर्बभन्दा बढी खोप दिनु र ८० करोड मानिसलाई निःशुल्क अनाज उपलब्ध गराइएकाले मोदी निक्कै लोकप्रिय बनेका छ्न् । करोडौं शौचालय एवं आवास निर्माण पनि भएका छन् । मोदीको नेतृत्वमा अन्तर्राष्ट्रिय स्तरमा पनि भारतको छवि उज्ज्वल भएको विश्वास गरिन्छ ।

समग्रमा २०२४ मार्चतिर हुने आगामी संघीय संसद्को लोकसभा निर्वाचनमा नरेन्द्र मोदी र उनको पार्टी दुर्भेध्य शक्तिका रूपमा देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 269 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
१२ स्थानीय तहको मतपरिणाम सार्वजनिक (सूचीसहित)