राजनीतिमा युवापुस्ता !

पूर्वप्रशासक भोजराज पोख्रेल ‘आजको संसद तीन दलका तीन नेताले कब्जा गरेका छन्, यस्तो बेथिति प्रणालीका कारणले भएको होइन, एक्टरका कारणले भएको हो’ भन्दछन् । आज राजनीति, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रमा बेथिति र विसंगति मात्र भेटिन्छ । सरकारले केही गर्छ कि जस्तो देखिन्छ तर विभिन्न बाधा र व्यवधानबीच उसको गति बीचैमा रोकिन्छ । क्रमशः एकपछि अर्को काण्ड जन्मन्छ । माक्र्सवादमा देखापर्ने नकारको नकार झैं नयाँ काण्डले पुरानो काण्डलाई बिर्साइदिन्छ, मेटाइदिन्छ । अनि त नागरिकमा एउटै प्रश्न उब्जन्छ यो सरकारले पनि केही गरेन । सरकार याने कि पात्रगत कमीकमजोरीका कारण अन्ततः यो व्यवस्था नै बेठिक भन्ने भाष्य खडा हुन्छ । अहिले मेडिकल व्यवसायी दुुर्गा प्रसाईंको नेतृत्वमा चलेको व्यवस्था विरोधी आन्दोलनलाई यसैको उपजका रूपमा लिन सकिन्छ ।

पूर्वप्रशासक पोख्रेल थप्छन्, ‘अहिलेको नेतृत्वबाट मान्छेहरू दिक्क भइसकेका छन्, अब उनीहरू सक्रिय राजनीतिबाट बाहिर निस्कनुपर्छ ।’ यो विकृति र विसंगतिको जड व्यवस्था नभएर यसका सञ्चालकहरू हुन् भन्नलाई आममानिसले पोख्रेलको कुरा सुन्नै पर्दैन । आमनागरिकलाई थाहा छ आजको राज्यसत्ता घुमाइफिराइ तीन दल (नेका, एमाले र माओवादी)कै कब्जामा छ । आफूसत्तामा नहुँदा एकले अर्कोलाई सत्तोसराप गरे पनि अन्ततः यी तीन दलका शीर्ष नेतृत्वकै चाहनाबमोजिम शासनसत्ता अघि बढेको छ । यी तीनवटै दलका शीर्षस्थ नेतृत्वले राजनीतिमा आफूबाहेक युवापुस्तालाई देखेकै छैनन् । देखे पनि पत्याएको छैन । त्यो नपत्याई युवासँग सक्षमता र शैली नदेखेर होइन, आफूद शासनसत्ताबाट बाहिरिनुपर्ने भयले गर्दा हो । मौका पाए भने यिनै पुराना दलभित्र राम्रो गरेर देखाउने युवाहरू बग्रेल्ती छन् । तर, उनीहरूलाई पार्टी नेतृत्वले अघि बढ्न कुन हदसम्म दिन्छ सवाल त्यसमा छ ।

सिकाइ हस्तान्तरण
सिकाइमा एउटा सिद्धान्त छ, यसलाई स्थानान्तरण गर्न सकिन्छ, गर्नु पनि पर्छ । राजनीतिमा पनि यो सिद्धान्त लागू हुन्छ । ‘बुढी मरै भाषा सरे’ भन्ने चलन पनि छ । सिकाइ पुस्तान्तरण हुन्छ । यो संस्कारजन्य पनि हुन्छ । शिक्षाविद् सिकाइका तीनवटा तरिका अघि सार्छन्, औपचारिक, अनौपचारिक र अरीतिक । यीमध्ये अरीतिक सिकाइले पार्ने प्रभाव चीरस्थायी र अविस्मरणीय समेत हुन्छ । जस्तो समाजमा बस्यो त्यस्तै व्यवहार देखाउनु यसैको उदाहरण हो । राजदरबारमा गोठालै बसे पनि त्यसले ‘सियोस्’ नै मिसाएर बोल्छ । कतिपय सिकाइ सासुको व्यवहारबाट बुहारीमा र जेठानीको व्यवहारबाट देवरानीमा सरेको हुन्छ ।

यो कुरा नेपाली राजनीतिमा पनि लागू हुन्छ । यतिबेला नेपाली राजनीतिमा जुन परिदृश्य देखिएको छ, त्यसलाई हेर्दा राजनीतिमा लागेका युवापुस्ताले के सिक्ने होलान् ? राजनीतिको आगामी पिंढी कस्तो हुने होला सहजै अनुमान गर्न सकिन्छ । चरम व्यक्तिवादी प्रवृत्ति, मेरो गोरुको बाह्रै टक्का भन्ने शैली र अराजकको भीड तयार गर्नु मात्रै के हाम्रा राजनीतिक दलको अभीष्ट हो ? सत्ता मात्रै सबैथोक हो र सत्तामा मबाहेक अरू बस्नै हुँदैन भन्ने मान्यता मात्र ठिक हो त ? विचारणीय छ । महात्मागान्धी पदमा गएर आदर्श बनेका हुन् र ? गणेशमान सिंह प्रधानमन्त्री भएनन् तर उनको राजनीतिक उचाइसँग आजका कुनै प्रधानमन्त्रीको तुलना हुन सक्छ ? किशुनजीसँग तुलना गर्न लायक कुनै प्रधानमन्त्री हामीकहाँ छन् ? मनमोहनलाई भेट्ने एमालेका अरू प्रधानमन्त्री किन आजसम्म जन्मेनन् ? यसैकारण भनिन्छ सबै निर्वाचित प्रधानमन्त्री वेस्टन चर्चिल हुँदा रहेनछन् न त सबै कम्युनिस्ट पार्टीका अध्यक्ष नै माओत्सेतुुङ हुन्छन् ।

कित्ताकाटको राजनीति
यतिबेला नेपाली राजनीति र खासगरी बामराजनीतिमा कित्ताकाटको अवस्था छ । तत्कालीन नेकपामा देखिएको विवाद, तत्कालीन प्रधानमन्त्रीले दुई÷दुईपटक गरेको संंसद विघठन र सर्वोच्चको संवैधानिक इजलासबाट संसदको पुनस्र्थापनाको आदेशसहित शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नका लागि दिएको परमादेश, एकीकरणबाट बनेको नेकपा वैध नभएको सर्वोच्चको आदेशसहितका परिघटना राजनीतिक उतारचढावका लागि कारक बनेर देखिए ।

अबको भविष्य युवापुस्ताले अवलम्बन गर्ने राजनीतिक चरित्र र कार्यशैलीमा भर पर्छ

नेकपा एमालेमा देखापरेका दुई गुटको चरम महत्वाकांक्षा हाबी हुँदा अहिले बेथिति र विसंगतिको राजनीतिक संस्कार अघि बढेको छ । हिजोसम्म आफंैले आदर्श मानेका नेता दुईतिर हुँदा एउटाले अर्कोलाई अवसरवादी, गद्दार हुँदै देशद्रोहीसमेतको आरोपप्रत्यारोपमा शीर्ष नेताहरू उत्रेका छन् । एउटाको खिलाफमा अर्कोले जुलुस प्रहसन गरिरहेको छ । पराइसँग मुकाविला गर्नुपर्ने तागत सगोत्रीसँग लडेर दुरुपयोग भइरहेको छ । एउटा समूह अर्को समूहका लागि बैरी मात्र होइनन् गणतन्त्रविरोधी, संघीयताविरोधी, स्वार्थी पदलोलुप घोषित भएका छन् । आफ्नो समूहमा आउने साक्षात् ईश्वर ठहरिएका छन् । पर्ख र हेरको अवस्थामा बसेका दुवैथरीको आर्कषण बन्दै छन् । कुनै पनि दिन उनको कित्ता स्पष्ट भएपछि अर्को समूहका लागि उनीहरू पनि गालीगलौजको प्रमुख निशाना हुने छन् । राजनीतिमा योभन्दा भद्दा मजाक अर्को के हुन सक्ला ?

नेपाली कांग्रेसमा पनि यही अवस्था छ । केही दिन पहिला उक्त पार्टीका शेखर समूहद्वारा कोशी प्रदेशमा सरकार गठनका लागि गरिएको गैरराजनीतिक क्रियाकलाप र त्यसबाट उत्पन्न परिस्थितिले राजनीतिमा व्यक्तिकेन्द्रित सत्तामोह छरपस्ट भएको छ । दलीय व्यवस्थालाई सर्वाधिक लोकतान्त्रिक व्यवस्था ठानी यही व्यवस्था अंगीकार गर्नेले यो हदको हर्कत नगर्नुपर्ने थियो तर गरेरै छाडे ।

यतिबेला आफूलाई राजनीतिमा रोलमोडल ठान्ने युवापुस्ता कहाँ छन् ? सकारात्मक हस्तक्षेप गर्छांै भनेर कुर्लनेहरू कहाँ छन् ? के सधंै युवापुस्ता बा, दाइ र भाउजू गुटका मतियारा मात्र भएर बस्ने हो ? भाषणमा दाइ र भाउजूलाई गाली गरेर घरको गोपनियता पराइसँग पोख्नेहरू आफ्नै बा, दाइ, भाउजूसम्मिलित पार्टी बैठकमा किन बोल्न सक्दैनन् ? बाहिर देखिने उनीहरूको चर्को डाँको किन हराउँछ ? यो आजको यक्ष प्रश्न हो, जसको उत्तर युवापुस्ताले दिनै पर्छ ।

गत वर्ष सम्पन्न चुनावमा बहुुमतसहित सिंहदरबारको मूल गेटबाट छिरेर प्रधानमन्त्रीको कुर्चीमा बस्ने उद्घोष गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली निर्वाचनमा आवश्यक मत ल्याउन नसक्दा उनको उक्त सपना पूरा हुन सकेन । यसैकारण यतिबेला प्रधानमन्त्री नहुँदाको पीडा जति केपी शर्मा ओलीमा देखिन्छ, त्यति उनका विरोधी माधव नेपालमा भने देखिँदैन । बरू नेपाल घर पोलेर प्राप्त खरानीमा नै रमाएका छन् । हुँदाखाँदाको पार्टी फुटाएर राष्ट्रिय पार्टी बन्न नसकेको पीडाभन्दा नेपाललाई केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिएकोमा गर्व छ । हुन त सत्ताबाट हट्नासाथ ओलीले बाल्कोटस्थित आफ्नै निवासको बार्दलीबाट माधव नेपालको नामै लिएर गद्दार शब्दले गाली गरेका थिए । ‘अन्य नेता’bout विचार गर्न सकिन्छ तर माधव नेपाललाई कुनै पनि हालतमा एमालेमा आउन दिइने छैन’ भनेको कुरो माधव नेपालले झल्झली सम्झेका छैनन् कसरी भन्न सकिन्छ ? बेलाबेलामा ओलीले नेपाललाई ‘राष्ट्रघाती’ को संज्ञा दिन छाडेका छैनन् । राजनीतिमा देखापर्ने यो हदैसम्मको असहिष्णुता कसैका लागि पनि स्वीकार्य छैन ।

दलीय व्यवस्थामा सांसद आफ्नै दलप्रति उत्तरदायी बन्नुपर्छ । अन्यथा अनुशासन उलंघन गरेको ठहर्छ । उतिबेला पनि एमालेका केही नेताले अनुशासन तोडेको साँचो हो । यसको नेतृत्व उक्त दलका वरिष्ठ नेता माधवकुमार नेपालले गरेकै हुन् । तर, त्यसको उत्तर पार्टीभित्रबाटै खोजिनुपर्नेमा आमसभा गरेर, गाली गलोज गरेर जसरी हुर्मत लिने काम भयो त्यो संस्कृति अपाच्य थियो । एउटा गलत कामको जवाफ अर्को त्यस्तै गलत शैली अवलम्बन गरेरै दिनुपर्छ भन्ने छ र ? आफ्ना दलका नेता, कार्यकर्ताले गरेको गल्तीका लागि राज्यको स्रोत, साधन खर्चेर जवाफ दिन उपयुक्त हुँदैन । जे नगर्नुपर्ने हो त्यही गरियो । यसको उपचार अब कसैमाथि गाली बर्साएर र आगामी पिढींलाई गलत संस्कार सिकाई हुन सक्दैन ।

अर्काेलाइ नहोच्याएसम्म आफू अग्लो हुन नसकिने मनोविज्ञान सबै पार्टीका नेतामा छ । लेनिनका शब्दमा ‘राजनीतिमा गालीले नै प्रायः गाली गर्नेको दुःखलाग्दो शक्तिहीनता, असहायपन, विचारधारात्मक सन्तोषको कमीलाई पूर्णरूपले ढाकिदिन्छ । सायद यही अवस्था हामीकहाँ पनि छ ।

अर्को पार्टीलाई गाली नगरेसम्म राम्रो कार्यकर्ता होइन्न कि भन्ने कार्यकर्ताको बोलबाला पनि सबै पार्टीमा छ । विपक्षी पार्टीका कुरा सुन्नै नसक्ने, खराबै भए पनि आफ्नो पार्टीका कुरा ठिक भन्ने परिपाटी पनि सबै तिर्छ । पार्टी बैठकमा पार्टीका नीति कार्यक्रमभन्दा अरू पार्टीलाई खेदो खनेर बिताइन्छ । यो पनि गलत संस्कार नै हो । कम्तीमा पनि अग्रज भन्नेले नयाँ पुस्तालाई सभ्य, शालीन र नैतिक राजनीतक संस्कार सिकाउन सक्नुपर्छ । यसका लागि आफंै उदाहरणीय बन्नुको विकल्प छैन ।

माउ पुस्ताले गर्न नसकेको त्याग र देखाउन नसकेको सहिष्णुता अब युवापुस्ताले देखाउन सक्नुपर्छ । चर्को डाँको गरेर र मिठामिठा भाषण सुनाएर मात्र यो पुस्ताको जिम्मेवारी पूरा हुँदैन । राजनीतिमा आफ्नै पार्टीभित्र सकारात्मक हस्तक्षेपका लागि युवापुस्ता तम्तयार रहनुपर्छ । आमनागरिक नयाँ भनेर खोलिएका पार्टीका युवाभन्दा इतिहास बोकेकै पार्टीका युवासँग अझै पनि आशावादी छन् । बाँकी भविष्य भने युवापुस्ताले अवलम्बन गर्ने कार्यशैली र उनीहरूले प्रदर्शन गर्ने राजनीति चरित्रमा नै भर पर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 85 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सांसदकाे आरोपप्रत्यारोपले संसद बैठक स्थगित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपा गाउँपालिकामा एमाले विजयी