खोटाङको स्वास्थ्य चौकीमा ठेल्दै ढल्ने पर्खाल !

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलस्थित स्वास्थ्यचौकी भवन निर्माणको काम अलपत्र परेको छ । दुई वर्षअघि नै बनिसक्नुपर्ने स्वास्थ्यचौकी भवन निर्माणको काम गौरी पार्वती न्यू टेक्निकल जेभी, ललितपुरको चरम ढिलासुस्तीका कारण अलपत्र परेको हो ।

भुइँतलाको पर्खालमा प्लाष्टर गरिसकिएको भवनको माथिल्लो तलामा भने पर्खालहरु हाल्न बाँकी देखिन्छ । गौरी पार्वती न्यु टेक्निकल जेभीले २०७८ फागुन २७ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७७ मंसिर ११ गते स्वास्थ्यचौकी भवन निर्माणको सम्झौता गरेको थियो । पटक–पटक थप भएको म्याद गुज्रिदा पनि निर्माण कम्पनीले स्वास्थ्यचौकीको भवन निर्माणको काम अलपत्र पारेको सघन सहरी विकास तथा भवन निर्माण आयोजनाको कार्यालय ओखलढुंगाका आयोजना प्रमुख प्रभाकर कर्णले बताए ।

निर्माण व्यवसायीको चरम लापरवाहीका कारण स्वास्थ्यचौकी भवन निर्माणको काम करिब डेढ वर्षदेखि ठप्प छ । भवन निर्माणका लागि चौथो पटक थप भएको म्याद गत कात्तिक ३० गते गुज्रिसकेको छ । पुःन पाँचौं म्याद थपका लागि विभागमा फायल पेश भएको आयोजना प्रमुख कर्णले बताए । ‘निर्माण व्यवसायीले कामै नगर्दिने ।

अलिअलि काम गर्ने बील लाने, गर्छु–गर्छु भन्ने अनि हिँड्ने ! पटक–पटक म्याद थप्दा पनि ढाँट्ने छल्ने काम भयो । प्रतिवद्धता जनाउने अनि काम गर्न आउँदैआउँदैन,’ कर्णले भने, ‘अव काम गर्नु भएन भने कारबाही गर्छौँ भनेर अन्तिम ताकेता पठाएका छौँ । बैंक ग्यारेन्टी तान्न चिट्ठी लेखेका छौँ । हर्जना लगाएर वा ठेक्का तोडेर त्यो काम अर्कोलाई जिम्मा दिएर भए पनि यो वर्ष काम टुंग्याउने योजना छ ।’ नयाँ पक्की भवन निर्माणको काम अलपत्र परेपछि स्वास्थ्यचौकीलाई पुरानो कच्ची भवनबाट सार्न सकिएको छैन ।

मंसिर २० गते राखाबांदेलमा आयोजित शहिद अनिता गुरुङको शालिक अनावरण कार्यक्रममा उपस्थित प्रतिनिधिसभा सदस्य रामकुमार राई पासाङ र आदिवासी जनजाति आयोगका सदस्य सुर्यबहादुर गुरुङ समक्ष माओवादी केन्द्र वडा कमिटिले अलपत्र परेको स्वास्थ्यचौकी भवनलाई चाँडोभन्दा चाँडो सम्पन्न गर्नका लागि पहलकदमी गर्न लिखित रुपमा हारगुहार गरेका थिए ।

ठेल्दै ढल्ने पर्खाल !
सामान्यतः बालुवा, सिमेन्ट र इँटाले बनेको पर्खाल बलियो मानिन्छ । पक्की पर्खाल तोड्न ह्याम्मर प्रयोग गर्नुपर्ने हुन्छ तर स्वास्थ्यचौकी राखाबांदेलको भवनको पक्की पर्खाल हातले ठेल्दा भत्किने गरेको छ । क्यूरिङ नगरेका कारण भवनको पर्खाल ठेल्दै भत्किने बनेको स्थानीय बताउँछन् । गत मंसिर १७ गते स्थानीय गणेश नाछिरिङले स्वास्थ्यचौकी भवनको पर्खाल ठेलेर लडाउँदै गरेको भिडियो फेसबुकमा पोष्ट गरेर भाइरल बनाएका थिए । बालुवा, सिमेन्ट र इँटा प्रयोग गरेर बनाइएको भवन हातले ठेल्दा भत्किएपछि स्थानीयले गुणस्तरमा प्रश्न उठाउँदै ठेकेदारको आलोचना गरिहेका छन् । स्थानीयले ठेलेर भत्काएको पर्खाल थुप्रिएको देखिन्छ ।

साउदी सरकारको फण्डमा राष्ट्रिय पुःननिर्माण प्राधिकरणमार्फत एउटै ठेक्कामा खोटाङको राखाबांदेल, बाहुनीडाँडा, दोर्पाचिउरीडाँडा, मंगलटार र बतासे स्वास्थ्यचौकीको भवन निर्माणको काम सुरु गरिएको थियो । गौरी पार्वती न्यु टेक्निकल जेभीले भ्याट बाहेक सात करोड ४० लाख ८४ हजार २९६ रुपैयाँमा पाँच स्वास्थ्यचौकीको भवन निर्माणको ठेक्का लिएको हो । हालसम्म पाँच वटै भवनको कामले पूर्णता पाउन नसकेको कर्णले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सदस्यहरूको प्रश्न– गठबन्धनको विषय अहिले नै किन ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मकवानपुरको इन्द्रसरोवर र भिमफेदीमा एमाले बिजयी