ओलीको अत्यन्तै गम्भीर टिप्पणी

सरोज मिश्र

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ छ, ‘चीनसँग मिल्यो भने सबै मिलेर अप्ठ्यारो पार्छन् ।’ यो टिप्पणी देखिए र सुनिएजत्ति सहज छैन । मुलुकको दुईपटक प्रधानमन्त्री भइसकेको व्यक्ति र त्यसमाथि नेपालको ठुलो पार्टी प्रमुख प्रतिपक्षी दलको नेताले व्यक्त गरेको यो धारणा आफैंमा अत्यन्तै गम्भीर छ । ‘चीनसँग मिल्ने’ भन्ने ओलीको भनाइको अर्थ के हो ? चीनसँग उनको पार्टी एमालेले विशेष सम्बन्ध राख्दा एमालेलाई अप्ठ्यारो परेको वा पर्ने भन्ने आशय हो ? कुनै राजनीतिक दलले कुनै विदेशी शक्तिसँग विशेष सम्बन्ध कायम गर्न हुन्छ वा हुँदैन भन्ने प्रश्न आफंैमा महत्वपूर्ण छ । यदि, त्यस्तो सम्बन्ध कायम गर्ने हक राजनीतिक दललाई हुन्छ भनेर मान्ने हो भने पनि त्यो सम्बन्धको विस्तृत विवरण नेपालीले थाहा पाउनुपर्छ ।

नेपाली जनतालाई स्वीकार्य तहमा नेपालको स्वतन्त्रता र अखण्डतालाई नकारात्मक प्रभाव नहुनेगरी एमालेको सम्बन्ध छ वा छैन भन्ने निर्णय गर्ने हक सार्वभौम नेपालीको हो । यदि, एमालेलाई सबै मिलेर अप्ठ्यारो पारिँदै छ भन्ने आशय हो भने एमालेले चीनसँग कसरी मिलेको कारणले अप्ठ्यारो परेको हो त्यो बताइनुपर्छ । त्यसरी अप्ठ्यारो पार्ने काममा ‘सबै मिल्छन्’ भन्ने आरोप लगाइएको छ । ती सबै भनेका कोको हुन् ? ती देशभित्रका शक्ति हुन् कि देशबाहिरका पनि छन् ? एमालेको मात्र विषय नभई समग्र नेपाल राष्ट्रले चीनसँग सहयोग गर्दा अप्ठ्यारो पर्ने भन्ने हो ? त्यसो हो भने त यो झनै गम्भीर विषय हो ।

नेपालले चीनसँग केकस्तो सहयोग गर्दा अप्ठ्यारो प-यो ? कतै यो प्रधानमन्त्रीका रूपमा ओलीले भोगेको अनुभवको अभिव्यक्ति त होइन ? गत आमनिर्बाचनभन्दा अघिको उथलपुथलपूर्ण घटना परिघटना, आमनिर्बाचनको परिणाम र त्यसपछिको सरकार गठन पुनर्गठन तथा मुलुकको वर्तमान असहज परिस्थितिलाई इंगित गर्न खोजिएको हो ? यदि यसो हो भने यी सबै घटना र चीनसँगको सहयोग कसरी जोडिन पुग्छ ? यी प्रश्नको जवाफ सबैले बुझ्ने गरी बताइनुपर्छ । बहुसंख्यक नेपालीको कुरा गर्ने हो भने नेपाली जनमानस चीनसँग अत्यन्त राम्रो सम्बन्ध रहनुपर्छ भन्ने कुरामा विश्वास गर्दछन् भन्ने बुझिन्छ ।

नेपालमा स्वभावजन्य कारणले प्राकृतिक रूपमै भारत वा अमेरिकाविरोधी जनमत रहेको तत्थ्य लुकाउनुपर्ने अवस्था छैन । त्यसमाथि नेपालको प्रचलित राष्ट्रवाद समेत स्वतः भारत वा अमेरिकाविरोधी छ र त्यसैकारण स्वतस्फूर्त चीनमैत्री छ भन्दा पनि अत्युक्ति नहोला । यस्तो अवस्थामा चीनसँग मिल्यो भने अप्ठ्यारो पार्ने काम बहुसंख्यक नेपालीले गर्दैनन् भनेर ठोकुवा गर्न सकिन्छ । यस्तो अवस्थामा कतै यसरी अप्ठ्यारो पार्ने काममा विदेशी शक्ति पो संलग्न छन् कि ? त्यो ‘सबै मिलेर’मा मिल्ने कुनकुन विदेशी वा विदेशीको एजेन्टहरू सक्रिय छन् ? यो खुल्नु अत्यन्तै जरुरी छ ।

नेपाल सामरिक रूपमा अत्यन्तै महत्वपूर्ण अवस्थितिमा रहेका कारणले पनि छिमेकी एवं अन्य शक्तिराष्ट्रको गम्भीर चासो रहँदै आएको छ । चासो मात्र होइन ती शक्तिराष्ट्र सक्रिय पनि छन् । महत्वपूर्ण प्रश्न चाहिं त्यो सक्रियता सकारात्मक छ कि हस्तक्षेपकारी हुँदै नकारात्मक छ भन्ने हो । हाम्रो चीनसँग जायज सहयोग सम्बन्धलाई नकारात्मक प्रभाव पार्ने हक कसैलाई छैन । चीनसँगको सम्बन्ध भारत वा अमेरिकाद्वारा निर्देशित हुनुहुन्न । यो कुरा अन्य राष्ट्रसँगको सम्बन्धमा पनि लागू हुन्छ । भारत वा अमेरिकासँग नेपालको सम्बन्ध चीन वा रुसबाट निर्देशित हुन सक्दैन । नेपालको परराष्ट्र सम्बन्ध नेपालको हितबाट निर्देशित हुने हो र नेपालले सञ्चालन गर्ने हो ।

ओलीको ‘चीनसँग मिल्यो भने सबै मिलेर अप्ठ्यारो पार्छन्’ भन्ने अभिव्यक्तिलाई कूटनीतिक जगत्ले भारत, अमेरिका वा पश्चिमतर्फ इंगित गरेर गरिएको टिप्पणी भनेर बुझ्यो वा व्याख्या ग-यो भने आश्चर्य हुन्न । त्यत्रो तहको जिम्मेवार नेताले दिएको अभिव्यक्तिले मुलुकभित्रै राष्ट्रियताको भावनामा कोलाहल मच्चिन पनि सक्छ । यस्तो गम्भीर विषयमा ओलीका तहबाट फगत सस्तो लोकप्रियताका लागि हल्का टिप्पणी गरिएको हुनै सक्दैन । अब यो विषयलाई सुस्पष्ट हुनेगरी बुझाइदिने दायित्व पनि केपी शर्मा ओलीकै हो । अस्पष्ट अभिव्यक्ति दिएर वा बिम्ब प्रयोग गरेर बोल्नु उपयुक्त होइन ।

नेकपा एमाले वा नेपाल सरकार र राष्ट्रको चीनसँगको सुमधुर सम्बन्धलाई को र कुन शक्तिले अप्ठ्यारो पर्नेगरी प्रभावित गर्न खोजेको हो खुलाइदिनु पर्छ । ओलीका भनाइको परीक्षण हुने नै छ । यदि सत्यता छ भने सम्पूर्ण राष्ट्रिय शक्तिले साथ दिनुको विकल्प रहन्न । स्वयं ओलीले मात्र होइन, अन्य जिम्मेवार नेतृत्ववर्गले पनि खुलेर अगाडि आउने हिम्मत गर्नुपर्छ । वैदेशिक सम्बन्ध भनेको केटाकेटीको खेल होइन । ओलीको यो टिप्पणी ‘हल्का’ साबित नहोस् ।

तपाइको प्रतिक्रिया
(Visited 626 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शिक्षक आन्दोलनले शिक्षालाई ठुलो क्षति पुर्‍याउँछ: कांग्रेस महामन्त्री थापा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीको कविलासी मेयरर उपमेयरमा कांग्रेस विजयी