कांग्रेस : व्यक्तिको लहडमा संसदको ठुलो दल

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनले पार्टीका नेता तथा कार्यकर्ता मात्र होइन, आमजनतामा आशा र भरोसा जगाएको थियो । कांग्रेस पार्टी अब थिति र आफ्नो क्यालेन्डरअनुसार चल्छ भन्ने भरोसा थियो । तर, कार्यकर्ता, आमजनताको भरोसा जतिबेला भंग भयो त्यतिबेला कांग्रेस थिति र आफैंले बनाएको क्यालेन्डरमा होइन व्यक्तिको बलबुतामा चल्न थाल्यो ।

कांग्रेसमा नीति न थिति

८० वर्ष टेक्दै गरेका परिपक्व नेतृत्वलाई ४५ काटेका तर ६० वर्षको युवाको साथले कांग्रेस चलायमान हुन्छ भन्ने विश्वास यतिखेर निराशामा परिणत भएको छ । पार्टीको बैठक र कार्यक्रम क्रमगत रूपमा चल्न सकेका छैनन् । यतिसम्म कि आफैंले बनाएको क्यालेन्डरसमेत कांग्रेसले फलो गर्न सकेको देखिँदैन ।

पार्टीको १४औं महाधिवेशन बैठकले नीतिसँगै एउटै दिशानिर्देश गर्छ भन्ने आमकार्यकर्तामा आशा जगाएको थियो तर पार्टीभित्रैको गुटगत लडाइँले पार्टीको महासमिति बैठकसमेत गर्न सक्ने अवस्था बनिरहेको छैन । सुरुमा १९ कात्तिकमा सभापति शेरबहादुर देउवाको निवास धुम्वाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन बैठकले मंसिर १३ देखि १५ गतेसम्म निर्धारित महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो । सो बैठक पुनः दोस्रोपटक सरेर आउँदो पुस १६ देखि १९ सम्म महासमिति बैठक बस्ने भनेर निर्णय भए पनि सो मिति नजिकिँदै गर्दा तयारी नपुगेको भन्दै बैठक सार्ने प्रपञ्च भइरहेको एक नेताले राजधानीसँग भने । पार्टीको नीति र थिति हामीले बसाउन सकेनौं भने थिति बस्ने खतरा बन्न सक्ने ती नेताले बताए ।

महाधिवेशनपछिको सबैभन्दा शक्तिशाली निकाय महासमितिको बैठक विधानतः प्रत्येक वर्ष बोलाउनुपर्ने व्यवस्था छ । महाधिवेशनको वर्षबाहेक हरेक वर्ष विधानतः बस्नुपर्ने कांग्रेस महासमिति बैठकले पार्टीको नीति तथा कार्यक्रमका साथै विधान संशोधनसहित महत्वपूर्ण विषयमा निर्णय लिन सक्नेछ । तर, कांग्रेसमा पार्टीभन्दा पनि व्यक्ति हाबी बन्दा महासमिति बैठकको मिति पटकपटक धकेलिँदै आइरहेको छ । कांग्रेसमा नेतृत्वले जे गरे पनि ठिक हुन्छ भन्ने थिति बस्ने परम्परा चल्दै आएको छ ।

कांग्रसका कार्यकर्ताले दुई युवा महामन्त्री आएपछि चलायमान ढंगले चल्छ भन्ने जुन अपेक्षा गरेका थिए तर कांग्रेस उही पुरातन ढंगबाटै अघि बढिरहेको छ । गत साउनमा २ देखि १० गतेसम्म केन्द्रीय कार्यसमिति बैठक भए । धेरैले आफ्नो धारणा राखे । दुई महामन्त्रीले बैठकको एजेन्डा प्रस्तुत गरे । महामन्त्री गगन थापाले पार्टीलाई विधिसंगत ढंगबाट चलाउनुपर्छ भनेर कार्यतालिका नै प्रस्तुत गरे । तर, सो कार्यतालिका प्रस्तुतिमा मात्रै सीमित बन्न पुग्यो । महासमिति बैठक आह्वानका लागि महामन्त्रीद्वयले पनि पार्टी सभापतिलाई जोड दिन सकेको देखिँदैन ।

क्यालेन्डरअनुसार कुन मितिमा कुन कार्यक्रम गर्ने कांग्रेसको क्यालेन्डरमा स्पष्ट लेखिएको छ । पार्टीले बीपी कोइरालाको ११०औं जन्मजयन्तीका अवसरमा बीपी साहित्य महोत्सव सम्पन्न ग¥यो । पार्टीले भदौ २४, २५ र असोज ३ गते गरेर तीन दिनसम्म महोत्सव सम्पन्न ग¥यो । यीभन्दा बाहेकका धेरैजसो विषय क्यालेन्डरभन्दा बाहिर गएका छन् । महासमिति बैठक दुईपटकसम्म सर्नुलाई पनि कांग्रेस आफ्नो क्यालेन्डरअनुसार चल्दैन भन्ने सन्देश दिइरहेको छ ।

क्यालेन्डरअनुसार चलेको भए हाल नेपाली कांगेसले १५ मंसिरदेखि १५ माघसम्म दुई महिने घरदैलो कार्यक्रम चलाइरहेको हुन्थ्यो । तर, नेतृत्वसँगको रस्साकस्सी र पार्टीभित्रै बनेका गुट र उपगुटका कारण अभियान चल्न नसकेको कांग्रेसका एक नेताले बताए ।

पार्टी नेतृत्व एकजुट भएको भए कांग्रेसको अवस्था अहिले यस्तो हुन्न थियो, ती नेताले भने, ‘हामी अहिले जनताबीच जाँदा पनि एउटा कार्ययोजनाअनुसार जान सक्थ्यौं तर त्यसो हुन सकेन । पार्टी क्यालेन्डरअनुसार भदौ १० देखि २४ गतेसम्म गर्ने भनिएको समुदायसँग कांग्रेसको संवाद कार्यक्रम स्थगित गरियो । भदौ २९ मा बालदिवसका अवसरमा गर्ने भनिएको ‘कांग्रेस विपन्न छात्रवृत्ति अभियान,’ असोज २ मा गर्ने भनिएको ‘गणेशमान सिंह स्मृति दिवस’ आयोजना क्यालेन्डरमा सीमित भयो ।

क्यालेन्डरअनुसार कात्तिक २४ गते आयोजना हुनुपर्ने सुवर्ण शमशेर स्मृति दिवसको अवसरमा गर्न लागिएको आर्थिक कन्क्लेभ हुन सकेन । सो कार्यक्रम किन हुन सकेन भन्ने विषयमा कांग्रेसको नेतृत्वसँग कुनै जवाफ छैन ।

यतिसम्म कि मंसिर १६ मा भीमबहादुर तामाङ स्मृति दिवसमा नीति संवाद गर्ने शीर्ष नेतृत्वले प्रतिबद्धता जनाएर क्यालेन्डरमा राखिएको कार्यतालिका नाममा मात्रै सीमित भयो । पार्टीको क्यालेन्डर थिति एकातिर र पार्टीको नेतृत्वमा बस्नेबीचको फरक मतले एउटा नीति र नियम बनाएर चल्न नसकेकामा कार्यकर्तासमेत दुःखी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अल्पकालीन र दीर्घकालीन योजना बनाएर अघि बढ्नेछु : धनराज आचार्य