डिप्रेसनले घटाउँछ स्मरणशक्ति

मानिसको जीवनमा स्मरण शक्तिको ठुलो महत्व छ । मानिसको सम्पूर्ण ज्ञान तथा सिप मात्र होइन कि मानिसको हरेक विचार, हरेक कार्य, व्यक्तिगत पहिचान तथा व्यक्तित्व आदि सबै स्मरण शक्तिमा निर्भर रहन्छ । स्मरण शक्तिबिना मानिसको सम्पूर्ण अनुभव निरर्थक हुन्छ, जीवन शून्य हुुन्छ । तर, सबै मानिसको स्मरण शक्ति एकनाश हुँदैन र सधैंभरि उस्तै पनि रहदैन । त्यसैले प्रायः सबै मानिसहरूले आफ्नो जीवन कालमा स्मरण शक्ति घटबढ भएको महसुस गर्छन् । स्मरण शक्ति कमीका विभिन्न कारण हुन सक्छन् । तीमध्ये एउटा कारण हो, उमेर ।

मानिसको उमेर ढल्कदै गएमा मानिसको स्मरण शक्ति पनि केही न केही मात्रामा घट्दै जान्छ । यो प्रायः हरेक वृद्धवृद्धाले महसुस गरेको तथ्य हो । यस किसिमको स्मरण शक्तिको कमीले मानिसको दैनिक जीवनमा खासै असर गर्दैन । तर, बुढेसकालमा, खासगरी ६०–६५ वर्षको उमेरपछि मानिसको दैनिक जीवनमा नै पूर्णतया असर गर्नेगरी स्मरण शक्तिमा कमी आयो भने त्यो स्नायुरोग, अल्जाइमरका कारणले हुन सक्छ । तर, अल्जाइमरले जस्तो लक्षण देखाउने ९० प्रतिशत कारण अल्जाइमर नभएर अन्य रोग हुने गर्छन् ।

अल्जाइमरले जस्तो लक्षण देखाउने एक प्रमुख मानसिक समस्या हो, डिप्रेसन । डिप्रेसनले मानिसको मनमस्तिष्कलाई कुप्रभाव पार्छ । त्यसैले डिप्रेस्ड मानिसको एकाग्रता मात्र होइन कि स्मरण शक्तिसमेत ह्रास हुन्छ । विशेष गरेर डिप्रेसनले अल्पकालीन तथा अतिअल्पकालीन स्मरण शक्तिमा नकारात्मक असर गर्छ । डिप्रेसनका रोगीलाई पुरानो कुरा तुरुन्त भन्न तथा नयाँ कुरा सिक्न तथा याद राख्न गाह्रो पर्छ । तर, डिप्रेसनले मानिसको प्रक्रियागत स्मरण शक्तिलाई कुनै असर गर्दैन ।

जैविक दृष्टिले डिप्रेसन न्युरोरसायनजस्तै सेरोटोनिन तथा नोरएपिनेफ्राइन आदिको असन्तुलन तथा घटीबडीका कारण पैदा हुन्छ । जब मानिस डिप्रेस्ड हुन्छ, स्नायुकोषले कम मात्रामा यस्ता रसायन निष्कासन गर्छन्, जसले गर्दा प्राप्त सूचना नियोकोर्टेससम्म पुग्न सक्दैन । सूचना नियोकोर्टेसमा पुग्न सकेन भने स्मरण शक्तिले कार्य गर्न सक्दैन ।

अर्काेतर्फ डिप्रेस्ड मानिस उदास, थकित तथा उत्साहहीन हुन्छन्, उनीहरूमा साथीसंगीसँग हाँसखेल गर्ने रुचि हँुदैन । उदासी र खिन्नता, नकारात्मक विचारले कतै आशाको ज्योति देख्दैनन् । डिप्रेसनमा परेका व्यक्तिले कि त बढी खान्छन्, बढी सुत्छन् र मोटाउँछन्, कि त कम खान्छन्, राम्रोसँग निदाउँदैनन् र दुब्लाउँछन् । यस्ता व्यक्तिलाई नयाँ कुरा सिक्न कुनै रुचि जाग्दैन । उत्साहहीन र ऊर्जाहीनका कारण पढ्नुपर्ने कुरामा ध्यान लाग्दैन, जसले गर्दा सूचना मस्तिष्कमा दर्ता हुन पाउँदैन । अनि विस्मृति हुन्छ । निद्राको घटबढले गर्दा पनि बुद्धिले ठीकसँग कार्य गर्न सक्दैन । अपराधबोधका कारण अयोग्य आत्मछवि सिर्जना हुन्छ । नयाँ कुरा सिक्न कुनै अभिरुचि लाग्दैन । अनि यथार्थमा नै डिप्रेस्ड मानिसको जीवन अँध्यारो हुन्छ ।

डिप्रेस्ड मानिसको एकाग्रता मात्र होइन कि स्मरण शक्तिसमेत ह्रास हुन्छ

डिप्रेसनमा होस् वा अल्जाइमरमा होस्, दुवै अवस्थामा टेम्पोरल लोब तथा फ्रन्टल लोबको कोर्टेस प्रभावित भएको हुन्छ । डिप्रेसनमा कोर्टेस अस्थायी रूपमा कम क्रियाशील भएको हुन्छ भने अल्जाइमरमा प्लेग तथा ट्याङलहरूका कारण कोर्टेसमा खराबी आएको हुन्छ र यसले एसिटाइलकोलिन न्युरोनबाट कम उद्दीपन (स्टिम्युलेसन) प्राप्त गरेको हुन्छ । एसिटाइलकोलिन यस्तो स्नायुरसायन हो, जसको सम्बन्ध स्मरण शक्तिसँग छ । यदि एसिटाइलकोलिन कम मात्रामा निष्कासन भयो भने स्मरण शक्तिले राम्रोसँग कार्य गर्दैन ।

पाका मानिसहरूको हकमा अल्जाइमर र डिप्रेसन छुट्टाउन गर्न निकै गाह्रो हुन्छ । त्यसैले अमेरिकाजस्तो विकसित देशमा समेत कतिपय चिकित्सकले ठिकसँग निदान गर्न नसकेर कतिपय डिप्रेसनमा परेका व्यक्तिलाई समेत अल्जाइमरको छाप लगाइदिने गर्छन् । तर, अल्जाइमरमा विशेषज्ञता हासिल गरेका अनुभवी चिकित्सकले ठिकसँग अल्जाइमरको पहिचान गर्न सक्छन् । त्यत्ति मात्र होइन कि मानिसमा अल्जाइमर हुने सम्भावनाको पूर्वानुमान गर्न पनि सक्छन् ।

डिप्रेसनबाट पीडित व्यक्तिलाई आफ्नो एकाग्रता र स्मरण शक्ति क्षीण भएको महसुस हुन्छ । तर, अल्जाइमरका रोगीलाई आफ्नो स्मरण शक्ति घट्दै गएको महसुस हुँदैन । अल्जाइमरका रोगीलाई अवसाद विरोधी औषधि (एन्टिडिप्रेसेन्ट)ले केही फाइदा गरे पनि उसको संवेगात्मक क्षमता आउँदो एकदेखि तीन वर्षसम्म लगातार घट्दै जान्छ । तर, डिप्रेसनका रोगी उपचारपछि पूर्ववत्् स्थितिमा फर्कन्छन् ।

अल्जाइमर रोगीको तुलनामा मेजर डिप्रेसनका रोगीले समेत लेखपढ गर्न, साधारण हिसाबकिताब गर्न, सवारी चलाउन, दैनिक कार्य गर्न तथा आफ्नो समान्य समस्या समाधान गर्न सक्छन् । डिप्रेसनका रोगीले लिखित मेन्टल टेस्टमा उत्तर दिन निकै समय लगाउने भए तापनि प्रायः जसो ठिक जवाफ दिन्छन् । तर, अल्जाइमरका रोगीलाई जति समय दिए पनि उनीहरूले यस्ता प्रश्नको उत्तर दिन सक्दैनन् ।

कतिपय विद्यार्थी यही डिप्रेसनका कारण नै पढाइलेखाइमा कमजोर हुन्छन्, आत्मविश्वास कमीका कारणले आफ्नो प्रतिभालाई दबाएर राख्न बाध्य हुन्छन् । अनि, जीवनको दौडमा सधैं पछि पर्छन् । त्यसैले यदि आफ्ना बालबालिका पढाइलेखाइ कमजोर छन्, खेलकुदप्रति पनि उनीहरूको कुनै रुचि छैन, यसका साथै उनीहरूमा उदासीपना, अल्छीपना तथा चिढचिढेपना बढेको छ भने तुरुन्त चिकित्सकसँग सम्र्पक गर्नुपर्छ ।

औषधोपचारबाट डिप्रेसन बिलकुल ठिक हुन्छ । औषधी–उपचारबाट रोगीको मरेको आत्मविश्वास तथा उत्प्रेरणा बढ्छ । राम्रोसँग निद्रा लाग्छ । राम्रो आत्मछवि बन्छ । मन प्रसन्न हुन्छ । एकाग्रता र ध्यानशक्ति बढ्छ, घटेको स्मरण शक्ति पुनः प्राप्त हुन्छ । अर्को शब्दमा भन्ने हो भने रोगीलाई पुनर्जीवन प्राप्त हुन्छ । त्यसैले स्मरण शक्तिको समस्यालाई अझ बढ्नबाट रोक्न सबैभन्दा पहिला डिप्रेसन एक मानसिक समस्या हो भन्ने कुरा बुझ्नुपर्छ र तुरुन्त डिप्रेसनको औषधी–उपचार गर्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बारामा शंकास्पद वस्तु विस्फोट हुँदा ३ जनाको मृत्यु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयर उम्मेदवारको चुनावी प्रतिबद्धता : युवाकेन्द्रित कार्यक्रम ल्याउँछौं