आफ्नो रोलवारे थाहै नपाई पहिलो फिल्म खेलिन भुवनले

काठमाडौं । जीवनमा कहिल्यै चलचित्रको क्यामेरा नदेखेको कलाकारलाई पहिलो पटकमै क्यामेरा अगाडी उभ्याएर अभिनय गर्न निर्देशन दिँदाको अबस्था कस्तो हुन्छ हो ? सम्बन्धित चलचित्रमा आफुले कस्तो र कुन भूमिका निर्वाह गर्दैछु भन्ने पनि नबुझी सिधै अभिनय गर्नु पर्दा झन कलाकार अलमल पर्नु स्वभाविकै हो ।

आमाको छायाँकनको क्रममा प्रथम अभिनेत्री भुवन चन्द थापाले यस्तै अनुभव सँगालेकी छिन् । अभिनेत्री भुवन चन्द थापा पहिलो नेपाली चलचित्र आमाकी प्रथम नायिका हुन् । यो चलचित्रमा काम गर्दा उनी भुवन थापा थिईन् ।

२०२१ सालमा चलचित्र ‘आमा’को निर्माण तयारी हुँदैगर्दा नाट्य कलाकारको रुपमा भुवन चन्द थापा नाचघरमा काम गर्दै थिईन् । त्यतिबेला श्री ५ को सरकार सूचना विभागले यो चलचित्रका लागि कलाकारको माग गर्दै अडिसनको लागि सूचना निकाल्यो । कलाकार लक्ष्मण लोहनीले भुवनलाई सो चलचित्रमा अडिसन दिनको लागि सल्लाह दिए । सोही सल्लाह अनुसार भुवनले यो चलचित्रमा अभिनयको लागि अडिसन दिएकी थिईन् । आमाकाका निर्देशक हिरासिंह खत्री र एर्का एकजना हमाल थरका सिनेकर्मीले कलाकार भुवनको अडिसन लिएका थिए,‘मैले सोर्सफोर्स केही नलगाई त्यतिबेला आमाको लागि सोझै अडिसन दिएँ । अडिसन दिएको ६ महिनापछि बल्ल चलचित्र आमाको लागि तिमी चयन भयौ भनेर जानकारी गराईयो ।’ भुवनले भनिन् ।

त्यो दिन भुवनलाई अझै याद छ, जुन दिन उनले काठमाडौंको चोभारमा यो चलचित्रको लागि पहिलो छायाँकन गरेकी थिईन् । त्यो पल सम्झँदै उनले भनिन्,‘कलाकार इन्द्रलाल श्रेष्ठले मलाई छायाँकनको लागि भनेर चौभार लग्नु भयो र पहिलो दिन मेकअप मात्र गरेर हामी घर फर्कियौं । भारतबाटै आएका व्यक्तिले दोश्रो दिन जब मलाई मेकअप गरेर चौबन्दी चोली र फरिया लगाउन दिए । कपडा लगएर रेडि भएपछि केही क्षण अभ्यास गराएर मलाई क्यामेराको अवाडि अभिनय गर्न डाईरेक्टर साहेवले निर्देशन दिनु भयो ।’

त्यतिबेला नाग्राबाट गीत बजाईयो । ‘गरौंला हामी सृजना अर्को प्रीतिको जगतमा…’गीत बज्यो । यो गीत भुवनले कण्ठ गरिन् । त्यतिबला नै अर्का कलाकार शिव शँकर पनि शेटमा आए । उनी पनि कपडा लगाएर अभिनयका लागि तयार भए,‘मेरो बुवाको साथी शिवशँकर पनि यो फिल्ममा कलाकार छन भन्ने मलाई थाहा थिएन । यो गीतमा उहाँले र मैले अभिनय गर्नु पर्छ भन्दै निर्देशकले सिकाएपछि बल्ल उहाँ पनि कलाकार हुनुहुँदो रहेछ भन्ने मैले जानकारी पाएँ ।’ तर यतिबेलासम्म पनि भुवनलाई आफ्नो भूमिका यो फिल्ममा के छ भन्ने जानकारी थिएन ।

छायाँकन स्थलमा निर्देशकको आदेशमा नाग्राबाट गीत बज्यो । त्यो गीत गाउँदै सुरुमा दश कम हिँडेर अभिनेत्री भुवन ठुलो ढुँगा नजिक पुगिन भने अर्को दिसाबाट शिवशँकर पनि अभिनय गर्दै भुवन भएको ठाउँमा आए । गीतको एक लाईन बजिसकेका कारण निर्देशकले कट भनेको अभिनेत्री भुवनलाई याद छ,‘हामीले त एक टेकमै त्यो सर्ट ओके गरिसकेका रहेछौं । धेरै वटा नाटक खेले पनि जीवनमा पहिलो पटक क्यामेराको अगाडि अभिनय गर्दा उत्साह र डरकोबीच मैले पहिलो टेकमै त्यो अभिनय सम्पन्न गरेँ ।’

त्यो गीतको छायाँकन दिनभर गरेपछि बेलुकी पख बल्ल आफु र शिवशँकर यो चलचित्रको नायक नायिका भएको अनुमान भुवनले गरिन्,‘त्यतिबेला न त हामीलाई डाईरेक्टर साहेबले स्कृप्ट दिनु भएको थियो न त हाम्रो भूमिका के हो भन्नेकुरा नै जानकारी गराउनु भएको थियो ।’ यसरी आफ्नो भूमिका’bout जानकारी नै नपाई चलचित्र आमाको यो गीतको छायाँकन शिबशँकरसँग आफुले सम्पन्न गरेको पनि भुवनले बताईन् ।

नाटकमा काम गर्दा गर्दा अभिनयमा पोख्त भएकी भुवनलाई चलचित्रमा काम गर्दा अभिनय गर्न कत्ति पनि गाह्रो भएन । सुरुमा उनले गरेको अभिनय बढी नाटकीय भयो भन्दै निर्देशकले सिकाएपछि आफुले फटाफट राम्रो अभिनय गर्न सकेको अनुभव यी अभिनेत्रीले सुनाईन् ।

यो चलचित्रको एउटा गीतको छायाँकन त्यतिबेला काठमाडौंका विभिन्न ठाउँमा तीन दिन लगाएर सम्पन्न गरियो । यो गीतको छायाँकनपछि बल्ल चलचित्रको युनिट दृष्य खिच्नको लागि त्रिशुली तर्फ गयो । त्यहाँ पुगेर बल्ल आफुले छायाँकनको क्रममा चलचित्रको केही सम्बाद पढ्न पाएको भुवनले बताईन्,‘निर्देशकले जे गर भन्नु हुन्थ्यो हामी त्यही गथ्र्यों । त्रिशुली पुगेपछि यो चलचित्रमा शिव शँकर नायक र म नायिका भएको अनुमान मैले गरे पनि चलचित्रको कथा के हो र यसमा आफ्नो भूमिका के थियो भन्ने’bout मलाई जानकारी थिएन ।’

त्यतिबेला त्रिशुलीमा छायाँकन अवधि भरीको लागि कलाकारलाई बस्नको लागि नेपाली सैनिकले पाल टाँगेर महिला र पुरुषका लागि छुट्टा छुट्टै घर बनाई दिएको थियो । त्यो पलमै बसेर आफुहरुले छायाँकन सम्पन्न गरेको स्मरण यी अभिनेत्रीले सुनाईन्,‘त्यतिबेला छायाँकनको सबै व्यबस्थापन नेपाली सैनिकले लिएको हुँदा सैनिकले दिन दिनै खसी काटेर हामीलाई मासु भात खुवाउँथ्यो । धेरै दिनसम्म मासु खाएर वाक्क भएपछि एकदिन हामीले गाउँमा गएर गुन्द्रक मागेर ल्याई आर्मीलाई पकाउन लगाएका थियौं ।’ यसरी निकै रमाईलोसँग नेपालमा आफुहरुले छायाँकन गरेको उनले बताईन् ।

नाचघरको कर्मचारी भएका कारण भुवन यो चलचित्रमा काम गर्न काजमा गएकी थिईन् । त्यतिबेला उनलाई यता नाचघरबाट भत्ता त आउँथ्यो नै । चलचित्रबाट पनि अभिनयबापतको भत्ता दिईएको थियो । त्यतिबेला आफु नाचघरको सरकारी कर्मचारी भएको र यो चलचित्र पनि सरकारबाटै निर्माण गरिएका कारण भुवनले अहिलेको कलाकारले जस्तो धेरै पारिश्रमिक पाईनन्,‘हामीलाई पारिश्रमिक भन्दा पनि चलचित्रमा काम गर्न पाउनु नै ठुलो कुरा थियो । नेपालमा पहिलो पटक चलचित्र निर्माण भईरहेका कारण त्यसमा काम गर्न पाउँदा हामी त ज्यादै नै खुसी थियौं ।’

यसरी काठमाडौं, त्रिशुली, धादिङ लगायतका विभिन्न ठाउँमा आउटडोर छायाँकन सकेपछि भुवन सहितको टोली चलचित्र आमाको इन्डोर सुटिङको लागि कलकत्ता गएका थिए । त्यहाँ गएर करिब दुई महिना बसेर आफुहरुले इन्डोर छायाँकन सकेर नेपाल फर्किएको उनले बताईन् ।

यो चलचित्रको प्रिमियर काठमाडौंमा गरिएको थियो । त्यतिबेला भुवन चन्द थापा नाचघरबाट नाटक प्रस्तुतिको लागि बिदेशी गएकी थिईन् । प्रिमियरमा राजा महेन्द्रले यो चलचित्र हेरेपछि भुवनलाई निकै खोजेछन् । उनलाई नभेटेपछि उनको अभिनयको तारिफ गर्दै भुवनको काम मन परेको कुरा यसका निर्देशक तथा अरु कलाकारहरुँसग भनेछन्,‘मेरो अभिनयको राजाबाट तारिफ भएको सुन्दा म त्यतिबेला सह्रै नै खुसी भएँ । पछि राजाबाट तक्मा पनि पाएको थिएँ ।’ भुवनले त्यो आफ्नो लागि जीवनकै ठुलो खुसी भएको बताईन् ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेस निर्णयले तनावमा प्रधानमन्त्री दाहाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा धामी