पोखरा । उपचारका क्रममा भर्ना भएका एक बिरामी सेती नदीमा बेपत्ता भएको आशंकामा सेती बाँध खोलेर खोजी गर्दा उनी मृत फेला परेका छन् ।
तनहुँ घर भइ हाल पोखरा १६, लामाचौर बस्दै आएका १९ वर्षीय संगम मिश्र बिहीबार दिउँसो पोखरा ३, नदीपुरस्थित सेती नदीको बीचमा ढुंगामा अड्किएको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकका अनुसार युवकको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जनाए । घटना’bout थप अनुसन्धान भइरहेको उनले बताए ।
उनीसँगै गएका बाबु औषधि लिन गएको बेला अस्पतालको इमरजेन्सी विभागबाट संगम एक्कासि सम्पर्कविहीन भएका थिए । उनको लगाएको कपडा र परिचयपत्र मणिपाल नजिकैको सेती नदीको झोलुंगे पुलमा भेटिएकोले प्रहरीले खोजीका लागि दिउँसो सेती बाँध खोलेको हो ।
प्रहरीले अघिल्लो दिन नै सूचना जारी गरी उक्त समयमा सेती नदीमा पानीको बहाव बढ्न सक्ने हुँदा सतर्कता अपनाउन आग्रह गरेको थियो ।