काठमाडौं । लिम्बु संस्कृतिमा आधारित चलचित्र दुई कदम शुक्रबारबाट देशव्यापी रिलिज हुने भएको छ । मुलुकको ७ दर्जन भन्दा बढी सिनेमा हलमा यो चलचित्र रिलिज हुने निर्देशक उदय सुब्बाले राजधानीलाई बताएका छन् ।
फिल्मले सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको छ । फिल्मले सोमबार केन्द्रीय चलचित्र जाँच समितिबाट १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावकका साथ फिल्म हेर्ने गरी ‘पीजी’ सर्टिफिकेट पाएको हो ।
यो चलचित्रमा इओन लिम्बु, सिमोन गिरी, सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्माको अभिनय छ ।
यो चलचित्रको फिल्मको एक गीतमा विल्सनविक्रम राई, वर्षा शिवाकोटी र गीता ढुंगानाको अभिनय रहेको छ । फिल्मको छायांकन धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम र झापामा गरिएको हो । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गरेको छ ।
अजम्बरी फिल्म्सको ब्यानरमा निर्माण भएको फिल्ममा तारादेवी लिम्बूको लगानी छ । फिल्ममा दयाराम घिमिरेको पटकथा, विक्रम डिसीको छायांकन, रामजी लामिछाने र कविराज गहतराजको कोरियोग्राफी, ताराप्रकाश लिम्बू, आशीष अविरल र विकास चौधरीको संगीत, र राजु किरातीको द्वन्द्व निर्देशन छ ।