Saturday, June 6, 2020
Home बिचार आपराधिक घटना र प्रहरी सेवा

आपराधिक घटना र प्रहरी सेवा

गत चैत १० गते ठूलो परिमाणको हीराको गहनासहित तीन जना प्रहरी पक्राउ परेको घटना सार्वजनिक भयो । पक्राउ पर्ने प्रहरी कर्मचारीमा काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तमा कार्यरत असई सुरेन्द्रबहादुर बस्नेत, सोही वृत्तमा कार्यरत प्रहरी जवान वीरबहादुर बस्नेत र प्रहरी जवान हिमाकान्त पुन थिए । उनीहरूसँगै आफूलाई पत्रकार बताउने सुजन आचार्य पनि पक्राउ परे । पक्राउ परेका चार जनाको साथबाट मकवानपुर जिल्लाको कैलाश गाउँपालिका–५ चौकीदार निवासी धनलक्ष्मी गुरुङको घरबाट लुटिएको हीराको गहना पनि बरामद भएको थियो । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको प्रहरीले अपराधमा संलग्न प्रहरीसहितको पत्रकारलाई पक्राउ गर्दा उनीहरूको साथबाट सात राउन्ड गोलीसहितको एक थान ठूलो चाइनिज पेस्तोल सर्वसाधारणले प्रयोग गर्ने चार थान वाकीटकी सञ्चार सेट र क्यामरा एक थान मेटल डिटेक्टर एक तथा प्रयोग गरेको गाडीसमेत बरामद भएको थियो । पक्राउमा परेका प्रहरी कसुरदारको कार्यरत स्थल, उनीहरूको साथबाट बरामद भएको चिजवस्तु र पीडित धनलक्ष्मी गुरुङको बसोबासस्थल समेतका आधारमा असई सुरेन्द्रबहादुर बस्नेतको टोलीले सुनियोजित एवं योजनाबद्ध ढंगले अपराध गरेको कुरा पुष्टि गर्दछ ।

आपराधिक घटना त्यसै पनि सबैको चिन्ता र चासोको विषय हुने गर्दछ । यसमा पनि प्रहरी टोलीबाटै सुनियोजित तबरले भएको यो आपराधिक घटना भने सबैका निम्ति आश्चर्यको विषय बन्यो । बहालवाला सुरक्षाकर्मीबाटै सामूहिक रूपमै भएको लुटपाटको घटनाले प्रहरी संगठनलाई मात्र होइन, राज्यप्रतिकै विश्वासमा संकट उत्पन्न गराएको छ । यसअघि पनि फाटफुट रूपमा प्रहरी संलग्न आपराधिक घटना नभएका होइनन् । ८० हजारको संख्यामा रहेको नेपाल प्रहरीका एकाध व्यक्ति आपराधिक प्रवृत्तिको हुनुलाई सामाजिक वातावरणकै कुप्रभावको रूपमा लिन सकिन्छ । आपराधिक मानसिकताका व्यक्तिबाट हुने छिटफुट घटनालाई सामान्य ठाने पनि हातहतियार, आधुनिक विद्युतीय उपकरणसहित संगठनात्मक स्वरूपमा भएको प्रहरी संलग्न पछिल्लो लुटपाटको घटनालाई भने सामान्य ठान्नुहुँदैन । संलग्न कसुरदारलाई कारबाही गर्ने कार्य ठूलो होइन । घटनासम्बद्ध ठूलो कुरो त नियन्त्रण उन्मुख हुँदै आएको प्रहरी संलग्न अपराध हीरा लुटपाट प्रकरणले थप रहस्यमय बनाएको छ । सर्वसाधारणको धनजनको सुरक्षा गर्न खटाइएकै व्यक्ति नै सामूहिक रूपमा संवेदनशील अपराधमा संलग्न हुनुको कारणको रहस्य पहिचान गरी आवश्यक प्रक्रिया अवलम्बन नगरेसम्म दुई÷तीन जनालाई कारबाही गरेकै भरमा प्रहरीभित्रको आपराधिक प्रवृत्तिको अन्त्य हुन सक्दैन । यसतर्फ सरकार एवं नेपाल प्रहरीको ध्यान जानु आवश्यक छ ।

आपराधिक मानसिकताका व्यक्तिलाई प्रहरीमा खुलेआम प्रवेश गराउने अवसर प्रदान गर्दै आउँदा प्रहरीबाटै आपराधिक घटना हुने गरेका छन्

प्रहरीद्वारा हुने आपराधिक घटनाबारे विविध पक्षबाट अनुसन्धान गरिनुपर्दछ । जसले गर्दा अपराधको जडसम्म पुग्न सकियोस् । जड पहिचानपछि उपचार गर्न पनि सहज हुन्छ । सामान्य रूपमा हेर्दा प्रहरी अपराधको मुख्य कारकतत्व प्रहरीमा हुने नयाँ भर्ना नै देखिएको छ । त्रुटिपूर्ण हुँदै आएको प्रहरीको भर्नाले आपराधिक मानसिकताका व्यक्तिलाई प्रहरीमा खुलेआम प्रवेश गराउने अवसर प्रदान गर्दै आएको छ । प्रहरीको नयाँ भर्ना कसरी त्रुटिपूर्ण हुँदै आएको छ भन्नेबारेमा यहाँ संक्षिप्त चर्चा गर्नु सान्दर्भिक हुन्छ ।

सर्वप्रथम लोकतन्त्रसँगसँगै प्रहरी अपराधको सुरुवात भएको देखिन्छ । लोकतन्त्र स्थापना भएयता तथा आजभन्दा दुई÷तीन वर्ष अगाडिसम्मको झन्डै एक दशकको प्रहरी नयाँ भर्ना विकृतिपूर्ण रह्यो । यस समयमा व्यक्तिको योग्यता, पृष्ठभूमि र कार्य सक्षमताको आधारभन्दा नेता वा दलीय सिफारिसलाई महत्व दिई नयाँ भर्ना गरियो । सत्तासीन दलसँग आबद्ध नभएका र नेताको निकट हुन नसकेका इमानदार, योग्य र सक्षम व्यक्तिले पनि भर्नाबाट वञ्चित हुनुप-यो । नेताको सिफारिस नै व्यक्तिको सक्षमताको कसी हुँदै आएकाले करिब १० वर्षको भर्नामा अधिकांशतः नेतामुखी राजनीतिक व्यक्ति भर्ना भए । यति मात्र होइन, प्रहरीको नयाँ भर्ना सत्तारूढ दलकै भर्तीकेन्द्रमा परिणत हुँदै आयो । यही बेलामा कुलतमा लागि बिग्रिएका खराब आचरण भएका, आपराधिक मानसिकता भएका, साधारण चोरी एवं पाकेटमार तथा परिवारका सदस्यकै नियन्त्रणबाहिर पुगेका आवारा र गुन्डागर्दी गर्ने उरन्ठेउला युवालाई सुधार्ने उद्देश्यले पनि प्रहरीमा भर्ना गरियो । प्रहरीको निरन्तर निगरानी र व्यावसायिक कार्य व्यस्तताको परिणाम कतिपय खराब आचरणका व्यक्तिहरू प्रहरीमा आएर सुध्रिए पनि तर सबै सुध्रन सकेनन् । यस चरणमा भर्ना भएका कतिपय खराब आचरणयुक्त व्यक्तिबाटै अहिले फाटफुट रूपमा आपराधिक कार्य हुँदै आएको छ ।

प्रहरी अधिकृतस्तरको नयाँ भर्ना जस्तो : प्रहरी निरीक्षक, प्रहरी सहायक निरीक्षक पदको भर्नामा पहिलेदेखि नै उम्मेदवारको चालचलन र आचरणले उच्च महत्व पाउथ्यो । भर्नाका क्रमका अन्य प्रक्रियामा अब्बल देखिएको व्यक्तिको चालचलन खराब भएको अवस्थामा त्यस्तो व्यक्ति भर्ना गर्न योग्य ठानिँदैनथ्यो । लोकतन्त्र प्रारम्भको एक दशकसम्म अधिकृतस्तरको भर्नामा नेताले सिफारिस गरेको व्यक्ति नकारात्मक चालचलनको भए पनि उम्मेदवारको चरित्रलाई नेताको सिफारिसँग जोडेर भर्ना गर्न लायक ठानिँदै आयो । यसको कारण खराब आचरणयुक्त कतिपय व्यक्तिले नै अधिकृतस्तरको भर्नामा स्थान पाउँदै आए । प्रहरीद्वारा हुने अपराधको कारकतत्वमध्ये यो पनि एक हो । उम्मेदवारको बसोबास रहेको सम्बन्धित क्षेत्रकै पुलिस रिपोर्ट नकारात्मक आउँदा नेताको शक्ति र पहुँचको भरमा त्यसलाई परिवर्तन गरेर सकारात्मक बनाई नयाँ भर्ना गरेको दृष्टान्त पनि अनेक छन् । यसरी नयाँ भर्नाको क्रमदेखि नै पर्दै आएको राजनीतिक प्रभावका कारण त्यस्ता व्यक्तिले आफ्नो मानसिकता परिवर्तन गर्न नसक्दा आपराधिक कार्यमा लाग्ने गर्दछन् ।

प्रहरीबाट भएका अपराधिक घटनाको स्वरूप एवं कार्य प्रकृतिलाई हेर्ने हो भने यसको जड व्यक्तिसम्बद्ध आचरण नै प्रमुख देखिएको छ । खराब आचरणयुक्त व्यक्तिलाई नेताले दिने संरक्षणको अझ प्रोत्साहित बनाउँदै ल्याउँदा यस्तै व्यक्ति अवैध तस्करी, भ्रष्टाचार, लुटपाट र चोरीडकैतीजस्तो अपराधमा संलग्न हुन पुगेका हुन् । व्यक्तिमा निहित चारित्रिक दुर्बलतालाई उल्टै नेताले पु¥याउने मलजल प्रहरी संगठनको प्रयासले विस्थापित गर्न नसकेको देखिएको छ । यस्तै, नेता संरक्षित व्यक्ति नै अन्य सक्षम र इमानदार प्रहरी कर्मचारीभन्दा अगाडि पर्दै आएका छन् । राम्रो स्थानमा सरुवा, अरूभन्दा छिटो बढुवा, दुर्गमस्थानमा दरबन्दी भए पनि सुगम स्थानमा रही आपराधिक कार्यमा संलग्न रहने यिनीहरूको प्रवृत्ति हुन्छ । सहकर्मी अन्य कतिपय इमानदार प्रहरी पनि यिनैको संगठनको प्रभावमा अपराधी बन्न पुग्दछन् ।

तल्लो तहको प्रहरीको नयाँ भर्नासमेत लोकसेवाले सञ्चालन गर्न थालेपछि भने केही वर्षयताको प्रहरीको नयाँ भर्नामा सुधार आएको छ । तथापि, नेतामुखी भर्ना प्रवृत्ति पूर्ण रूपमा अन्त्य हुन सकेको छैन । प्रहरीद्वारा हुने अपराध निर्मूल गर्ने हो भने नेताको सिफारिसलाई मान्यता दिनुहुँदैन । कतिपय स्वार्थी नेताले नै आफ्नो स्वार्थका कारण प्रहरीलाई राम्रो स्थानमा सरुवा गरी आर्थिक लाभ लिने प्रयोजनले आपराधिक कार्यतर्फ अभिप्रेरित गराउँदै आएका छन् । स्वच्छ र पारदर्शी छवि भएका प्रहरी अधिकृत तस्करी र भ्रष्टाचारजन्य अपराधमा संलग्न हुन पुग्नुको कारण पनि यही हो । यसैले, प्रहरी कर्मचारीबाट हुन सक्ने अपराध निर्मूल गर्नका लागि नयाँ भर्नाकै अवस्थामा सबै तहको उम्मेदवारको चरित्रलाई महत्व दिनुपर्दछ । प्रहरी जवान पदमा आवेदन दिने सबै उम्मेदवार कस्तो चरित्रका हुन्, उनीहरूको विगतको पृष्ठभूमि कस्तो थियो, प्रहरीमा भर्ना गर्न लायक छन्÷छैनन् भनी सम्बन्धित क्षेत्रको प्रहरी अधिकारीले बुझी पठाएको चारित्रिक रिपोर्टलाई नयाँ भर्नाको प्रमुख आधार बनाउन जरुरी छ । साथै, सिफारिस गरिएका उम्मेदवारबारे चारित्रिक रिपोर्ट पठाउने सम्बन्धित प्रहरी इकाइको प्रमुखको अभिलेख पनि नयाँ भर्नाको क्रममा राख्ने सिस्टम बसाल्नुपर्दछ । यस्तो भए कुनै पनि प्रहरी अधिकृतले हचुवाको भरमा र नेताको दबाबमा गलत व्यक्ति योग्य हो भनी सिफारिस गर्दैनन् । यसो गरिए चरित्रवान् व्यक्तिले मात्रै भर्नामा स्थान पाउने भएकोले तालिमको क्रममा उनीहरूलाई प्रदान गरिने व्यावसायिक ज्ञानले अझै इमानदार र लगनशीलतापूर्वक प्रहरी कार्य गर्न अभिप्रेरित गराउँछ । यस्ता व्यक्तिबाट हुने प्रहरी सेवा निष्कलंक हुन सक्छ ।

राज्य सञ्चालकको प्रचारमुखी अभियानले प्रहरीभित्र हुने अपराध नियन्त्रण हुन सक्दैन

प्रहरी कर्मचारी को कति इमानदार र सक्षम छ ? कसलाई कुन स्थानमा सरुवा गर्न उचित हुन्छ ? कुन अधिकृतमा असामान्य परिस्थितिलाई सहज बनाउने क्षमता छ ? कसले स्वच्छ र पारदर्शी कार्य गर्छ ? भन्ने कुरा ऊभन्दा माथिको कमान्डर वा आईजीपीलाई जतिको अरूलाई थाहा हुँदैन । मुलुकको आन्तरिक सुरक्षाको दायित्व लिने आईजीपी यस परिप्रेक्ष्यमा व्यावसायिक कार्य गर्न÷गराउन स्वतन्त्र हुनै पर्दछ । सरकारको नियन्त्रण र निर्देशनमा रही आईजीपीले नियमानुसारै प्रहरी संगठनलाई परिचालन गराउने हो भने मुलुकको शान्तिसुरक्षा अनुभूतिजन्य हुन्छ । सुरक्षा व्यवस्था सुदृढ तुल्याई नागरिकलाई चिन्तारहित बनाउने दायित्व आईजीपीकै भएकोले आईजीपी नेताको रबर स्ट्याम्प बन्नुहुँदैन । समाजमा सदचरित्रवान् व्यक्ति मात्र हुँदैनन् । आपराधिक प्रवृत्तिका व्यक्ति एवं कमाउनका निम्ति राजनीतिमा लागेका व्यक्तिको जीवनस्तर दिनमा दुई गुणा, रात चौगुणा बढ्दै आएको कुरा समाजको नजरबाट छिपेको छैन । प्रहरी पनि त्यही समाजकै सदस्य हो र उसको पेसागत कार्य पनि समाजसँगै सम्बन्धित हुने कुरा सर्वविदितै छ । यस परिप्रेक्ष्यमा कतिपय कमजोर मानसिकताका प्रहरी कर्मचारी कमाउ धन्दाका जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकको व्यवहारप्रति आकर्षित हुँदा अपराधिक कार्यमा लाग्न पुग्छन् ।

हीरा लुटिएको मकवानपुरको घटनामा प्रहरीको साथ पत्रकार रहनुको कारण यिनीहरूबीचको पारस्परिक सम्पर्क र हेलमेल नै हो । कतिपय व्यक्ति साथीसंगतको कारणबाट प्रभावित हुन पुग्दा अपराधी बन्छन् । लामो समयसम्मको उठबस, साथ र सहयोगले एकको बानीव्यवहारबाट अर्को प्रभावित बन्नु अस्वाभाविक होइन । यसक्रममा परस्परको अत्मीयता र अन्तर्सम्बन्ध आर्जनको वैकल्पिक सहज उपायतर्फ लाग्दा पनि अपराधी बन्न पुग्छन् । केही व्यक्ति भने आफ्नै बानीको दास बन्दै आएका हुन्छन् । वाल्यकालदेखिको बानीव्यहोरा छोड्न नसक्ने व्यक्तिको नकारात्मक सोचको प्रभावको कारण साथीसंगतिलाई प्रभावित बनाउँदा तथा कार्य परिणामबारेमा ध्यानै नदिई सनककै भरमा कार्य गर्नपुग्दा अपराधी बन्छन् । प्रलोभन व्यक्तिको दुर्गुण हो । अधिकांश व्यक्ति प्रलोभनकै कारण समस्यामा रुमलिएका हुन्छन् । सीमित स्रोतसाधनसँग सन्तुष्ट रहने व्यक्ति विरलै छन् । अर्काको उन्नति र प्रगतिलाई इष्र्याको भावनाले हेर्ने प्रलोभनयुक्त व्यक्ति आइलाग्ने चुनौतीलाई समेत परवाह नगरी गलत कार्यबाटै भए पनि आर्जन गर्न लालायित हुन्छन् । यसक्रममा हुने उनीहरूको कार्य अपराधमा परिणत हुन सक्छ । केही प्रहरी कर्मचारी यस्तै मानसिकताबाट अपराधी बन्न पुगेका देखिन्छन् ।

तीन जना प्रहरी र एक पत्रकारबाट भएको हालैको हीरा लुटिएको काण्डले ८० हजार प्रहरीको बर्दीमा दुर्गन्धको छिटा पु¥याएको छ भने समस्त पत्रकारकै निष्कलंकतामा धब्बा लगाएको छ । तर, अन्य समस्त इमानदार प्रहरी र पत्रकारलाई हामीले यही नजरले हेर्नुहुँदैन । पछिल्लो समयमा उच्च पदस्थ जिम्मेवार व्यक्ति नै अपराधमा संलग्न हुने क्रम बढ्दै आएको छ । अख्तियारको दुरुपयोग, भ्रष्टाचार, यौनजन्य हिंसा र बलात्कारसम्मका अपराध जनताकै आशा र भरोसाको केन्द्रबिन्दु मानिँदै आएका सम्मानित व्यक्तिबाट हुन थालेका छन् । यसको प्रभाव पनि कर्मचारीमा पर्दै आएको छ । प्रहरीबाट भएको उपरोक्त अपराध पनि यसैको दृष्टान्त हो । अपराधप्रति राज्य नै गम्भीर नभएका कारण मुलुकबाट अपराध नियन्त्रण हुनेभन्दा बढ्दो अवस्थामा छ । कानुनलाई अक्षरशः व्यवहारमा लागू नगर्नु, दलीय आस्था र निकट सम्बन्धलाई कानुनभन्दा माथिको ठान्नु, आफन्तले गरेको अपराधलाई अपराध नठान्नु उल्टै संरक्षण गर्ने प्रवृत्ति बढ्दै आउनु तथा सत्ता सञ्चालकको विभेदित मानसिकताले आपराधिक प्रवृत्तिलाई प्रोत्साहित गराउँदै ल्याएको छ । आपराधिक कार्यलाई ढाकछोप गरेरै राज्यले अपराध बढाउने कार्य गर्दै आएका कारण पनि अपराधउपर राज्यसंयन्त्र फित्तलो बन्दै आएको छ ।

केही वर्षयता मुलुकमा पेसेवर एवं संगठित अपराधीबाट भन्दा वैधानिक मान्यता प्राप्त व्यक्तिबाटै बढी अपराध भइरहेका छन् । जनताले प्रदान गरेको विश्वासको मतलाई जनप्रतिनिधिले स्वेच्छाचारिताको लाइसेन्स ठानी स्वार्थ अनुकूल कार्य गर्दा आपराधिक प्रवृत्तिले बढाबा पाउँदै आएको छ । सत्ता पक्षबाट भएका आपराधिक कार्यलाई पनि वैधानिक मान्यता दिने अवस्थाको राज्यसंयन्त्र हुँदा सत्तापक्षलाई लाभ, आमनागरिकलाई भने हानि भइरहेको कुरालाई सत्तासीन नेताहरूले गम्भीरताका साथ लिएका छैनन् । जनप्रतिनिधि संलग्न अदृश्य अपराध अहिले विकराल अवस्थामा पुगिसकेको छ । तर, जनप्रतिनिधि अपराधमा संलग्न रहे भनेर सुरक्षाको दायित्व भएको प्रहरी कर्मचारीले जनप्रतिनिधिकै नक्कल गर्नुहुँदैन । यसो भए त्यो देश र जनताप्रतिको विश्वासघात ठहरिन्छ । राज्य सञ्चालकको प्रचारमुखी अभियानले प्रहरीभित्र हुने अपराध नियन्त्रण हुँदैनन् । प्रहरीबाटै हुने अपराध निर्मूल गर्न प्रहरी संगठन आफैं लागिपर्नुपर्दछ ।

(Visited 93 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

खर्च गर्नेलाई होटलमा, अन्यलाई सरकारी क्वारेन्टिनमा

गलकोट । बागलुङ नगरपालिकाले विदेशबाट आउनेलाई क्वारेन्टिनको दुई विकल्प दिएको छ । सरकारले शुक्रबारदेखि तेस्रो मुलुकमा रहेका नेपालीको उद्धार थालेपछि बागलुङ भित्रिनेले इच्छाअनुसारको क्वारेन्टिनमा...

कोरोना संक्रमणबाट डोल्पामा एकको मृत्यु, मृतकको संख्या १२ पुग्यो

सुर्खेत । कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाउँपालिका–३ डोल्पाका ५८ वर्षीय पुरुषको मृत्यु भएको पुष्टि...

जनकपुरको प्रादेशिक अस्पतालबाट १५ जनाले जिते कोरोना

जनकपुरधाम । प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । गत जेष्ठ ९ गते कोरोना पुष्टि भएर अस्पतालमा...

भर्खरै

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

धेरै पढिएका

थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२३५

काठमाडौं । शनिबार थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार थपिएका संक्रमित मध्ये २ सय...

विजयी यादव निर्विजको ‘रुपवा सलोना’ गीत सार्वजनिक (भिडियाेसहित)

कलैया । भोजपुरी भाषाको फिल्म, गीत, संगित प्रति बढदै गईरहेको जनचाहनासंगै नेपाली कलाकारले समेत उत्कृष्ट गीत सार्वजनिक गर्न थालेका छन् । निर्विज प्रोडक्सन काठमाडौंको प्रस्तुतीमा...

विदेशबाट घर आउन चाहने सबैलाई फिर्ता ल्याऊ : काँग्रेस

काठमाडाैं । नेपाली काँग्रेसले स्वदेश आउन चाहने हरेक नेपालीलाई फिर्ता ल्याउने कार्ययोजना बनाउन सरकारसँग आग्रह गरेको छ । काँंग्रेसको केन्द्रीय जनसम्पर्क समिति समन्वय विभागले...

सप्तरीमा ७ संक्रमित थपिए, ७५ दिनमा संक्रमितको संख्या ७७ पुग्यो

सप्तरी, राजविराज । सप्तरीमा दिनहु कोरोना संक्रमित थपिने क्रम बढदो छ । पछिलो पटक शनिबार पनि ७ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको हो...

ई-पेपर

(Visited 35 times, 1 visits today)