दसैं, दशा र गेहेन्द्रशमशेर

आफू पनि शमशेर खलककै भएकाले नेपालका पहिलो वैज्ञानिक मानिने गेहेन्द्रशमशेर श्री ३ चन्द्रशमशेरको भरोसा निकै गर्थे । देवशमशेर धनकुटा लखेटिएपछि श्री ३ भएका थिए, चन्द्र शमशेर ! दरबारमा उनको हाइहुकुम उत्कर्षमा थियो । त्यसबेलाका राजा खोपीका देवता ! प्रजातन्त्रको त उच्चारण गर्दा पनि ज्यान जाने खतरा थियो ।

क्षमता पनि भएको र अवसर पनि पाएकाले हुनसक्छ, गेहेन्द्रशमशेर वैज्ञानिक खोज र आविष्कारमा निकै अघि बढिसकेका थिए । उनले नेपालको सैन्य क्षेत्रमा प्रगतिका ढोका पनि खोलिसकेका थिए । दिन बित्दै गए । गेहेन्द्रशमशेरले सैन्य प्राविधिक मामलामा आश्चर्यजनक उन्नति गर्न थाले ।

आफैंले निर्माण गरेको कार श्री ५ पृथ्वी वीरविक्रमलाई चढाइसकेका गेहेन्द्रशमशेरका लागि नवप्रवद्र्धनका कुरा चासो र व्यावहारिक खोजका विषय बन्दै गए । सेनाका हातहतियार निर्माण, पुनर्निर्माण गर्ने क्रममा गेहेन्द्रले ठूला हतियारमा तोप र साना हतियारमा पेस्तोलसम्म बनाउन थालिसकेका थिए । आफैंले बनाएको एउटा राम्रो पेस्तोल श्री ३ चन्द्रशमशेरलाई चढाउने उनको धोको थियो ।

दसैंको अवसरमा आफूले बनाएको सानो पेस्तोल उपहार चढाउने मनसायले गेहेन्द्रशमशेर श्री ३ चन्द्रशमशेरकहाँ पुगेका थिए

निर्माण र प्रवद्र्धनमा व्यस्त रहने उनी काम गर्दैगर्दा दसैं पनि आइसक्यो । उनले कोटको गोजी तथा बाहुलामा जहाँ पनि लुकाउन सकिने सानो आकारको पेस्तोल निर्माण गरे । दसैंको अवसरमा उनी यही उपहार चढाउने मनसाय बोकेर श्री ३ चन्द्रशमशेरकहाँ पुगे । उनले श्री ३ चन्द्रशमशेरलाई निहुरिएर गोडामा ढोगिदिए । ढोगिदिँदा सानो पेस्तोल अनयासै उनको कोटको खल्तीबाट भुइँमा खस्यो ।

चन्द्रशमशेर निकै झस्किए । तर, गेहेन्द्रशमशेरले धीर मुद्रामा यो उनलाई नै दसैंका अवसरमा चढाउन आएको भनी सविस्तार बिन्ती चढाए । श्री ३ चन्द्रशमशेर विश्वस्त भएपछि गेहेन्द्रलाई धन्यवाद दिएर घर पठाए । तर, यो घटना घटेको एक वर्षपछि गेहेन्द्रशमशेरको रहस्यमय मृत्यु भयो ।

नवप्रवद्र्धन कार्यमा प्रगति गर्दै गएकाले गेहेन्द्रको चर्चा निकै चुलिएको थियो । यसले चन्द्रशमशेरलाई शंकालु र ईष्र्यालु बनाइसकेको थियो । अर्को कुरा, देवशमशेरका निकै भरपर्दा आफन्त थिए, गेहेन्द्रशमशेर ! उनै श्री ३ देवशमशेरलाई रातारात धनकुटा लखेटेर आफूले श्री ३ हत्याएका थिए, चन्द्रशमशेरले ! त्यसैले पनि श्री ३ चन्द्रशमशेर गेहेन्द्रदेखि त्रसित थिए ।

गेहेन्द्रशमशेर त्यतिबेला दक्षिण एसियाकै अग्रणी आविष्कारकका रूपमा गनिन्थे । उनी त्यतिबेला नेपाली सैन्य क्षेत्रको हतियार तथा बन्दोबस्ती शस्त्रागारको प्रमुख बनाइएका थिए । १८औं शताब्दीको अन्त्यतिर तात्कालीन नेपाली सेनालाई चाहिने हातहतियार, बारुद तथा बन्दोबस्तीका सामान उनकै नेतृत्वमा निर्माण तथा आपूर्ति भइरहेको थियो । मुलुक त्यतिबेला सैन्य सामग्रीमा आत्मनिर्भर हुन थालिसकेको थियो ।

त्यति नै बेला गेहेन्द्रले सुन्दरीजल, बालाजु, जमल र भोजपुरको मेघचनमा ससाना धातु उद्योग, पानी घट्ट, चामल मिल, हावाको पंखा तथा ठूला घट्ट हुँदै जलविद्युत् पनि निकालेर प्रयोगमा ल्याइसकेका थिए । उनले दुई नाल भएको राइफलको आविष्कार पनि गरेका थिए ।

उनले बनाएको नयाँ मोडेलको तोप निकै चर्चामा थियो । त्यो तोप पड्काएको आवाज काठमाडौं उपत्यकाका चारै कुनामा सुनिन्थ्यो । शाही सलामीमा मात्र यसको प्रयोग गरिन्थ्यो ।

जापानमा पुगेर उनले प्राविधिक सीप हासिल गरेका थिए । उनको यो सीप र क्षमताले सैनिकीकरणमा ठूलो सुधार ल्याएको थियो । स्वदेशमै फौजी तालिम र व्यावसायीकरण हुन थालिसकेको थियो । तर, उनै सीप र दक्षताका प्रतिमूर्ति गेहेन्द्रशमशेरका लागि आविष्कार वरदान र अभिषाप दुवै साबित हुनगयो ।
(नेपालको इतिहास, नेपाली वैज्ञानिक र युट्युबको सहयोगमा)

तपाइको प्रतिक्रिया
(Visited 154 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)