लजालु नारायणगोपाल कुनामा बसेर तबला बजाउँथे

युमाश शेर्पा

सानैदेखि नारायणगोपालमा अनौठो बानी थियो, अघिल्तिर टेबल देख्यो कि ठटाइहाल्ने । ज्यान त्यस्तै, उनलाई ‘असनको साँढे’ नै भन्थे । मुड चलेका बेला असन किलागल घरमा ‘ताण्डप’ गर्थे । घर पुरै थर्किन्थ्यो । छिरछिमेक–साथी भन्थे, ‘ल ! नारान बौलायो । के ग-या हो ?’

धेरैलाई थाहा नहुन सक्छ, सुरुमा नारायणगोपाल तबलावादक थिए । भजन वा कुनै पनि सांस्कृतिक माहोल उनी तबला फिटिरहेका हुन्थे । असाध्यै लजालु थिए उनी । मास देखेपछि गाला राता हुन्थे । अझ गाउन भनेपछि भागिहाल्थे ।

‘ऊ स्कुलमा पनि टेबुल ठटाएर फिल्मी गीत गाइरहन्थ्यो,
पढ्नतिर ध्यानै दिँदैनथ्यो,’ नारायणगोपालका ‘जिग्री’ गायक प्रेमध्वज प्रधान जीवनकालमा भन्ने गर्थे, ‘मनको एकदम सफा मान्छे थियो ऊ, सानैदेखि अलि एकोहोरो स्वभाव भए पनि कसैको पनि कुभलो चिताउँदैनथ्यो ।’

सुरुवाती ताका उनी ‘सानुबाबु नवकला परिवार’का लागि तबला बजाउँथे । त्यस समय प्रेमध्वज प्रधान, तारादेवी, योगेश वैद्य, माणिकरत्न शाक्य, राममान तृषितको समूहमा नारायणगोपाल तबला फिट्थे । त्यो लजालु ठिटो आज ‘अमर गायक’ बन्ला भन्ने सायदै कसैले सोचेका थिए ।

हुन त, नारायणगोपाल तबला बजाउने क्रममै पनि गुन्गुनाउथे । यसको भनक प्रेमध्वज प्रधानलाई मात्रै थियो । ‘नवकला परिवार’मार्फत गायकमा कहलिसकेका प्रेमध्वज उनलाई भन्ने गर्थे, ‘तिम्रो स्वर राम्रो छ, तिमी पनि गाऊ ।’ तर हठी स्वभावका नारायणगोपाल झट्टै के मान्थे ? जवाफमा भन्थे, ‘म गाउदिनँ, मलाई तबल बजाउनमै मजा लाग्छ ।’



५४ वर्षअघि अर्थात् २०१६ साल नारायणगोपालका लागि ‘टर्निङ प्वाइन्ट’जस्तै थियो । आखिर ‘बेस्टफ्रेन्ड’ प्रेमध्वजको उक्साहटले उनलाई छोइछाड्यो । अन्ततः २०१६ साल नारायणगोपाल रेडियो नेपालमा स्वर परीक्षा दिन पुगे । डा. राममान तृषितको रचना ‘पक्षीपंखमा धर्तीको याद दिलायो…’ गीतमार्फत नारायणगोपालले रेडियोमा स्’roundीक्षा उत्तीर्ण गरे । यो गीतमा उनै प्रेमध्वज र माणिकरत्न (प्रेम–माणिक)ले संगीत भरेका थिए ।

त्यति बेला रेडियो नेपालमा हिन्दी गीत–गजल गाएर स्’roundीक्षा दिने चलन पनि थियो । तर, नारायणगोपालले ‘म मेरै भाषाको गीत गाएर स्’roundीक्षा दिन्छु’ भनेका थिए । र, उनले त्यसै गरे पनि ।

इन्द्रजात्राका समय असन भेडासिंह ‘ज्यापू डबली’मा नेपाल भाषाको गीतमार्फत गायन यात्रा थालेका नारायणगोपाको प्रसंगमा प्रसिद्ध भारतीय गायिका आशा भोस्लेले एक ठाउँ भनेकी छन्, ‘लाहुरेको गीत रेकर्डिङ गर्ने क्रममा नारायणजीको आवाज हृदयभित्रबाट निस्किएको वेदना महसुस गरेकी थिएँ । शब्द टपक्क टिपेर गाउन सक्ने उनको क्षमता थियो । मैले बम्बईमै बस्ने सल्लाह पनि दिएँ तर उनले आफ्नो मातृभूमि छाड्न नसक्ने बताएका थिए । नेपाली धन्य छन्, जसले नारायणगोपाल पाएका छन् ।’



३३ वर्ष भएछ आज, नारायणगोपालले धर्ती छोडेको । उनको आवाजमा रेकर्डिङकै हिसाब गर्ने हो भने १ सय ३३ गीत पनि मुस्किलले कट्छ । तर, उनी गायनमार्फत ‘अमर’ भए । गायिका भोस्लेसँगको चलचित्र ‘चिनो’का लागि उनले गाएको युगल गीत ‘मोहनी लाग्ला है…’ले आजका पुस्तासम्मलाई पनि ‘मोहनी’ लगाइ नै रहेको छ ।

सामान्य उचाइ, पावरफल चस्मा । चल्मा लाइरहने हातका मोटा–मोटा औंला र गाँठिलो शरीरका नारायणगोपाल । पारिवारिक पृष्ठभूमि नै संगीतमय भएपछि त्यसको प्रभाव उनमा नपर्ने कुरै थिएन । पिता आशागोपाल गुरुवाचार्य उनलाई ‘शास्त्रीय संगीतका ज्ञाता’ बनाउन चाहन्थे । तर, नारायणगोपाल ‘आधुनिक संगीत’मा मरिमेट्थे । उनको लगाव ‘सेमी क्लासिकल’तिर रहिरह्यो ।

दिदीबहिनी तथा दाजुभाइ गरी परिवारमा आठ जना थिए । तर, सितारवादक पिता आशागोपालको प्रभाव नारायणगोपाललाई जस्तो परिवारका अन्यलाई पर्न सकेन । ताण्डव नृत्यदेखि तथा सितार बजाउनसम्म नारायणगोपाल उत्तिकै सिपालु थिए ।

स्वर्गकी रानी, मायाकी खानी नजाऊ तर्केर
लाजै नमानी रिसाउने बानी, छाडिआऊ फर्केर…

झन्डै ६० वर्षअघि रेडियो नेपालमार्फत कोलकातामा रत्नशमशेर थापाकृत पपशैलीको यही गीत रेकर्ड गरेर नारायणगोपालले ‘औपचारिक गायन’ यात्रा सुरु गरेका थिए । जसको संगीत उनी आफैंले दिए । उनको जीवनको पहिलो रेकर्डेड गीत पनि यही नै हो ।

त्यतिबेला नारायणगोपालले ‘स्वर्गकी रानी…’ सँगै ‘ए कान्छा…’, ‘आँखाको भाका…’, ‘कुञ्जमा गुञ्जियो…’, ‘भो भो नसोध…’, र
‘मधुमास…’, गरी ६ वटा गीत रेडियो नेपालमार्फत कोलकोतामा रेकर्ड गर्ने कोटा पाएका थिए । यी गीतका रचयिता गीतकार थापा नै थिए । नारायणगोपाल रत्न शमशेरलाई ‘थापा काजी’ सम्बोधन गर्थे । २०१७ सालतिर त्रि–चन्द्र कलेजमा सहपाठी रहेका उनीहरूबीच गहिरो मित्रता थियो ।



आजै र राति के देखें सपना
मै मरी गएको…

यो गीत बन्दै गर्दा एकदिन कविवर माधवप्रसाद घिमिरेले नारायणगोपाललाई फोन गरे । तर, उताबाट आवाज सुनियो, उनकी पत्नी पेमाला लामा गुरुवाचार्यको ।

‘नारायणजी हुनुहुन्न ?’ कविवरले सोधे ।

पेमालाले जवाफ दिइन्, ‘उहाँ त तपाईंको मस्र्याङ्दी र दरौदी मिसिएको दोभान कस्तो रहेछ ? भनेर हेर्न जानुभएको छ ।’

यो सुनेपछि घिमिरे तिनछक परे । आफूले गाउने गीतको दृश्य हेर्न मस्र्याङ्दी र दरौदी नै पुग्नु त्यो बेला चानचुने कुरा थिएन । कविवर घिमिरे जीवनकालमा बरोबर भन्ने गर्थे, ‘यस्ता गायक सायद पाउन अब मुस्किलै पर्ने छ ।’



सुन्नेलाई लाग्छ– शब्दमा पोखिएका वेदना, पीडा नारायणगोपालकै हुन् । उनी गलाले मात्र होइन, हृदयबाट गाउन सक्ने गायक थिए ।

उनका दौतरी गीतकार नगेन्द्र थापाले ‘बागीना–२०४९’मा उल्लेख गरेअनुसार ‘स्वरको सम्मोहन, आकर्षक प्रस्तुतीकरण, बीचबीचमा टीकाटिप्पणी गर्नु र दर्शकलाई विनोदी कुराले हल्का मनोरञ्जन दिँदै आफ्नै वरिपरि बाँधेर राख्न सक्नु नारानको गायनको विशिष्ट पक्ष थियो । रोगले गाल्दै गरेको अवस्थासम्ममा पनि त्यत्रो एकल साँझ गर्नु भनेको नारायणगोपालका लागि चानचुने कुरा थिएन ।’

हारमोनियमका सप्तक मन्द्र, मध्य र तारभन्दा पनि बढी उनको सीमा थियो । हारमोनियममा औंला सलबलाएको देखेर एकताका उनका साथीले उनलाई जिस्क्याउँदै ‘आफ्ना लागि छुट्टै हारमोनियम बनाउन’ भन्थे । बनावटी र अस्वाभाविक तारहित नारायणगोपालको स्वरमा जस्तो रङ मिसायो, त्यस्तै बन्थ्यो । कतिपय अवस्थामा संगीतकारद्वारा निर्देशित संरचनाबाहेक पनि स्वेच्छाले कलात्मकता थप्दै स्वर खेलाउन सक्ने अपूर्व गुण थियो, उनमा ।

नगेन्द्र थापाकै शब्दमा ‘छिमेकी मुलुकमा समेत कुनै पनि गायकलाई एक दशकसम्म ‘१ नम्बर’ भएर टिक्न हम्मेपर्छ तर सन् १९६१–६३ मा प्रवेश गरेदेखि मृत्युपर्यन्त १९९० सम्म एकछत्र अविछिन्नरूपले विवादरहित भई ‘नम्बर १’ भएर टिक्नु नै नारायणगोपालको स्वरको गरिमा, महानता र श्रेष्ठता थियो ।’



शास्त्रीय संगीत अध्ययन क्रममा पुगेका नारायणगोपालको भेट दार्जिलिङका गोपाल योञ्जन र नगेन्द्र थापासँग भएपछि उनको संगीतको ‘ट्र्याक’ पनि मोडिएको देखिन्छ । सन् १९६१ देखि १९६३ सम्ममा नारानको स्वरमा परेवा उडाइको छटपटी, स्वच्छन्दता, तीव्रता र कावा खवाइ पाइन्छ ।

‘त्यसताका उनमा धेरै माथि उड्ने चिलको उडाइको सौम्यता, गहिराइ, लयात्मकता र सूक्ष्मता थियो,’ नगेन्द्र थापा सम्झन्छन्, ‘समग्रमा भन्ने हो भने त्यसताकाको नारानको गायकी, गोपालको संगीत रचना तथा गीति लेखनले नेपाली संगीतमा नयाँ आयाम मात्र होइन, यस क्षेत्रमा संलग्न धेरैले पछिसम्म अनुकरण पनि गरे ।’

अन्तिम चरणतिर नारायणगोपालको परिस्कृत र गहन हुँदै आएको स्वरले आफ्नै संगीतमा बढी पाइन्छ भने दिव्य खालिङ, दीपकजंगम र शम्भूजीत बाँस्कोटाको संगीतमा पनि उनले गाए ।

बाँस्कोटाको संघर्षकालमा नारायणगोपालले ‘स्वर्णिम सन्ध्या’मा शम्भूजीतलाई औंल्याउँदै भनेका थिए, ‘मैले अब गाउन लागेको गीत एउटा नवप्रतिभाको हो, उसले राम्रो संगीत गरेको छ । मेहनत गर्दै गएमा ऊ भविष्यमा राम्रो संगीतकार बन्ने निश्चित छ ।’



नेपाली संगीतको विकास, उत्थान, संमृद्धि एवं संरक्षणका लागि दिनरात सोचमग्न रहने नारायणगोपालको सदिच्छा संगीत महाविद्यालय स्थापना गर्ने थियो । कलाकै समग्र विकासको उद्देश्यले २०३० कात्तिकमा ‘बागीना’ नामक पत्रिका उनकै नेतृत्वमा प्रकाशित भयो ।

‘बागीना’ (बाजा–गीत–नाच)मा त्यतिबेला नारायणगोपाल, गोपाल योञ्जन र नगेन्द्र थापाको विशेष संलग्नता थियो । २०३० देखि २०३६ सालसम्म जेनतेन प्रकाशित भएर त्यसपछि बन्द पत्रिकाका सम्बन्धमा थापाले भनेका छन्, ‘सांगीतिक क्षेत्रमा आन्दोलन ल्याउने उद्देश्यले हामीले पत्रिका निकालेका थियौं, त्यतिबेला राम्रो साहित्यिक पत्रिका त राम्ररी सञ्चालन हुन नसक्ने अवस्थामा बाजा, गीत र नाचसम्बन्धी पत्रिका चल्ने त कुरै थिएन ।’

६ मंसिर २०४७ सालमा वीर अस्पतालको आईसीयूमा राखिएका नारायणगोपालको अवस्था सम्झिँदै थापाले राजधानीसँग भनेका थिए, ‘मलाई नजिकै बोलाएर उसले भावविह्वल हुँदै भन्यो– नगेन्द्र, दुई जना वकिल बोलाउनुप-यो, पेमाला (श्रीमती)लाई पुग्ने राखेर मेरो बाँकी सम्पत्तिको एउटा संगीतको ट्रस्ट बनाउन चाहन्छु ।’



नारायणगोपालले आफ्नो सांगीतिक यात्रा अवधिमा ११ चलचित्रका लागि युगलसहित २१ गीत गाए । ‘चिनो’, ‘परिवर्तन’, ‘माया’, ‘बदलिँदो आकाश’, ‘लाहुरे’, ‘कोसेली’, ‘सिन्दूर’, ‘कान्छी’, ‘हिजो–आज–भोलि’, ‘मनको बाँध’ र ‘चोट’मा उनले पाश्र्वस्वर दिएका थिए । जीवनकालमा ३४ गीतकारका शब्दमा स्वर दिएका उनले १७ संगीतकारसँग काम गरे । रेडियो नेपालको तथ्यांकअनुसार उनका युगल पाँच र एकल २७ गरी ३२ पुराना गीत रेकर्ड भएका छन् । यसका अतिरिक्त उनका चार स्वदेश गान, एक लोकगीत र ४७ आधुनिक गीत रेडियो नेपालमा दर्ता छन् ।

‘मितज्यू’ गोपाल योञ्जनको शब्द–संगीतमा नारायणगोपालले सबैभन्दा बढी गीत गाए । उनले एक गायकसँग मात्र युगल स्वर दिए, उनी थिए ध्रुव केसी । गोपाल योञ्जनको शब्द–संगीतमा ‘कतै उनको माया लाग्छ…’ नारायणगोपालले केसीसँग गाएका थिए, जो अभिनेता भुवन केसीका काका पर्छन् ।



पिता आशागोपाल छोराले आधुनिक र पश्चिमी शैलीका गीत गाएको देखेर चिन्तित थिए । गीतकार नगेन्द्र पिता आशागोपाल भन्ने गर्थे,’ थापाकाजी, नारानलाई सम्झाइदिनुप-यो । स्वर्गकी रानी, ए कान्छा…जस्ता सस्ता गीत गाएर गाइने हुनुभएन, उसले शास्त्रीय गीत गाउनुप-यो, सितार बजाउन सिक्नुपन्यो ।’

‘स्वर्णिम सन्ध्या’ प्रत्यक्ष गायनको केही महिनापछि अस्वस्थ भएका नारायणगोपाल घरबाट निस्किनसमेत असमर्थ भइसकेका थिए । मधुमेह रोगले उनको मिर्गौला, कलेजो र शरीरका प्रमुख अंगमा नराम्ररी प्रभाव पारेको थियो । त्यस्तो अवस्थामा रक्सीको एक थोपा पनि मुखमा पर्नु उनका लागि ‘घातक’ हुन्थ्यो ।

तैपनि, आफूले इच्छाएको खान र पिउन उनी पछि नहट्ने स्वभावका थिए । स्वास्थ्य दिन–प्रतिदिन बिग्रँदै गएपछि उनलाई शिक्षण अस्पतालम्म भर्ना गरियो । तर, स्वास्थ्यमा केही सुधार हुन सकेन । बिग्रिँदो स्वास्थ्यस्थिति ध्यानमा राख्दै त्यतिबेला संगीतकर्मीले सहयोगार्थ सांस्कृतिक कार्यक्रमको कुरा उक्काउँदा नारायणगोपालले भनेका थिए, ‘चन्दाको जिन्दगी बाँच्नु छैन ।’



गीतकार कालीप्रसाद रिजालको अनेक सम्झाइबुझाइ गरेपछि नारायणगोपालले तत्कालीन समय श्री ५ बडामहारानीसमक्ष उपचारार्थ ‘बिन्तीपत्र’ चढाउन सहमति जनाएका थिए । ‘उहाँको स्वाभिमानमा कुनै किसिमको आँच आउन नदिने मैले विश्वास दिलाएँ,’ गीतकार रिजालको सम्झना छ, ‘त्यसपछि मेरो आग्रह र अनुरोधलाई मानेर उहाँले सही गरिदिनुभयो ।’

उपचारका लागि नारायणगोलाई बैंकक लगियो । त्यसको एक सातापछि केही स्वास्थ्य लाभ गरेर उनी काठमाडौं फर्किए । तर, रोग फेरि बल्झियो । उपचारका लागि दिल्ली पनि पुगे । गीतकार रिजालको शब्दमा ‘सरकारी प्रभाव र व्यवस्थाबिना दिल्लीमा छोटो समय पनि उपचार गर्न असमर्थ भएपछि’ केही दिनमै उनी काठमाडौं फर्किए ।

जीवनको अन्तिम अवस्थातिर वीर अस्पतालको आईसीयूमा भर्ना गरिएपछि मात्र धेरैका आँखा खुले । अस्पतालमा असंख्य शुभचिन्तक, हितैषी र प्रशंसकको भीड लाग्यो । नेपाली कांग्रेस नेता गणेशमान सिंह नारायणगोपालको स्वास्थ्यस्थिति बुझ्न पटकपटक वीर अस्पताल पुगे ।

अन्तिम अवस्थामा दिल्लीबाट डाक्टरसमेत झिकाइयो । ‘त्यस्तो अवस्थामा पनि सरकारबाट केही भएन भनेर नारायणगोपाल बारम्बार बर्बराइरहन्थ्यो,’ रिजाल सम्झन्छन्, ‘सरकारबाट सहयोग पाएको भनेको ५० हजार मात्र थियो, जुन रकम नारायणगोपालले थाहा नपाउने गरी पेमालाजीलाई उपलब्ध गराइएको थियो ।’



जीवनभर कसैसामु नझुकेका र सदा स्वाभिमानमा अडिग नारायणगोपालले अन्ततः ५१ वर्षको उमेरमा १९ मंसिर २०४७ बुधबार राति ९ बजे संसारबाट सदाका लागि बिदा लिए ।

तपाइको प्रतिक्रिया
(Visited 124 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उदयपुरका चार गाउँपालिकामा गठबन्धनको जित (सूचीसहित)