मस्तिष्क (ब्रेन) तथा मुटु (हर्ट) मानव शरीरका दुई प्रमुख जीवनदायी अंगहरू हुन् । मस्तिष्कद्वारा शरीरका हरेक अंगको नियन्त्रण, नियमन तथा सञ्चालन हुने गर्छ । मानिसलाई बुद्धिमान् तथा समझदार प्राणी बनाउने प्रमुख अंग पनि यही मस्तिष्क नै हो । मस्तिष्क मेमोरी बैंक पनि हो । मेमोरीलगायत सम्पूर्ण कग्निटिभ तथा चेतना व्यवहारको मुख्य सञ्चालक पनि यही मस्तिष्क हो । वास्तवमा बे्रन बोडीको बोस हो । त्यसैले, मानव जीवनमा ब्रेनको ठूलो महत्व छ भने त्यति नै महत्व मुटुको पनि छ ।
मुटु शक्तिशाली मांसपेशीले बनेको हुन्छ । यो अंग सम्भवतः मानिसको शरीरको सबैभन्दा बलियो अंग हुनुपर्छ । धेरैले मुटु छातीको बाँयापट्टि हुन्छ भन्ने ठान्दछन् तर वास्तवमा मुटु बाँया र दाँयापट्टि नभएर मध्य छातीमा हल्का बाँयापट्टि ढल्किएर रहेको हुन्छ । मानिसको मुटु औषत एक मिनेटमा ७२ पटक धड्कन्छ । यसरी, धड्कदा एक घण्टामा ४,३२० पटक, एक दिनमा १,०३,६८० पटक र एक वर्षमा ३,७८,४३,२०० पटक धड्किन्छ ।
एकचोटी धड्कदा मुटुले ७० मिलि रगत पम्प गर्छ । एक मिनेटमा ५ लिटर, एक घण्टामा ३०२ लिटर, एक दिनमा ७२५७ लिटर तथा १ वर्षमा २६,४९,०२४ लिटर रगत पम्प गर्नेगर्छ । यसले पम्प गरेको रगत र रगतबाट शरीरलाई चाहिने पौष्टिक तत्वहरू पु¥याउने र शरीरका धमिलिएको रगतलाई बटुलेर फोक्सोमा पुराउने काम गर्दछ । त्यहाँ सफा रगत बनाएर पूरा शरीरभरि पु¥याउने काम गर्छ । यसरी, मुटुले अहोरात्र काम गरेको हुन्छ ।
मुटुलाई यसरी काम गर्ने ऊर्जा मुटुका मांसपेशीको बाहिरी भागमा रहेका कोरोनरी रक्तनलीमा प्रवाहित रगतमार्फत् ग्लुकोज र अक्सिजनबाट प्राप्त हुन्छ । मुटुमा रक्तसञ्चार गर्ने दुई नलीहरू हुन्छन्, जसलाई लेफ्ट कर्नरी आर्टरी (वायाँ धमनी) र राइट कर्नरी आर्टरी (दायाँ धमनी) भनिन्छ । बायाँ धमनीमा थप दुईवटा ठूला नलीहरू हुन्छन् । यीबाहेक अन्य साना नलीहरू पनि हुन्छन् । यी ठूला नलीमध्ये कुनैमा अवरोध भयो भने ठूलो हृदयघात (हर्टअट्याक) हुन्छ र सानो नलीमा अवरोध भयो भने सानो हृदयघात (माइनर हर्टअट्याक) हुन्छ ।
एकपटकको धड्कनमा मुटुले ७० मिलि सफा रगत सिंगो शरीरभर पम्प गर्छ
त्यसकारण, मुटुलाई आवश्यक पर्ने ऊर्जा प्राप्त हुन मुटुका कोरोनरी रक्तनलीहरू स्वस्थ हुनु जरुरी छ । तर, यी रक्तनली विभिन्न कारणबाट कोलेस्टेरोल (बोसो) जमेर साँगुरो हुने गर्छन् । जसका कारण मुटुमा रगतको प्रवाहमा अवरोध उत्पन्न हुन्छ र मुटुका मांसपेशीमा पर्याप्त मात्रामा ग्लुकोज र अक्सिजन पुग्दैन । बिस्तारै कोरोनरी रक्तनली पुरै बन्द हुने सम्भावना बढ्छ । रक्तनली पुरै बन्द भएको खण्डमा रगतको प्रवाह पनि पुरै बन्द हुन्छ र मुटुमा ऊर्जाको आपूर्ति ठप्प हुन्छ ।
मुटुमा ग्लुकोज र अक्सिजनको आपूर्ति नभएपछि मुटुको मांसपेशी क्षतिग्रस्त हुन थाल्छ र यो क्रम लम्बिँदै गएमा मांसपेशी मर्छ र यसले काम गर्न छाड्छ । यो अवस्थालाई हृदयघात भएको भनिन्छ । हृदयघात हुँदा छातीको बीच भागमा असह्य पीडा हुन्छ । हृदयघात भएका व्यक्तिले समयमै उपचार नपाए तत्काल मृत्यु हुन सक्छ ।
गौतमबुद्ध मुटु अस्पतालका वरिष्ट मुटुरोग विशेषज्ञ डा. समिर गौतमका अनुसार मुटु रोगका प्रमुख लक्षण यस्ता हुन्छन् ः छातीको बीच भागमा पीडा हुनु, बेचैनी हुनु वा भारिपन महसुस हुनु । श्वास फेर्न कठिनाइ हुनु । धेरै पसिना आउनु । नियमित रूपमा वाक्वाक् लाग्नु । हात झझमाउने तथा चेतनाबिहीन बन्नु । शरीरको कुनै अंगले काम गर्न छाड्नु । कमजोर यौन गतिविधि हुनु । काँध र घाँटीमा दुखाई हुनु । मुटुमा जलन हुनु । बोल्दा कठिनाइ हुनु, जिब्रो लरबरिनु । परिश्रम गर्दा दम बढ्नु । खुट्टाहरू सुन्निनु, मुटु बेतालले धड्किनु, चक्कर लाग्नु, घाँटीको रक्तनली फुल्नु वा चल्नु, जिब्रो तथा औंलाका टुप्पाहरू नीलो हुनु आदि सबै मुटुरोगका लक्षणहरू हुन सक्छन् । शारीरिक परिश्रम गर्दा वा मानसिक तनावमा छातीको बीच भागमा वा देब्रेतिर भएर ढुंगाले थिचेको जस्तो अनुभव हुने र आराम गरेपछि हराएर जाने लक्षणलाई एन्जाइना भनिन्छ । कसैकसैलाई भने पहिलोपटक नै असहय तरिकाले छाती दख्ने, देब्रे छातीतिर झनै श्वास फेर्न गाह्रो हुने, चिटचिट पसिना आउने, वाक्वाक् लाग्ने जस्ता हृदयघातका लक्षणहरू देखिन्छन्, जसमध्ये एकतिहाइ बिरामीको अस्पताल पुग्नुभन्दा अगाडि नै मृत्यु हुन्छ ।
के जाडोयाममा हृदयघात बढ्छ भन्ने प्रश्नको जवाफमा डा. समिर गौतम भन्छन्, हो, जाडोयाममा गर्मीको तुलनामा हृदयघात बढ्ने कुरा यथार्थ हो । जाडोमा बढ्नुको कारण पहिला नै कुनै पनि मुटुको रोग छ या मुटुको नली पहिल्यै साँघुरो भइसकेको छ भने चिसोले यो बढेर जान्छ । अर्थात् चिसोको कारण रगतका नलीहरू साँघुरो बन्छन् । त्यसैगरी, जाडोमा भिटामिन ‘डी’को कमी हुन्छ । जुन भिटामिन मुटुका लागि आवश्यक मानिन्छ । चिसोमा शरीरको ताप बाहिर नजाओस् भन्न शरीरको नशा खुम्चिन्छ । जो व्यक्ति बिहानै चिसोमा बाहिर निस्किँदा चिसो हावा चलिरहेको छ भने नशा खुम्चिने प्रक्रिया बढी हुन्छ । त्यसले गर्दा जसको पहिल्यै नशा साँघुरो भइसकेको छ । उनीहरूको चिसोको कारणले सय प्रतिशत नशामा अवरोध आयो भने उनीहरूमा हृदयघात हुने कारण हो । चिसोले अवरोधभन्दा पनि नसा खुम्च्याउने गर्छ । त्यहींमाथि जाडोयाममा शारीरिक गतिविधि कम हुने, जाडोबाट बच्ने नाममा चुरोटरक्सी, चियाकफी तथा बढी चिल्लो मसालेदार गरिष्ट भोजन बढी गर्नाले हृदयघातको जोखिम बढ्छ । जाडोयाममा ब्लडप्रेसर पनि बढ्ने गर्छ । अनेक अध्ययनले जाडो मौसममा हृदयघात ३० प्रतिशतले बढ्ने देखाएको छ । त्यसैले मुटु रोगीहरू जाडोयाममा थप सर्तक हुनुपर्छ ।
जाडोयाममा रगतको धमनी खुम्चिने क्रममा रक्तसञ्चारमा अवरोध आउँदा हृदय तथा मस्तिष्कघातको खतरा बढी हुन्छ
हार्वड मेडिकल स्कुलकी स्नायुवैज्ञानिक डा. मेरी प्यासिन्स्कीका अनुसार जाडो मौसममा मस्तिष्कघात बढी हुने कारण पनि ठिक यस्तै हो । पहिलो कुरा जाडोको कारण शारिरीक गतिविधि कम हुन्छ, जाडोको बहानामा मानिसहरू एकै ठाउँमा आराम गरेर बस्ने गर्छन् । चिसोले रगतको धमनी साँघुरिन्छ, त्यही बेलामा शारीरिक गतिविधि कम हुने तथा चिल्लो र बढी क्यालोरी भएका खानाहरू पनि यही मौसममा बढी खाने चलन छ । यी खानाले पनि रगत बाग्लो बनाउँछन् । जसको कारण मस्तिष्कघात हुन सक्छ । उमेर ढल्कदै गएपछि रगतको नशा त्यसै साँघुरो भइरहेको हुन्छ, त्यसैगरी, कम गतिविधि तथा मधुमेह, उच्च रक्तचाप भएमा, चुरोट प्रयोग गर्नेहरूको पनि पहिल्यै रगतको नशा साँघुरो भइसकेको हुन्छ । चिसोले यस्ता व्यक्तिको रगतको धमनी खुम्चिने क्रममा रक्तसञ्चारमा अवरोध आउँछ मस्तिष्कघात हुन्छ ।
जाडो मौसममा मुटु हेरचाह तथा मुटुरोग रोकथामको सम्बन्धमा डा. गौतम भन्छन्, जोखिम समूहका मानिसहरू, मधुमेह, उच्च रक्तचाप, रक्सी –चुरोट सेवन गरिसकेका, ४० वर्षभन्दा माथिका, मोटोपना बढी भएकाहरू, एकपटक पहिल्यै हृदयघात भइसकेका व्यक्तिहरू बिहानै चिसोमा बाहिर ननिस्कने, एकदम चिसो पानीमा ननुहाउने ।
नुहाउँदा चिसो पानी सिधै टाउकोमा हाल्नुको सट्टा पहिला खुट्टामा हाल्नुपर्छ । यसपछि बिस्तारै बिस्तारै टाउकोमा राख्नुपर्छ । सिधै टाउकोमा चिसो पानी हाल्दा रक्तसञ्चारमा अवरोध पुग्न जान्छ । यस्ता विषयलाई ख्याल नगर्दा कतिपयको ज्यानै समेत गएका घटना छन् । जाडो मौसममा नुहाने पानी मनतातो हुनुपर्छ ।
घाम लागेपछि मात्र हिंड्ने या व्यायम गर्ने तथा न्यानो कपडा लगाउने गर्नु पर्छ । जाडोबाट बच्ने निहुँमा रक्सी चुरोट सेवन गर्नु हुँदैन । बढी मात्रामा कफी पनि नगरेको बेस् । योसँगै उच्चरक्तचाप, मधुमेह, उच्च कोलस्ट्रोल भएका व्यक्तिले नियमित औषधी खाने र जाडो मौसम आउनुपूर्व नै मुटुका विरामीले मुटुरोग विशेषज्ञलाई भेटेर आवश्यक जाँच गराएर मुटु स्वास्थ्य सम्बन्धमा जानकारी लिने ।
अनि मुटु रोगबाट बच्न धूम्रपान साथै सूर्तिजन्य पदार्थको सेवन नगर्ने, नियमित शारीरिक व्यायाम गर्ने, सागसब्जी र फलफूल बढी सेवन गर्ने, मासु, चिल्लो र बोसोयुक्त खानेकुरा, फास्टफुड, जंकफुड कम गर्ने, मानसिक तनाव कम गर्ने, तौल ठीक राख्ने, भुँडी बढ्न नदिने र नियमित रूपमा चिकित्सकसँग परीक्षण गराई आवश्यक सल्लाह लिने गरेमा मस्तिष्क र मुटु रोगबाट सजिलै बच्न सकिन्छ । शरीरको इन्जिन, मुटु र बडीको बोस ब्रेन स्वस्थ भएमा मानिसको जीवन नै स्वस्थ हुन्छ ।