मेरो उम्मेदवारी पार्टीको मापदण्डको परीक्षण पनि होः माथवरसिंह बस्नेत

वरिष्ठ पत्रकार माथवरसिंह बस्नेत, गणेशमान सिंहको रोमाञ्चकारी आत्मकथाका प्रस्तोता हुनुहुन्छ । नेपाली कांग्रेसका शीर्षस्थ नेताहरू बीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको असीम स्नेह र निकट सानिध्यका अवसर पाउनुभएका माथवरसिंह, गणेशमान सिंहको जीवन कथाका पानाको संयोजकका रूपमा त चिनिनु हुन्छ नै, उहाँ नेपाली कांग्रेसका केही त्यस्ता बौद्धिक प्रतिभामध्ये एक हुनु हुन्छ, जसको निर्भिकता सन्देहरहित मानिन्छ । प्रस्तुत छ, राष्ट्रिय सभामा सदस्य पदको उम्मेदवारीका सन्दर्भमा मधुजंग पाण्डेले लिएको अन्तरवार्ता ।

राष्ट्रिय सभाको सदस्यमा तपाईले पनि उम्मेदवारी दाबी गर्नुभएको चर्चा छ, सत्य हो ?
सत्य हो । यसपालि कांग्रेसको केन्द्रीय समितिले मापदण्ड बनाएर पुराना, संघर्ष गरेका र अहिलेसम्म राजनीतिक अवसर नपाएका व्यक्तिलाई टिकट दिने निर्णय गरेकाले त्यसबाट उत्साहित भएर मैले दाबी गरेको हुँ ।

यत्रा वर्ष, सांसद बन्न चुनाव लड्नु भएन, अहिले रिटायर हुने बेलामा किन राष्ट्रिय सभामा जानु प-यो भन्ने प्रश्न उठेको छ नि !

राष्ट्रिय सभा भनेकै हामीजस्ता चुनाव लड्ने अवसर नपाएका तर संसदीय व्यवस्थाको पुनस्र्थापनाका लागि भएको ३० वर्ष लामो आन्दोलनमा आफ्नो जीवन अर्पेर अनेक पटक जेलको यातना झेलेका म जस्तै संघर्षशील व्यक्तिलाई सम्मानपूर्वक राष्ट्र निर्माणमा सम्मिलित तुल्याउने उपयुक्त सदन हो । पार्टीले हाम्रो योगदानको उचित मूल्यांकन गर्ने मात्र होइन, आफूले बनाएको मापदण्डको सम्मान पनि गर्छ भन्ने विश्वासमा सभापति शेरबहादुर देउवासँग सोधेर मैले वाग्मती प्रदेशबाट उमेदवार बन्न पहल गरेको हुँ ।

कांग्रेसमा पुरानालाई थारा गाई घोषित गरेर नौला र लैनु खोज्ने चलन चलेको देख्नेहरू पत्याउन सकिरहेका छैनन् । साँच्चै, तपाईंको पालो आउला त ?
कांग्रेस, उदार प्रजातन्त्रको आदर्शबाट अनुप्राणित पार्टी हो । त्यसैले, कांग्रेसलाई नेपालमा विधिको शासन कायम गर्न कटिबद्ध एक मात्र पार्टीका रूपमा विश्वले जानेको र मानेको छ । त्यो अमूल्य निधिलाई संस्थागत तुल्याउन कांग्रेसका असंख्य नेता तथा कार्यकर्ताले जीवन उत्सर्ग गरेका छन् । त्यो परम्परा कायम राख्न पनि पार्टीले प्रजातन्त्रका मूल्य र मान्यतालाई जोगाउनैपर्छ । त्यो भनेको आफ्नो निर्णयप्रति पार्टी कटिबद्ध रहन्छ भन्ने विश्वास हो । त्यसो हुने बित्तिकै मैले अवसर नपाउने प्रश्नै उठ्दैन ।

के आधारमा त्यस्तो ठोकुवा गर्नुभएको हो ?
कांग्रेसले आफ्नो जीवनकालमा तीन ठूला आन्दोलनको नेतृत्व गरेको छ । पहिलो हो, शामन्ति राणा शासन अन्त्य गरेर प्रजातान्त्रिक शासन व्यवस्था कायम गर्न २००७ सालको क्रान्ति, दोस्रो हो, २०१७ सालको राजा महेन्द्रको प्रतिक्रान्ति र स्वेच्छाचारी शासनको अन्त्यका निम्ति भएको प्रजातन्त्र पुनस्र्थापनाको ३० वर्ष लामो संघर्ष र २०४६ सालको ऐतिहासिक जनआन्दोलन, जसले राजाको निरंकुश पञ्चायत व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनस्र्थापना गरेको थियो । त्यसमध्ये पहिलो र दोस्रो आन्दोलनका नेता तथा कार्यकर्ता, अब यो संसारमा छैनन् । २०२७ सालमा जननायक बीपी कोइरालाले प्रजातन्त्र पुनस्र्थापनाका लागि सशस्त्र विद्रोह, नेपालीको जन्मसिद्ध अधिकार हो, त्यसका लागि म विशेष गरेर तरुणलाई आह्वान गर्छु भन्नु भएपछि सशस्त्र संघर्षको जुन लहर चल्यो, त्यसका बलिदानी योद्धा, जो थोरै मात्र बाँकी छन्, संयोगले तीमध्ये एक म पनि हुँ । त्यसैले सांसद हुन पाउनु मेरा लागि अवसर मात्र होइन, न्यायपूर्ण हक नै हो ।

तपाईं त्यो आन्दोलनमा कसरी संलग्न हुनुभएको थियो ?
काठमाडौं राजा वीरेन्द्रको राज्याभिषेकको तयारी जोडतोडले चलिरहेको थियो । उता प्रजातन्त्र पुनस्र्थापनाका लागि भइरहेको सशस्त्र संघर्षप्रति तरुणको आकर्षण पनि बढिरहेको थियो । राजधानीमा त्यसको प्रभाव जति पर्नुपर्ने हो, त्यत्ति परेको थिएन । त्यसलाई चर्काउन लीला दाहाल, ठगी दाहाल, खगेन्द्र दाहाल र गोकर्ण कार्कीले ह्यान्ड ग्रिनेटजस्ता विस्फोटक पदार्थ भित्र्याएर ठूलो सनसनी पैदा गराएका थिए । तरुणमा सशस्त्र संघर्षप्रति बढ्दा आकर्षण निरुत्साहित तुल्याउन उनीहरू चारै जनालाई केन्द्रीय कारागारबाट जेल सरुवा गर्ने बहानामा नख्खु जेलको ओरालोमा लगेर अत्यन्त वीभत्स तथा क्रूर तरिण्काले हत्या गरेको घटनाको प्रतिकार गर्न पार्टीको अनुमति लिएर हामीले जुन योजना बनाएका थियौं, कार्यान्वयन हुनुपूर्व नै त्यसको रहस्योद्घाटन भयो र जानकीप्रसाद कुँइकेल, ईश्वर घिमिरे र मलगायत आधा दर्जन साथी पक्राउ प¥यौं । हामीमाथि राजकाज मुद्दा चलाइयो । त्यही मुद्दामा जानकीजी र मलाई जन्मकैदको सजाय भएको थियो । जुन दिन अञ्चलाधीश न्यायाधीश रहेको विशेष अदालतले त्यो फैसला सुनाइएको थियो, त्यस दिन जब हामी नख्खु जेल फर्कियौं, तब हामीप्रति सान्त्वना र सहानुभूति व्यक्त गर्नेहरूमा सन्तनेता कृष्णप्रसाद भट्टराई, नेपाली गान्धी भनेर चिनिनुहुने महेन्द्रनारायण निधि, बोधप्रसाद उपाध्याय, वर्तमान सभापति शेरबहादुर देउवा, राष्ट्रपति रामचन्द्र पौडेलका अतिरिक्त ६२ जना नेता तथा कार्यकर्ता हुनुहुन्थ्यो । उहाँहरूमध्ये धेरैले यो संसार छाडिसक्नु भएको छ, तर देउवा र पौडेल अझै सक्रिय हुनुहुन्छ ।

उहिलेका कुरा खुइलिसके, अहिले त हाताहातीको जमाना छ, त्यसमा तपाईं कति खरो उत्रिन सक्नुहुन्छ ?
एकथरिले त्यस्तो आरोप लगाउने गरेका छन्, त्यो जगजाहेरै छ । कांग्रेसले खण्डन गर्ने गरेको छैन, त्यसैले धेरैलाई सत्य पो हो कि भन्ने लागेको पनि हुन सक्छ । तर, त्यस्ता आरोप सत्य होइनन् । नेपालमा प्रजातन्त्रका आदर्श, मूल्यमान्यताको औचित्य जबसम्म रहन्छ, तबसम्म नेपाली कांग्रेसको सान्दर्भिकता रहिरहने छ । कांग्रेस र प्रजातन्त्र अन्योन्याश्रित छन् । एकका अभावमा अर्काको अस्तित्व रहन सम्भव छैन । ’cause यो प्रजातन्त्रको युग हो । उदार प्रजातन्त्र र समतामूलक अर्थव्यवस्था स्थायित्वको आधार हो । अबको विश्वव्यवस्था त्यसैमा निर्भर रहने छ । त्यसमा कुनै द्विविधा नराखे हुन्छ । माक्र्सवाद अर्थात् सर्वहारावर्गको तानाशाही सिद्धान्तको कुनै भविष्य छैन । त्यो विचार, प्रजातान्त्रिक पद्धतिमा निजम्मित नहुने हो भने पश्चिम युरोपमा जस्तै नेपालका पनि कम्युनिस्ट अस्तित्व जोगाउन नसक्ने भएर समाप्त हुने छन् ।

तर, कांग्रेस त भ्रष्टाचारको भासमा जाकिएर अलोकप्रिय मात्र भएको छैन, समाप्त हुने दिशातिर तीव्र गतिमा अघि बढिरहेछ भन्ने निष्कर्ष विरोधीका साथै, कांग्रेसकै प्रमुख नेताको समेत निचोड रहेको तथ्य मिडियामा छ्याप्छ्याप्ती छन् । तापनि, तपाईं कांग्रेसको उज्वल भविष्यप्रति आशावादी हुनुहुन्छ ? त्यसको आधार के हो ?
नेपाली जनताको कांग्रेस र प्रजातन्त्रप्रतिको अविचलित आस्था र विश्वास नै त्यसको आधार हो । संक्रमणकाल लम्बिएर अनेक प्रकारका उतारचढाव झेल्नुपरेकाले संसदीय व्यवस्थाले राजनीतिक स्थिरता प्रदान गर्न नसकेको पक्कै हो । तापनि २०४६ सालको जनआन्दोलनपछि पुनस्र्थापित प्रजातन्त्रले राष्ट्रिय जीवनका सबै क्षेत्रमा अकल्पनीय परिवर्तन ल्याएको छ । शिक्षा, स्वास्थ्य, यातायात, विद्युत्, खानेपानी, सिँचाइ आदिमा मात्र होइन, आमसञ्चारका प्रविधि र माध्यममा पनि क्रान्तिकारी परिवर्तन आएको छ । त्यस्तै, खुला आर्थिक विकासका क्रियाकलापबाट रोजगारीमा पनि प्रत्यक्ष र अप्रत्यक्ष दुवै क्षेत्रमा अविश्वसनीय मात्रामा वृद्धि भएकै छ । त्यही कारण आमनेपालीको जीवनस्तर निकै माथि उठेको छ । धनी र गरीब दुवैथरिका हातमा मोबाइल भएका कारण मात्र होइन, खानपान, पहिरन तथा औसत उमेरमा भएको वृद्धिले पनि विकासका मामलामा देशले लामो फड्को मारेको टड्कारै छ । वैदेशिक रोजगारीका निम्ति तरुणको बहिर्गमन र रेमिटान्सको आगमनले राष्ट्रिय विकासमा वैदेशिक निर्भरता क्रमशः घट्दै त गएको छ तर देशको अर्थतन्त्रमा भुक्तानी सन्तुलनको भार भने अचाक्ली बढेको छ ।

कांग्रेसका नेता तथा कार्यकर्ताको सबैभन्दा ठूलो कमजोरी के रहेको छ भने कुनै पनि विषयमा आफूले गहिरो अध्ययन नगर्ने, अरूले जुन भ्रम फैलाइदिन्छन्, त्यसैलाई टपक्क टिपेर ‘देश खत्तम हुन लाग्यो, हाम्रै नेता भ्रष्टाचारी हुन्, तिनैले बिगारे’ भन्ने उनीहरूका लहैलहैका पछाडि दगुर्ने प्रवृत्ति महामारी बनेर फैलिएका कारण त्यस्तो नैराश्यता छाएको हो । २०४६ सालमा पञ्चायतको अन्त्य भएर संसदीय व्यवस्था फर्केपछि २०४७ सालको असारमा जुन बजेट प्रस्तुत भएको थियो, त्यसमा प्रस्ट लेखिएको छ, मुलुकको वार्षिक राजस्व १० अर्ब ७२ करोड । २०८० सालको बजेटमा राजस्व बढेर १६ खर्ब पुगेको छ । त्यो देश उकालो लागेको हो कि ओरालो लागेको द्योतक हो, कसैले पनि छुट्याउन सक्छन् ।

त्यस्तो, अभूतपूर्व उपलब्धि उजागर गर्ने कांग्रेसबाट प्रयास नै भएको छैन । कांग्रेस कार्यकर्ता त आफ्नै नेताका घर गनेर आफूले बनाउन नसकेकोमा पश्चाताप गरिरहेका छन् । उनीहरूमा कम्युनिस्ट नेताका घर गिन्ती गर्ने चेतना जागेको भए देख्ने थिए, उपत्यकाभित्र कांग्रेसका भन्दा दोब्बर संख्यामा उनीहरूका आलिसान घर र गाडी छन् । त्यस्तै, ठूला कर्मचारी र न्यायाधीश कसका काठमाडौंमा घर छैनन् † कसले कुन स्रोतबाट ती सम्पत्ति आर्जन गरेका रहेछन्, तिनको छानबिन गर्ने हो भने कांग्रेसका दुई चार नेतालाई छाडेर अधिकांश कति बबुरा रहेछन्, ती सबै खुलस्त हुनेछन् ।

अफसोच् ! कांग्रेसमा विरोधीका प्रचार र प्रहारको प्रतिकार गर्ने संगठित प्रयासको संरचना नै छैन । त्यही कारण सञ्चारका माध्यममा कार्यरत सञ्चारकर्मी पनि कम्युनिस्टकै प्रपगण्डाबाट प्रभावित छन् । कांग्रेस त्यस्ता संयन्त्र निर्माण गरेर जुन दिन प्रजातन्त्रको प्रतिरक्षामा उत्रन्छ, त्यस दिन सबै छर्लंग हुन्छ, प्रजातन्त्रलाई बदनाम गर्ने को रहेछन् र बचाउन लाग्ने को हुन्, त्यसको दूध र पानी छुटिन्छ । अनि, जनता आफैं प्रजातन्त्र जोगाउन उत्रने छन् । यिनै सब कारणले संसदीय प्रजातन्त्र र कांग्रेस दुवैको भविष्य अत्यन्त उज्वल छ, त्यसमा शंका गर्नुपर्दैन ।

तपाइको प्रतिक्रिया
(Visited 655 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ओलाङचुङगोलामा अध्यक्ष छेतेनसहित सबै सदस्य निर्विरोध