काठमाडौं । सरकारले सशस्त्र प्रहरी बलका नायब महानिरीक्षक (डीआईजी) ई. किशोर प्रधानको एक वर्ष पदावधि थप गर्ने निर्णय गरेको छ ।
पुग्लान् त नेतृत्वमा ?
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ६५ को उपनियम २ बमोजिम सशस्त्रका डीआईजी प्रधानको एक वर्ष पदावधि थप गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ६५ को उपनियम १ मा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकको पदावधि चार वर्ष तोकिएको छ । सोही नियमको उपनियम २ मा सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा अतिरिक्त महानिरीक्षक र नायब महानिरीक्षकको पदावधि एक वर्ष थप गर्न सकिने उल्लेख छ ।
प्रधानको डीआईजीको पदावधि आगामी २२ माघमा सकिँदै थियो । जसअनुसार २१ माघ २०८१ सम्मका लागि उनको पदावधि थप भएको हो । ८ मंसिर २०५५ मा नेपाल प्रहरीबाट सेवा सुरु गरेका उनी सशस्त्र प्रहरी बलको स्थापना भएपछि सशस्त्रमा स्थानान्तरण भएका थिए । उनी २२ माघ २०७६ मा डीआईजीमा बढुवा भएका थिए ।
सशस्त्र प्रहरीमा अहिले अतिरिक्त महानिरीक्षकको संख्या तीन रहेको छ । मावनस्रोत विभाग, कार्य विभाग र सीमा विभागको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकले गरिरहेका छन् । तीनवटै विभागको हैसियतमा सशस्त्र एकेडेमीलाई राखिएको भए पनि एकेडेमीको नेतृत्व डीआईजीले गरिरहेका छन् ।
एक जना अतिरिक्त महानिरीक्षक थप्ने पहल भने लामो समयदेखि भइरहेको छ । त्यस्तै डीआईजी तीन जना थप्ने पहल पनि भइरहेको छ । अतिरिक्त महानिरीक्षकको संख्या थप भएको अवस्थामा वरिष्ठताका आधारमा प्रधान नै बढुवा हुने सम्भावना छ । नीतिगत कुनै परिवर्तन नभएमा र अतिरिक्त महानिरीक्षकमा बढुवा भएको अवस्थामा उनी आठ महिना (२०८४ चैत १८ देखि २०८५ मंसिर ७) का लागि सशस्त्रको नेतृत्व तहसम्म पुग्नेछन् ।
यस्तै, सरकारले सशस्त्र प्रहरी बल नेपालको श्रेणीविहीन पदमा स्तरवृद्धि कायम भएका श्रेणीविहीन पाँचौं स्तरसम्मको तलबमान र ग्रेड दर स्वीकृत गरेको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकका निर्णय बुधबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री शर्माले श्रेणीविहीन प्रथम, द्वितीय, तृतीय, चतुर्थ र पाँचौं स्तरको सुरु तलबमान ग्रेड संख्या, ग्रेड दर स्वीकृत गरिएको जानकारी दिइन् ।