खडेरीको मारमा कर्णाली: सुक्न थाले हिउँदेबाली, भोकमरी बढ्ने चिन्ता

कालिकोट । लामो खडेरीले यसपटक कर्णालीका प्रायः सबै पहाडी जिल्लामा हिउँदेबालीले कुनै परिणाम नदिने देखिएको छ । अधिकांश ठाउँमा मकैपछिको मुख्य खाद्य बाली गहुँ उम्रनसमेत पाएन । खडेरीको असर जौ, गहुँ र उवा बालीमा मात्र नभई स्याउ बाली उत्पादनमा समेत पर्ने देखिएको छ ।

माघ लागिसक्दा पनि हिमपात नहुँदा कर्णालीवासीको गरा तथा खेतमै हिउँदेबाली सुक्नथालेको छ । हिमपात नभई खडेरी बढ्दैजाँदा किसान चिन्तित बन्दै गएका छन् । जाडो सिजनमा पनि हिउँ नपरेपछि एकातिर चिसो बढ्दै गएको छ भने अर्कोतिर तुषारोले बाली खाएको छ । खडेरीका कारण केही किसानले खेतगरा नै बाँझो राखेका छन् ।

खडेरीले सुकेका रास्कोटका खेतबारी

यहाँका आधाभन्दा बढी उब्जाउ जमिनमा हिउँदे बाली लगाउने चलन छैन । तर, हिउँदे बाली लगाइएको ८० प्रतिशत भूभागमा पनि गहुँ उम्रेको छैन । हरियाली हुने बेलासम्म गहुँ नउम्रिँदा खेत बाँझैजस्तो देखिन्छ । पाखो जग्गामा माघ लाग्दासम्म गहुँ उम्रिन पाएको छैन ।

‘कालिकोटको रास्कोट, शुभकालिका, तिलागुफालगायतका सिञ्चित क्षेत्रमा समेत गहुँ राम्रो हुन सकेको छैन भने अकासेपानीको भरमा खेती हुने क्षेत्रमा कतै पनि गहुँ उम्रेको छैन,’ रास्कोटका अगुवा कृषक कविराज न्यौपानेले भने, ‘कालिकोटका अधिकांश क्षेत्रमा गहुँबालीको दुर्दशा देखिन्छ, कालिकोटमा हिउँदमा खेत बाँझो राख्ने चलन बढी छ, त्यसमा पनि यस वर्ष खडेरीले लगाएको गहुँबाली उम्रन पनि पाएको छैन, हिउँदेबाली गहुँ, जौ छर्नेबेला पानी परेन ।’

लगाएको बाली नउम्रने र उम्रे पनि मरेर जाने भएकाले अन्न खेर नफाल्न गरा बाँझो राखेको शान्नि त्रिवेणी गाउँपालिका–६ मेहलमुडीकी धना सञ्ज्यालले बताइन् ।

‘यस वर्षको खडेरीबाट फेरि पनि दुःखका दिन सुरु हुने भए, भोकमरीको समस्या बढ्ने भयो,’ धनाले भनिन्, ‘खेतीमा निर्भर हामीजस्ता किसानलाई आकाशले अन्याय नै ग-यो ।’

उब्जाउ नहुँदा आम्दानीको स्रोत नभएका तर तीनदेखि ६ महिनासम्म मात्र खान पुग्ने यहाँका ग्रामीणवासीलाई झनै ठूलो समस्या हुने देखिएको छ ।

यस्तै, रास्कोट नगरपालिका–२ जनालीकोट गाउँका स्थानीय किसान बिसहर न्यौपाने अकासेपानीमा निर्भर हुनुले हिमाली क्षेत्रका नागरिकले वर्ष बिराएर भोकमरीको समस्या भोग्नुपरेको दुःखेसो गरे ।

जाडोमा पानी पर्नुको साटो कालो तुषारोले ढाकिरहेको छ । यसले प्रकाश संश्लेषण प्रक्रियामा असर पु-याउँदा स्याउ उत्पादनमा क्षति पुग्ने कृषि विकास कार्यालय कालिकोटका प्रमुख भरत बस्नेतले बताए । मानव गतिविधिका कारण जलवायु र मौसममा परिवर्तन भएकाले यसले पछिल्लो समयमा हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकलाई नै प्रभाव पारेको उनको भनाइ छ ।

खडेरीको मारमा पलाँता क्षेत्रमा छरेको गहुँ

यस वर्ष हिउँदेबाली उत्पादनमा गिरावट आउने निश्चित भएको उनले बताए । हिउँदे बाली गहुँ छरेको मंसिरदेखि नै पानी परेको छैन । ‘पुस कटिसक्यो, माघ लागिसक्दा पनि यसरी हिमपात नभएको पहिलो रेकर्ड नै हो, हिमपात नहुनुले जौ, गहुँ र उवा बालीमा मात्र नभई यसले स्याउ बाली उत्पादनमा ह्रास आउने देखिन्छ,’ प्रमुख बस्नेतले भने ।

उनका अनुसार यहाँका ३ हजार ५ सय हेक्टर क्षेत्रफलमा जौ, २ हजार १ सय हेक्टरमा गहुँ र ३ हजार ३ सय हेक्टर जमिनमा स्याउबाली लगाइएको छ । सिञ्चित क्षेत्रको बाली उत्पादनमा आशा भए पनि पाखे जौ र गहुँबाली नष्ट भएको छ ।

पछिल्लो समय गाउँमा युवाको संख्या शून्यझैं छ । बूढापाका र बालबच्चाको भरमा चलेको गाउँमा कतिपय क्षेत्र अहिलेसम्म खेतीयोग्य जमिन बाँझै रहेका पाइन्छ । बिनामलको खेतीमा उब्जनी पनि कम हुने र काम गर्ने मान्छे पनि नहुनाले यहाँका बासिन्दा खाद्यको चामल नै किनेर खान्छन् । वर्षभरि खेती गरेर पाँच महिना पनि अन्न पुग्दैन ।

तपाइको प्रतिक्रिया
(Visited 240 times, 1 visits today)

epaper

ताजा समाचार

बझाङमा १३ वर्षीया बालिका बलात्कृत, एक जना पक्राउ