बैतडी । गाईबस्तुका लागि पकाएको कुँडोमा परेर गत साता शनिबार घाइते भएका बैतडीको डिलाशैनी गाउँपालिका–५ बिनाबत्थीका ७ वर्षीय बालक अभिषेक लुहारको समाचार राजधानी दैनिकले प्रमुख समाचारका रूपमा प्रकाशित गरेको थियो ।
ती बालकका बुबा महेशको ३ वर्षअघि चट्याङमा परेर २९ वर्षको उमेरमा ज्यान गएको थियो । गरिब परिवारका टुहुरा अभिषेकको उपचार स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक रूपमा गराएर घरमै राखिएको थियो ।
अभिषेककी आमा शान्ती लुहारसँग छोरालाई अस्पताल पु-याउने रकम नहुँदा उनी घरमै थन्किएका थिए । सो खबर राजधानी दैनिकमा प्रकाशन भएसँगै उपचारस्वरूप आर्थिक सहयोग संकलन हुनथालेको छ । अहिले ती बालकको धनगढीमा उपचार सुरु गरिएको छ ।
पत्रिकामा समाचार पढेर काठ्माडौं बालाजु निवासी समाजसेवी अनिलकुमार महर्जनले २५ हजार रकम र महर्जनकै पहलमा राधाकृष्ण चापागाईंले ५ हजार रकम अभिषेककी आमाको खातामा पठाएका छन् ।
डिलाशैनी गाउँपालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ भने गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले व्यक्तिगत १० हजार रकम सहयोग गरेका छन् ।
जलेका पीडित बालकको दुःखद समाचार पत्रिकामा पढेपछि समाजसेवी महर्जनले राजधानी दैनिकको कार्यालयमा फोन गरे । त्यहाँबाट समाचारदाता सीपी लोहियाको नम्बर पाएपछि पीडितको अवस्था’bout थप जानकारी लिँदै बालककी आमा शान्ती लुहारको खातामा रकम जम्मा गरेर उपचार गर्न सुझाव दिए । उनले आफ्ना अरू साथीभाइलाई समेत सहयोगका लागि समाजसेवी महर्जनले आग्रह गरेका छन् ।
महर्जनले हालसम्म पत्रिकामा पीडितका समाचार पढ्दै दर्जनौं व्यक्तिलाई सहयोग गर्दै आएका छन् । कतिपय व्यक्तिहरू उनको सहयोगका कारण नयाँ जीवन पाउन सफल भएका छन् ।
आर्थिक अभावले उपचारबिनै घरैमा थन्किएका अभिषेकको अहिले घनगढीमा उपचार भइरहेको अभिषेकका ठूलोबुबा अम्बे लुहारले बताए । ‘हामीले यसरी सहयोग प्राप्त हुने कुरा सोचेकै थिएनौं तर गाउँपालिकाले एम्बुलेन्समा अस्पताल पु¥याइदियो, अध्यक्षज्यूले पैसा दिनुभयो,’ अभिषेकका ठूलोबुबा अम्बेले भने, ‘सहयोगी मन भएका महान् व्यक्तिहरू थप सहयोग गरिरहेका छन्, हामी गरिब मान्छेलाई यसरी सहयोग गर्ने मनकारीहरूको जीवनमा झन् धेरै प्रगति होस्, हामीजस्ता पीडितले अझै सहयोग पाऊन्, हामी उहाँहरूको गुन कहिल्यै भुल्नेछैनौं ।’
लुहार परिवारले अझै पनि दाताहरूबाट सहयोगको अपेक्षा गरेको छ । आफूहरूसँग उपचार खर्च र घनगढीमा खानबस्नका लागि समस्या भएकाले सहयोग गरिदिएमा आभारी हुने अभिषेककी आमा शान्तीको भनाइ छ । उपचारमा सहयोगका लागि शान्ती लुहारको कुमारी बैंक गोकुलेश्वरमा रहेको खाता नम्बर ०८८०१२९४०७३०००२ सार्वजनिक गरिएको छ ।
गम्भीर घाइते भएका अभिषेकका हातखुट्टा र शरीर जलेको छ । उनी शान्तीका एक्ला छोरा हुन् । अभिषेकका बुबाको भने भैंसी किनेर ल्याउँदै गर्दा चट्याङले बाटैमा भैंसीसँगै ज्यान गएको थियो । उनको मृत्युसँगै परिवारको आधार नै गुमेको थियो । खच्चड पालेर जीविका चलाउँदै आएका महेशको मृत्युपछि परिवारजनलाई दैनिक छाक टार्नै मुश्किल भएको थियो । अभिषेकका बाजे अहिले ७० वर्ष पुगे । उनले बुढेसकालमा आरन व्यवसाय चलाए पनि गुजारा चलाउनै मुश्किल छ ।
पीडितका लागि अन्यत्रबाट पनि सहयोग रकम जुटाउन पहल भइरहेको डिलाशैनी–५ का वडाध्यक्ष यज्ञराज भट्टले बताए । पीडितलाई दाताहरूबाट सहयोग रकम पाइएमा बालकको ज्यान जोगिने गाउँपालिका अध्यक्ष जोशीको भनाइ छ ।