चिसो बढेसँगै तल झरे भेडीगोठ

उदयपुर । चिसो बढेपछि हिमाली क्षेत्रबाट चरणका लागि भेडीगोठ तल झारिएका छन् । हिमाली भेगमा चिसो र हिमपात भएसँगै चरण अभावमा त्यस क्षेत्रका भेडीगोठहरू उदयपुरतिर झारिएको हो । यसरी झारिएको भेडीगोठ उदयपुरको उच्च पहाडी भेगको चरण भएको जंगलमा राखिएको छ । भित्री मधेस र महाभारत शृंखलामा अवस्थित उदयपुरमा जाडोको मौसम सुरु हुनासाथ माथिल्लो भेग सोलुखुम्बु र ओखलढुंगा जिल्लाबाट हरेक वर्ष चरी चरणका लागि भेडीगोठहरू उदयपुर ल्याउने गरिन्छ ।

ओखलढुंगामा जाडो बढेसँगै सिद्धिचरण नगरपालिका–५ रुम्जाटारका दुर्गाबहादुर गुरुङ ७ सय भेडा लिएर उदयपुर आइपुगेका छन् । उदयपुरको महाभारत शृंखलामा रहेको चरनमा जाडोभरि भेडीगोठ राख्ने उनको योजना रहेको छ ।

जाडो मौसममा हिमाली क्षेत्रमा चिसो हुने गरेकाले उदयपुरको महाभारत क्षेत्रमा ४ महिना भेडीगोठ राख्ने गरेको गुरुङले बताए । उदयपुरमा सामुदायिक वन क्षेत्रमा स्थानीय पालिकाले तोकेको राजस्व तिरेर भेडीगोठ राख्ने गरेको भन्दै उदयपुरको कटारी नगरपालिका, ताप्ली, लिम्चुङबुङ, उदयपुरगढी, रौतामाई गाउँपालिका क्षेत्रभित्रका तावाश्री, सिरिसे, लिम्पाटार, ओख्ले, नामेटार, माझखर्क, रमिते, भालेबास, रौता पोखरी, ताप्ली पोखरी, ओख्ले नागी, आँपटार, लेखानी, हर्देनीलगायतका उच्च पहाडी क्षेत्रका नागी डाँडाहरूमा गोठ सार्ने गरिएको गुरुङले बताए ।

हिउँदमा पाएका भेडाका साना पाठापाठी यतै बिक्री हुने र बाँकी रहेकाहरू फर्काएर रुम्जाटारमा लगेर बेच्ने गरेको अर्का भेडीगोठका चन्द्रबहादुर गुरुङले बताए । सामुदायिक वनका पदाधिकारीले मनपरी पैसा लिएर दुःख दिने गरेको भेडीगोठवालाको गुनासो रहेको छ । एउटा सामुदायिक वनले ४ देखि ५ हजारसम्म लिने गरेको तर वन विनाशका कारण विगतको जस्तो चरन क्षेत्र प्रशस्त नभएकाले भेडा चराउन निकै कठिन हुन थालेको गुरुङको भनाइ छ ।

त्यसो त भेडा गोठालालाई जसले खाने बस्नेको प्रबन्ध गर्छ, उसैको बारीमा भेडाको बास राखिदिने चलन रहेको छ । कतिपय किसानहरूले आप्mनो जग्गामा बास राख्न दिने गरेको र यसबाट किसानको बारीमा भेडाको मलले गर्दा अन्नबाली सप्रिने गरेको स्थानीय शिक्षिका इन्दिरा रानाले बताइन् । उच्च पहाडी भेगमा प्रशस्त पाइने कालो बनमारा, अम्लिसो र अन्य प्रजातिका वनस्पतिको बाक्लो झाडी नै भेडाको आहारा भएकाले दिनभर जंगलमा चराउने र रात परेपछि गाउँलेहरूले बस्न दिएको बारीमा र नदिएको अवस्थामा खर्कमा लगेर बास राखिने भेडीगोठाला चन्द्रबहादुर गुरुङले बताए । उनले यस वर्ष सोलुखुम्बुु र ओखलढुंगाबाट ३ हजारभन्दा बढी भेडीगोठ उदयपुर झारेको बताए ।

उनले भने, ‘चरन क्षेत्रको अभाव भएपछि रुम्जाटारका गुरुङहरूले व्यावसायिक रूपमा गर्दै आएको भेडापालन व्यवसाय संकटमा परेको छ ।’ खाली र पर्ती जग्गा अहिले निजी तथा सामुदायिक, कबुलियती र सरकारी वन क्षेत्र भएकाले चरिचरनमा समस्या भएकाले पनि भेडापालन व्यवसाय समस्यामा पर्न थालेको गुरुङ बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 57 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी