काठमाडौं । १९ सिटका लागि बिहीबार भएको मतदानपछि नेकपा माओवादी केन्द्र राष्ट्रिय सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ । बिहीबार १९ सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका १० जना, माओवादी केन्द्रका ५, एकीकृत समाजवादीका २ तथा जनता समाजवादी पार्टीका एक जना निर्वाचित भएका छन् । यस्तै, सत्ता गठबन्धनतर्फ माओवादीका एक जना उम्मेदवारलाई हराउँदै एमालेका एक जनाले बाजी मारेका छन् ।
यो चुनावी परिणामले राष्ट्रिय सभामा रहेको दलीय समीकरण फेरिँदा माओवादी सबैभन्दा ठूलो दल बन्ने भएको छ । यद्यपि, यसका लागि २० फागुन कुर्नुपर्नेछ ।
बिहीबारको निर्वाचनमा माओवादी केन्द्रका पाँच जना निर्वाचित भएका छन् । माओवादीबाट हाल उपाध्यक्षसहित १५ जना रहेकामा तीन जना २० फागुनमा बिदा हुँदै छन् । यो निर्वाचनबाट माओवादीका दुई जना थप भएका छन् । अब १७ सिटसहित माओवादी राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्ने भएको छ । प्रतिनिधिसभामा माओवादी ३२ सिटसहित तेस्रो स्थानमा छ ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस अब राष्ट्रिय सभामा दोस्रो ठूलो दल बन्ने भएको छ । अहिले नेपाली कांग्रेस तेस्रो ठूलो दल हो । हाल राष्ट्रिय सभामा कांग्रेसका १० सांसद छन् । १० मध्ये ४ जना आगामी २० फागुनमा बिदा हुँदै छन् । चार जना बिदा हुने र १० जना थपिने भएकाले अब राष्ट्रिय सभामा कांग्रेसको संख्या १६ पुग्ने भएको छ ।
अहिले राष्ट्रिय सभामा एमालेका १८ सांसद रहेकामा २० फागुनमा नौ जना रिक्त हुनेछन् । बिहीबार भएको निर्वाचनमा एमालेले १ सिट मात्र जितेकाले उसको १० सिट हुनेछ ।
एकीकृत समाजवादीको हकमा भने राष्ट्रिय सभामा कुनै परिवर्तन हुनेछैन । एकीकृत समाजवादीबाट हाल ८ जना रहेकामा दुई जना बिदा हुँदै छन् । बिहीबार नयाँ दुई जना निर्वाचित भएकाले उसको संख्या यथावत् रहनेछ ।
यस्तै, सत्तारूढ गठबन्धनअन्तर्गतको जसपाको सिट संख्या पनि हेरफेर हुनेछैन । जसपाकी एक मात्र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवको कार्यकाल २० फागुनमा सकिँदै छ । बिहीबार एक जना निर्वाचित भएर आएकाले जसपाको राष्ट्रिय सभामा उपस्थिति यथावत रहनेछ ।