काठमाडौं । ३१ अगस्ट १९५७ मा उपनिवेशबाट मुक्त भएको मलाया (हालको मलेसिया) त्यसअघि बेलायतको अधीनमा थियो । मलायाका विद्रोही समूहले सन् १९४० को सुरुवातदेखिनै बेलायती शासकलाई त्यहाँबाट भगाउन विद्रोह गरेका थिए । सोक्रममा उनीहरूले बेलायती सैनिकदेखि अफिसरलाई समेत बन्दी बनाएका थिए ।
त्यसपछि बेलायतले पठाइएको गोर्खा सैनिकले मलायाको जंगलमा सन् १९४९ मा गरेको भीषण युद्ध गरेका थिए । यही कथामा एतिहासिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियर निर्माण भएको छ । यस चलचित्रको बिहीबार काठमाडौंमा ट्रेलर सार्वजनिक गरिएको छ । यस ट्रेलरमा युद्धका क्रममा गोर्खाली सैनिकका परिवारप्रतिको विछोड र सम्झनाका कारुणिक दृश्य प्रस्तुत गरिएको छ । गोर्खा वारियरको ट्रेलर निकै महँगो बजेटमा बनेको हलिउडको वार जनराको चलचित्रको ट्रेलरजस्तै देखिएको छ ।
एतिहासिक अन्तर्राष्ट्रिय चलचित्र गोर्खा वारियर आउँदो ११ फागुनबाट नेपालमा रिलिज हुने भएको छ । यसैक्रममा यस चलचित्रको नेपाली संस्करणको ट्रेलर रिलिज गरिएको हो । मिलन चाम्सद्वारा निर्देशन गरिएको यस चलचित्रको ट्रेलरलाई हल रिलिजसँगै ओएसआर डिजिटल युट्युब च्यानलबाट बिहीबार रिलिज गरिएको छ । यसरी गोर्खा सैनिकले मलाया युद्धका क्रममा भोग्नुपरेका विभिन्न संघर्ष र पीडालाई २ मिनेट २२ सेकेन्डको ट्रेलरमा प्रस्तुत गरिएको छ । मलाया युद्ध कति कठिन थियो र सो युद्धमा गोर्खा सैनिकले कति संघर्ष गर्नुप¥यो भन्ने कुराको सारांश ट्रेलरमा देखाइएको छ ।
गोर्खा वारियरले हालै ‘ब्रिटिस एकेडेमी अफ फिल्म एन्ड टेलिभिजन आर्ट्स’ (बाफ्टा) अवार्डका लागि प्रवेश पाएपछि यसको चर्चा बढेको हो । पहिलोपटक बेलायतमा हालै ऐतिहासिक रेड कार्पेट प्रिमियर गरेपछि ‘गोर्खा वारियर’ले अन्तर्राष्ट्रिय जगत्मै चर्चा पाएको छ । चलचित्र नेपाली, हिन्दी, अंग्रेजी र कोरियन गरी चार भाषामा निर्माण भएको छ । यस चलचित्रको नेपाली संस्करण तयार भइसकेको छ भने हिन्दी, कोरियन र अंग्रेजी संस्करणको निर्माण पनि अन्तिम अवस्थामा पुगेको छ ।

यस चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, शिशिर बाङ्देल, कविता आले, रियर राई, बिरूप घले, सारा राईलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अभिनयमा बेलायतबाट डिप्लोमा गरेका यस चलचित्रका मुख्य अभिनेता रितेश चाम्सले गोर्खा वारियरबाटै चलचित्र अभिनयमा डेब्यु गरेका हुन् ।
गोर्खा वारियरमा निर्देशक मिलन चाम्स र गिरिराज घिमिरेको लेखन, सुदीप बरालको डीओपी, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादन, शैलेन्द्र खनाल ‘शरद’को गीत, एलिस कार्कीको संगीत, राजेशपायल राईको गायन, राजेन्द्र मोक्तानको रंग संयोजन रहेको छ । यस चलचित्रको हिन्दी भर्सनमा भारतीय गायक सानको स्वरमा गीत रहेको छ ।
कार्यक्रममा बोल्दै निर्देशक चाम्सले भने, ‘गोर्खालीलाई संसारले नै साहसिक भनेर चिन्ने गर्छन्, गोर्खालीहरू कति साहसिक छन् भन्ने कुरा चलचित्र हेरेपछि विश्वले थाहापाउनेछ ।’ उनले वीर गोर्खाली सैनिकले पहिलो र दोस्रो विश्वयुद्धमा गरेको युद्धको नभनिएका धेरै कथा पनि चलचित्रमा भएको बताए । जसमध्ये मलाया युद्धको एउटा कथालाई यस चलचित्रमा प्रस्तुत गरिएको उनले प्रस्ट पारे ।
यस चलचित्रबाट डेब्यु गरेका अभिनेता रितेश चाम्सले आफू गोर्खा सैनिक भएकाले पनि गोर्खा सैनिकको यथार्थ भूमिकामा काम गर्न आफूलाई केही सजिलो भएको उनले बताए ।
यस चलचित्रलाई नेपालमा श्री बेंकेटेस फिल्म्सका मनोज राठी र उज्ज्वल पौडेलले नेपालमा वितरण गर्दै छन् । चलचित्र लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको हो । गोर्खा वारियरको निर्मातामा सुमन राई, सुस्मिता वाइवा छन् । यसको कार्यकारी निर्मातामा प्रशान्त थापा, राजेन्द्र घिमिरे एवं सहनिर्मातामा सुरेश राई रहेका छन् ।