काठमाडौँ । आइसिसी यू-१९ विश्वकपअन्तर्गत आज नेपालले समूहको तेस्रो खेलमा अफगानिस्तानसँग खेल्दैछ। दक्षिण अफ्रिकाको इस्ट लन्डनमा हुने खेलमा अफगानिस्तानले टस जितेर ब्याटिङ रोजेको छ। नेपालले दुई ओभर बलिङ गर्दा दुई विकेट लिएको छ । ओपन बलर गुल्सन झाले नुमान साहको र आकाश चन्दले खालिद तानिवालको विकेट लिएका हुन् ।
नेपालले दुई परिवर्तन गरेको छ । दुर्गेश गुप्ता र उत्तर मगरको स्थानमा तिलक भण्डारी र दीपक बोहरा खेल्नेछन्। सुपर–६ मा पुग्नका लागि लागि दुवै टिमलाई जितको आवश्यकता छ।
यसअघि नेपाल र अफगानिस्तान दुवैले पाकिस्तान र न्युजिल्यान्डसँग हार बेहोरेका थिए । आइसिसीले समूहका शीर्ष तीन टिमलाई सुपर-६ खेलाउँदैछ। कुल १२ टिमले दुई समूहमा सुपर-६ खेल्नेछन्। दुवै समूहका शीर्ष २/२ टिमले सेमिफाइनल खेल्नेछन् । आइतबार न्युजिल्यान्डविरुद्ध ६४ रनले पराजित भएको नेपाल बुधबार पाकिस्तानसँग ५ विकेटले हार्यो।
नेपालका ओपनिङ ब्याटर विपिन रावलले अफगानिस्तानसँगको खेललाई लिएर आफूहरू सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । नेपालले दुई महिनाअघि अफगानिस्तानसँग एसिया कपमा प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल पराजित भएको थियो। न्युजिल्यान्डविरुद्ध ९१ रन जोडे पनि उत्कृष्ट बलिङ गर्दै अफगानिस्तानले न्युजिल्यान्डको ९ विकेट लिएको थियो।