काठमाडौं अभिनेत्री सुरक्षा पन्त सहित सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोसनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउतको अभिनय रहेको नाटक ‘क्लेशाः’ भारतको एउटा महोत्सबमा प्रदर्शन हुने भएको छ । यही नाटकबाट अभिनेत्री सुरक्षा पन्तले नाटक अभिनयमा डेब्यु गरेकी हुन् ।
यो नाटक २३ औं भारत रंग महोत्सवमा छनौट भएको हो । विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक ‘भारत रङ्ग महोत्सव’मा यसपटक नेपालको यो एउटा नाटक मात्र छनौटमा भएको हो । प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनको नाटक ‘क्लेशाः’ २३ औं भारत रङ्ग महोत्समा आउँदो १७ र १९ फ्रेब्रुअरीमा मञ्चन हुँदैछ । महोत्सव अन्तर्गत नेपाली नाटक ‘क्लेशाः’को नयाँ दिल्ली र रामनगरमा गरी दुई मञ्चन हुनेछ ।
फेब्रुअरी १ देखि २६ सम्म हुने महोत्सवमा यसवर्ष भारतको ५९ वटा नाटक, रुसको एक नाटक र २ लोकनाटक मञ्चन हुँदैछ । यस नाटक भारत रङ्ग महोत्सवमा सन् २०२२ को लागि छानिएको थियो । तर कोभिडका कारण त्यस समय महोत्सव हुन सकेन । यसपटक भारत रङ्ग महोत्सवले पुनः आमन्त्रण गरेको हो ।
भारतको नाट्य प्रज्ञा प्रतिष्ठानको मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रुपमा भारत रङ्ग महोत्सवक आयोजना गर्दै आएको छ । यो महोत्सब हरेक वर्ष फेब्रुअरी १ देखि हुने गर्दछ ।
नाटक ‘क्लेशाः’ विजया कार्कीको रँगमञ्चमा डेब्यु निर्देशन हो । यसपटक भारत रंग महोत्सवमा नेपालबाट नयाँ पुस्ताका युवा निर्देशकको डेब्यु नाटकले नै प्रतिनिधित्व गर्न लागेको हो । यस अघि सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदी लगायत एनएसडीबाट प्रशिक्षित नेपाली रंगकर्मीहरुलगायत अन्य रङ्गकर्मीहरुले धेरैपटक यो महोत्सबमा आफ्ना नाटकहरु प्रस्तुत गरिसकेका थिए ।
यो नाटकलाई भारतको महोत्सबमा प्रदर्शन गर्नु अघि नेपालमा पनि मञ्चन गरिने यसका निर्देशकले बताएका छन् । करमन कला समूहको प्रस्तुति रहेको नाटकको प्राविधिक टिममा रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रुपक खरेल र केदार श्रेष्ठ छन् । ‘क्लेशाः’ टोली अहिले नाटकको नियमित अभ्यासमा छ ।