काठमाडौं । नेपाली चलचित्र भूठान (द वल्र्ड ह्यापियस्ट म्यान) को अमेरिकामा छायाँकन सम्पन्न भएको छ । यस अघिको सफल चलचित्र वुलवुलका निर्देशक विनोद पौडेलले यो चलचित्र निर्देशन गरेका हुन् । यो चलचित्रलाई हलिउडमा आफुहरुले द वल्र्ड ह्यापियस्ट म्यान नाममा रिलिज गर्ने निर्देशक पौडेलले बताएका छन् ।
यो चलचित्रको लागि नेपालबाट हरिवंश आचार्य, दयाहाङ्ग राई, बिमल सुवेदी छायाँकनका लागि अमेरिका पुगेका थिए । यस्तै भारत बाट अनुराधा मजुमदार तथा अमेरिका बाट हलिउडका विश्वविख्यात अभिनेता बू्रश डनलगायतका कलाकारले यो फिल्ममा अभिनय गरेका छन् । यो चलचित्रमा अमेरिकाबाट जायस पाण्डे, पुजा चन्द लामा, रिचा घिमिरे, भुवन प्याकुरेल, अदिति प्याकुरेल, कौशिला खनाल कर्मचार्यलगायतले पनि अभिनय गरेका छन् ।
अमेरिकामा बसेर पाँच वर्षको तयारी पछि आफुले यो फिल्म निर्देशन निर्माण गर्न सफल भएको यसका निर्देशक बिनोद पौडेलले बताएका छन्,‘यो नेपालको लागि पहिलो यूनियन (स्याग) चलचित्र हुनेछ । यसमा बु्रश डन मात्र नभएर हलिउडकै प्रख्यात प्राविधिकहरु पनि जोडिएका छन्, जसले गर्दा यस चलचित्रको प्रविधिक पक्ष अत्यन्तैै सबल रहेको छ ।’ पौडेलले भने,‘यो चलचित्र मार्फत हामी विश्वबजारमा आफ्नो पहुंच बनाउने कुरामा विश्वस्त छौं जुन सम्पूण नेपाल र नेपालीको गर्वको कुरा हो ।’
म्याड मंकी फिल्मस्ले निर्माण गरेको यस चलचित्रमा, हलिउडकै भ्याकेन्ट लाइट, एभरेष्ट इन्टरटेनमेन्ट, ठकुराठी ब्रोस र नेपालबाट अवेकन प्रोडक्सन जस्ता कंपनिको सहकार्य रहेको छ । यसका कार्यकारी निर्माताहरु कौशिला खनाल कर्मचार्य, एल.एन अधिकारी, अपार श्रेष्ठ, रमेश भट्ट छन् भने निर्माताहरुमा राजेन्द्र ठकुराठी, अभिताव जोशी र अविरल थापा रहेका छन् ।