राजविराज । चोरी सिकारी गरी २ वटा हरिण मारेको आरोपमा प्रहरीले एक जनालाई शुक्रवार हतियार सहित पक्राउ गरेको छ ।
हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित २२५ नम्बरको कोशी बाँध क्षेत्रबाट विहान ३ बजेतीर चोरी सिकारीमा संलग्न राजविराज नगरपालिका ५ निवासी ४६ वर्षीय शैलेश कुमार झालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्र्रवक्ता डिएसपी ढुण्डीराज नेउपानेका अनुसार त्यस क्षेत्रमा चोरी सिकारी भईरहेको गोप्य सुचनाका आधारमा इलाका प्रहरी कार्यालय हनुमाननगरबाट खटेको टोलीले झालाई चोरी सिकारी गरी मारेको २ वटा हरिणको अखेटोपहार ९ताजा मासु० तथा १ थान २२ बोर मेगनम राईफल र सोमा प्रयोग हुने ४१ राउण्ड गोली सहित पक्राउ गरेको छ ।
झाको साथबाट जंगली जनावरको शिकार गर्न प्रयोग गरिने लाईट १ म्यागजिन २, गनस्टेन १ र क्यामेरा १ थान समेत बरामद गरिएको उनले जानकारी दिए ।
झाले हरिणको शिकार गरेपछि २ वटा बोरामा काटेर राखेको ३५ केजी मासु पनि बरामद भएको उनले बताए । झालाई शुक्रवार नै बरामद समान सहित थप कारवाहीका लागी डिभिजन बन कार्यालय सप्तरीलाई बुझाइएको डिएसपी नेउपानेले जानकारी दिए ।
डिभिजन बन कार्यालय सप्तरीका प्रमुख हेमन्त साहले हरिणलाई चोरी सिकारीले मारेको देखिएकाले झा माथी बन ऐन २०७६ अनुसारको कारवाही प्रक्रिया अघि बढ्ने बताए । उक्त हरिण कोशी टप्पु वन्यजन्तु आरक्ष क्षेत्रबाट चरणका क्रममा कोशी बाँध तिर पुगेको अनुमान गरिएको छ ।