दक्षिणी प्रशान्त महासागरमा पर्छ, सोलोमन आइल्यान्ड † यो पपुआ न्युगिनीको पूर्वीभागमा पर्छ । यो द्विपसमूहमा मूलतः आदिवासी बसोबास गर्छन् । उनीहरूको आफ्नै वेशभूषा, मूल्यमान्यता र परम्परा छ । बाहिरका मानिसले अविकसित भने पनि उनीहरू आफ्नो पहिचानको निकै खातिरदारी गर्छन् ।
यस आइल्यान्डका मानिस प्रकृतिको पूजा गर्छन् । नदीनाला, वनजंगल, वायु, ज्वालामुखी, चट्याङ, समुद्री आँधी, जलचर, थलचर सबै प्राणी पुज्य छन्, उनीहरूका लागि । उनीहरू वनस्पतिको धुमधाम पूजाआराधना गर्छन् । प्रायः संसारभरका आदिवासी प्रकृतिपुजक नै हुन्छन् ।
सोलोमनवासीका परम्परा संसारका अरू आदिवासीसँग मेल खान्छ । तर, एउटा कुरा निकै आनौठो छ । त्यो हो, सोलोमनवासी रूख तथा वनस्पतिलाई श्राप दिएर सुकाउने गर्छन् । यो प्रचलन निकै पुरानो प्रचलनको निरन्तरता हो । यहाँका बासिन्दा हरियो वा जीवित रूख काट्दैनन् ।
जीव वैज्ञानिकले समेत निरन्तर श्राप र गालीपछि बिरुवा सुक्न र मर्न सम्भव छ भनी स्वीकार गरेका छन्
जुन रूख वा जंगल उनीहरूलाई आवश्यकता परेको छ, त्यसलाई सुकाउन उनीहरूले गाली गर्ने र श्राप दिने गर्छन् । यस बेलामा स्थानीय बासिन्दा रूखको वरिपरि सामूहिक रूपमा जम्मा भएर ती रूख र बिरुवालाई केही दिनसम्म निरन्तर गाली गरिरहन्छन् । यो एक उत्सवजस्तै हुन्छ । हरेक दिन मानिस जम्मा हुने र गाली दिने गरेपछि केही सातापछि ती रूख र बिरुवा सुकेर मर्छन् ।
सुकेका बिरुवा र रूख आआफ्नो कार्य साधनाका लागि ती आदिवासीले काट्छन् र प्रयोगमा ल्याउँछन् । यो उनीहरूको दैनिकीजस्तै हुने गरेको छ । यस आइल्यान्डबाहेक अन्यत्रका मानिस यस परम्परालाई आश्चर्यका रूपमा लिन्छन् । तर, सोलोमनवासीका लागि यो नौलो कुरा होइन ।
मनोविद् यस तरिकाले रूख सुक्ने कुरा स्वीकार गर्छन् । जीव वैज्ञानिकसमेत यसलाई स्वीकार गर्छन् र भन्छन्, निरन्तर श्राप र गालीपछि ‘बिरुवा सुक्न र मर्न सम्भव छ ।’ जीवकोष वैज्ञानिक ब्रुस लिप्टन ‘द बायोलोजी अफ विलिफ’ यस कार्यको असर स्वीकार गर्छन् । उनी भन्छन्, ‘आफ्नो प्रियपात्रले आफूलाई गरेको अपमानका कारण जीवन परित्याग गर्ने अवस्थामा पुग्ने गरेको’ उदाहरण हामीले भोगेकै छौं ।
मनोविद् सिग्मन्ड फ्रायडको अवचेतन र अचेतन मनोविज्ञानको उदाहरण दिँदै लिप्टन भन्छन्, मानिस, अन्य प्राणी र बिरुवामा हुने ‘अवचेतन’ र ‘अचेतन’ मन ‘सचेतन’ मनभन्दा करोडौं गुणा शक्तिशाली हुन्छ ।
मानिसमा रहेको विश्वासको पछाडि सचेतन मनको १० प्रतिशत भूमिका हुन्छ भने अवचेतन र अचेतन मनको भूमिका ९० प्रतिशत हुन्छ । सचेतन मन ‘मूल’ वा ‘नदी’ हो भने अवचेतन र अचेतन मन पृथ्वीको ‘अथाह समुद्र’जस्तै हो ।
सचेतन मनले जेसुकै भनोस् तर अचेतन मनले मानिसलाई बिगार्ने र सपार्ने दुवै काम गर्छ । जीवकोषविज्ञ लिप्टनको भनाइमा सोलोमनवासीले दिनहुँ सामूहिक रूपमा जम्मा भएर दिएको श्राप त्यो बिरुवा वा रूखले क्रमशः ग्रहण गर्न थाल्छन् ।
सजीव भएको हुनाले ‘बिरुवामा पनि जीवमा झैं भावना र अनुभूति हुन्छ ।’ नकारात्मक कुराले नकारात्मक मनोविज्ञान पैदा गर्छ । यसबाट बिरुवाभित्र हानीकारक अणु वा कोषिका निर्माण हुनगई बिरुवाको जीवन समाप्त पारिदिन्छ ।
२ हजार ५ सय वर्षअघि गौतमबुद्धले ‘तिमीले जस्तो सोच्छौं, तिमी त्यस्तै हुन्छौ’ भनेको साँचो हो । बुद्धको जीवन दर्शन मजाकको कुरा होइन । यो क्वान्टम थियोरीले पनि पुष्टि गरेको कुरा हो । यो आणविक जीवविज्ञानले पुष्टि गरेको तथ्य पनि हो ।
आफ्ना बाबुआमाले आफ्ना छोराछोरीलाई जे हुन् भनिरहेका हुन्छन्, छोराछोरी त्यही नै बन्छन् । छोराछोरीलाई गाली गरिहरह्यो भने उनीहरू विकृत मानसिकताका हुन्छन् । कसैले त जीवन नै समाप्त गरिदिन्छन् ।