काठमाडौं । कोरोना संक्रमणको त्रासले विश्व नै आक्रान्त छ । सो सन्त्रासबाट नेपालसमेत अछुतो छैन । पूरै देश ‘लकडाउन’ छ । बिहान–बेलुका ज्यालादारी गरेर दैनिकी गुजार्नेहरू भने यो अवधिमा परिवार कसरी धान्ने पन्ने पिरलोमा छन् ।
यस्तैमध्येका एक हुन्, धनकुटाबाट काठमाडौं आएर परिवार धान्न ‘पेन्टर’ को काम गर्दै आइरहेका ४४ वर्षीय विजय श्रेष्ठ । मुलुक ‘लकडाउन’ भएदेखि उनले पहिले गर्दै आइरहेको ‘पेन्टिङ’ गर्ने काम रोकिएको छ । त्यसयता उनको दैनिकी पशुपति आर्यघाटमा शव सुताउने ‘खट बुन्ने’ काममा बित्दै आइरहेको छ । ‘पहिले पेन्टरको काम गर्थें, लक डाउन भएपछि काम रोकियो, अहिले साथीले भनेर उसकै सहयोगमा खट बुन्ने काम गर्न थालें,’ श्रेष्ठले भने ।
एक छोरा, एक छोरी र श्रीमतीसहित चार जना परिवार पाल्ने जिम्मेवारी काँधमा बोकेका उनी ‘लकडाउन’ सुरु भएदेखि बिहान खाना खाएर आर्यघाटको बाग्मतीपारि ‘खट’ बनाउन् पुग्छन् । उनले दैनिक ३ देखि ४ वटा खट बुन्ने गरेका छन् ।
‘दैनिक ज्यालामा काम गर्छु, यति तलब भन्ने त छैन, जति खट बनाएँ, त्यति पैसा आउँछ, दैनिक ३ देखि ४ वटासम्म बनाउँछु,’ उनले भने । उनको अगाडि बाँसको थुप्रो छ । उनी चुपी हातमा लिएर विभिन्न आकारमा बाँस टुक्राउँदै छन् ।
‘गुह्येश्वरीमा कोठा छ, परिवारलाई रङ लाउने काम गर्छु भन्ने मात्र थाहा छ, शव सुताउने खट बनाउन आएको छु भनेर भनेको छैन,’ उनले थपे । दैनिक आम्दानी कति हुन्छ ३-४ वटा खट बनाउँदा भन्ने प्रश्नमा उनी अन्कनाउँदै जवाफ दिन्छन्, ‘यसमा पनि ठेक्का हुने रहेछ, म त बनाउने मात्रै हो, त्यति धेरै कमाइ हुँदैन । सात–आठ सय कमाउँछु, बिहान–बेलुका खानलाई जेनतेन पुग्छ ।’
सडकभरि छरिएर रहेका प्रहरी छल्दै आर्यघाट आउँदा पनि सकस परेको उनी सुनाउँछन्, ‘यहाँ आउन पनि गाह्रो छ, अहिले त, बाटोमा पुलिस हुन्छन्, लुकीलुकी आउँछु, देखे भने आउन पाइँदैन, जताबाट आएको उतै फर्काइदिन्छन् ।’
गुह्येश्वरी बसोबास भएका उनको आर्यघाटसँग नजिकै बस्दाको अनुभव पनि सुनाए । ‘वास्तवमै यो बेला मुलुक मात्रै सुनसान छैन, आर्यघाट पनि सुनसान छ, मर्दाका मलामी पनि पहिले जति आउँदैनन् ।’
सरकारले सभा, सम्मेलन तथा भीडभाड नगर्न आह्वान गरेको १ महिना नाघेको छ । यस बेला सभा, सम्मेलन तथा सेमिनार मात्र होइन, धार्मिक तथा अन्य सामाजिक कार्यहरू पनि रोकिएका छन् ।
आर्यघाटमा मलामी जानसमेत संख्या तोकिएको छ । यो बेला सरकारले दैनिक ज्यालादारी गर्ने विपन्न तथा गरिबहरूका लागि घोषणा गरेको राहत प्याकेज कहाँ छ ? लास जलाउन चिता तयार गर्नेले परिवार धान्न ठेकेदारबाट त्यही खट तयार गरकै पैसा कुनुपर्ने हो ?