परिवेशअनुरूपको संस्कार

‘केटा हो, छिटो आऊ ! सुनको गहना लगाएको मानिस आएको छ । छिटो आऊ र लुट, उसको घोडा पनि छ !’ मान्छेको जस्तो स्वर सुनेपछि जंगलमा सिकार गर्दैगर्दा थकाइ मेट्न भुइँमा बसेका राजाले आवाज आइरहेको रूखको टुप्पातिर हेरे । त्यहाँ एउटा ठूलो चरा गुफा रहेको ओढारतिर फर्केर कराइरहेको थियो ।

यस्तो आवाज सुन्ने बित्तिकै राजा हत्त न पत्त घोडामाथि चढे । त्यसैबेलामा ओढारबाट ‘हाहा … हुहू …’ गरेको आवाज आयो । घना जंगलभित्र रहेको त्यस ओढारमा लुटेराको समूह बस्थे । त्यहीँबाट एक जना लुटेरा हातमा नांगो तरबार लिएर राजातिर जाइलाग्दै थियो ।

घोडामाथि चढेर टाप ठोक्नै लागेका राजालाई ‘तँ सक्छस् भने मसँग लडेर देखा !’ भनेर उसले हाँक दियो । शुरवीर राजाले हाँक स्वीकार गरे र देब्रे हातमा धनुष लिएर दाहिने हातले तीर समाए । आफूलाई धनुष ताकेको देखेर लुटेरा आफ्ना साथी बोलाउन ओढारतिर कुद्यो ।

क्षणभरमै ओढारबाट कमिलाको ताँतीझैं लुटेराको लावालश्कर राजा भएतिर दौडदै आए । राजाले यति ठूलो बथानसँग लड्नु श्रेयष्कर ठानेनन् । उनले घोडा कुदाए । लुटेराहरूले उनलाई भेट्न सकेनन् ।

थकित अवस्थामा रहेका राजा पारितिरको घनघोर जंगल काटिसकेपछि योगीको कुटीनेर पुगे । विश्राम गर्ने मनसायले एउटा ठूलो रूखमुनि आड लागेर घोडा उभ्याए । साह्रै थकित भएकाले घोडाबाट ओर्लिएर भुइँमा थचक्क बसे । त्यति नै बेला फेरि पनि मानिसको आवाजझैं सुरिलो आवाज आयो, ‘तपाईंलाई स्वागत छ, यहाँ निस्चिन्त विश्राम गर्नुहोस् ।’

राजाले माथितिर हेर्दा एउटा चरो रूखको हाँगामा बसेर बोलिरहेको देखे । उनी छक्क परे । उस्तै चरोले अर्को वनमा उनलाई लुट्न लुटेराहरू बोलाएको थियो, तर यस वनमा भने उनलाई उल्टै स्वागत गरिरहेको छ ।

आफू सुरक्षित भएको महसुस गरेका राजाले चरालाई सोधे, ‘अर्को वनमा तिमीजस्तै चराले मलाई लुट्नका लागि लुटेरा बोलाएको थियो, रूप, रङ र आकार प्रकारमा उस्तै छौ, तर तिमीले मलाई यहाँ अतिथि बनाएर स्वागत ग¥यौ, किन हो ?’

‘हो, हामी दुई भाइ हौं ।’ उसले त्यसै गर्छ । म भने यसै गर्छु । त्यो मसँग बोल्न पनि चाहँदैन । यति कुरा गर्दैगर्दा योगी आइपुगे । योगीले राजालाई स्वागत गर्दै कुटीभित्र लगे । त्यसैबेला राजाले सोधे, ‘योगी महाराज ! यस चराले मलाई स्वागत ग¥यो । यस्तै अर्को चराले मलाई पारितिरको घनघोर जंगलमा लुटेरा लगाएर लुट्नका लागि बोलाइरह्यो ।’

योगीले भने, ‘यो सबै संगतगुनाको फल हो, यो चरा मसँग बस्छ, मेरो संगतले शान्ति र मानव हितका कुरा गर्छ, त्यो चाहिँ लुटेराहरूसँग बस्छ, लुटेराको संगतले गर्दा उसले लुट्ने, खोस्ने र खाने कुरा मात्र गर्छ, यो सबै परिवेशले सिकाएको संस्कार हो ।’

त्यसपछि राजा शान्त भए । योगी तप ध्यानमा व्यस्त रहे ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेल्धुरामा माओवादीले परशुराम र एमालेले आलिताल बाट खोल्यो खाता