हस्तकला उद्योग प्रवर्द्धनका उपाय

नेपालको हस्तकला उद्योगका वस्तुहरू विश्वभर प्रसिद्ध छन् । हाल हाम्रो मुलुकबाट झन्डै ७० किसिमका हस्तकलासम्बन्धी उत्पादनहरू विभिन्न मुलुकमा निर्यात गरिन्छ । वस्तुतः सन् १९७२ देखि सन् २०८५ सम्म नेपाली हस्तकला उद्योगका सामानहरू प्रचुर मात्रामा निर्यात गरिन्थ्यो । परन्तु, सन् २००५ पछि मुलुकभर फैलिएको महामारी, नाकाबन्दी आदि कारणले हस्तकला उद्योग फस्टाउन सकेनन् ।

जुनसुकै उद्योगको विकासका लागि गुणस्तरीय कच्चा पदार्थले महत्वपूर्ण भूमिका खेल्छ । तर, गुणस्तरयुक्त कच्चा पदार्थको कमीले गर्दा नेपाली हस्तकलाका उत्पादन मागअनुरूप अभिवृद्धि गर्न सकिएको छैन । उदाहरणका लागि विश्व बजारमा नेपाली पश्मिनाको धेरै माग छ । तर, यसका लागि आवश्यक कच्चा पदार्थको बेलाबेलामा अभाव हुनाले मागनुसार उत्पादन गर्न सकिएको छैन । यति मात्र नभई वनजन्य कच्चा पदार्थको ढुवानी, ओसारपसार आदिमा स्थानीय संकाय, समुदाय, प्रहरी आदिबाट बारम्बार गरिने अवरोधले यहाँको हस्तकला उद्योग प्रवद्र्धनमा नकारात्मक प्रभाव परेको छ । वास्तवमा मुलुकका हस्तकलाका वस्तु उत्पादन बिन्दुबाट सिधै उपभोक्ता बिन्दुसम्म पुग्न र सो वस्तुहरू उत्पादनका ’boutमा स्पष्ट प्रमाणित लिपिबद्ध लिखतहरू नहुनाले पनि हस्तकला उद्योगमा बाधा पुगेको छ ।

नेपालबाट निर्यात गरिने हस्तकलाका वस्तु उत्पादनका लागि सरकारले प्रोत्साहनका रूपमा दिँदै आएको रकम ज्यादै न्यून छ । तर, यसलाई बढाउन सरकारको ध्यान अझसम्म पनि आकृष्ट हुनसकेको छैन । त्यसैले, भविष्यमा यसका लागि सम्बन्धित निकायको थप प्रयासको आवश्यकता छ ।

आज विश्व प्रत्येक व्यापारका लागि ई–कमर्सतर्फ अग्रसर भइरहेको छ । किन्तु, नेपालमा हालसम्म पनि परम्परागत व्यापार गर्ने प्रणाली अपनाउनाले यहाँको हस्तकला उद्योगले खास गति लिन सकेको छैन । अतः भविष्यमा यसतर्फ आबद्ध हुन जरुरी छ । सरकारले मूल्य अभिवृद्धि ऐन, २०५२ जारी गरेसँगै मुलुकमा उत्पादित हस्तकलाका वस्तुलाई कर छुट दिने निधो गरेको थियो । यद्यपि, सो निधोलाई आजसम्म पनि पूर्ण रूपमा लागू गर्न नसक्नाले यहाँको हस्तकला प्रवद्र्धनमा खासै प्रभाव परेको छैन । भविष्यमा सो निधोलाई व्यवहारमा उतार्न आवश्यक छ ।

नेपाली हस्तकला उद्योगको विकासका लागि तालिमप्राप्त कालिगढ तथा कामदारहरूको आवश्यकता पर्छ । जुन नेपालमा अभाव भएकाले छिमेकी राष्ट्र भारतबाट बारम्बार झिकाउनुपर्ने अवस्था छ । मुलुकका युवालाई सो उद्योगमा आकृष्ट गर्न नसकिएकाले यस्तो अवस्था सिर्जना भएको हो । भविष्यमा उनीहरूलाई आकर्षित गर्ने कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ ।

नेपाली हस्तकला उद्योगको प्रवद्र्धन नेपालको निर्यात प्रवद्र्धनसँग अभिन्न रूपमा जोडिएको छ

वास्तवमा युवाहरूको सहभागिताबिना नेपाली हस्तकला उद्योगको ठोस विकास गर्न सम्भव छैन । उनीहरूलाई सो उद्योगमा आकर्षित गर्न नियमित रूपमा तालिम, गोष्ठी, कार्यशाला र प्रदर्शनीको आयोजना गर्नु आवश्यक छ । यसबाहेक हस्तकलासम्बन्धी चेतनामूलक वृत्तचित्र एवं श्रव्य–दृश्य सामग्रीहरू उत्पादन गरी व्यापक प्रचार–प्रसार गर्न पनि उत्तिकै जरुरी छ ।

वर्तमान शताब्दी प्रचार–प्रसारको युग हो । जसका माध्यमद्वारा यहाँका हस्तकलाका सामानको बिक्री वृद्धि भई अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नेछ । त्यसैले, भविष्यमा प्रचार प्रसारमा विशेष जोड दिनुपर्छ ।

नेपाली हस्तकला उद्योगको प्रवद्र्धनका लागि आगामी दिनहरूमा निर्यात प्रवद्र्धन गर्नु नितान्त आवश्यक छ । यसका लागि विगतमा यहाँको हस्तकला निर्यात गरिएका मुलुकका उपभोक्ताहरूको रोजाइनुसारका हस्तकलाका वस्तुहरूको उत्पादनमा विशेष जोड दिनुपर्छ । यसबाहेक नयाँ मुलुकहरूमा पनि सो वस्तुहरूको निर्यात गर्ने निरन्तर प्रयत्न गर्नुपर्छ ।

नेपाली हस्तकला उद्योगको विकासका लागि सम्बन्धित ऐन–नियमहरूले पनि महत्वपूर्ण भूमिका खेल्छन् । अतएव सो उद्योगसँग सम्बन्धित विद्यमान ऐन–नियम, उद्योग व्यवसायसम्बन्धी ऐन, वैदेशिक लगानीसम्बन्धी ऐन, प्रविधि हस्तान्तरणसम्बन्धी ऐन, आयकर ऐन, कम्पनी ऐन, विद्युतीय कारोबारसम्बन्धी ऐन, भन्सार ऐन, बिमा ऐन, विदेशी विनिमयसम्बन्धी ऐन आदिमा उल्लिखित कारोबारका प्रावधानबाट पर्नसक्ने असरहरूको विश्लेषण गरी संशोधनका लागि नेपाल हस्तकला उद्योग महासंघले सम्बन्धित क्षेत्रमा पहल गर्नु अत्यावश्यक छ । जसको फलस्वरूप भविष्यमा सो उद्योगको प्रवद्र्धनमा ठूलो सघाउ पुग्नेछ ।

नेपालको हस्तकला उद्योगको विकासका लागि विशेषतः नेपाल हस्तकला उद्योग महासंघ जिम्मेवार छ । वास्तवमा कुनै पनि संघसंस्थाको अस्तित्व तब मात्र सार्थक हुन्छ, जब त्यसले आफ्नो विकासका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका सम्बन्धित पक्ष तथा व्यक्तिहरूसँग सम्पर्क गरी आफ्ना काम गर्न गराउन सफल हुन्छ । तर, सो महासंघद्वारा मुलुकका समग्र हस्तकला उद्योगका लागि हालसम्म पनि कुनै उल्लेखनीय कार्य हुनसकेको छैन । त्यसैले, भविष्यमा यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।

हस्तकला उद्योग स्थापना गर्नसकेमा केही युवाका लागि स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिन्छ

नेपालको हस्तकला उद्योगको विकासका लागि सही तथ्यांकको ज्यादै आवश्यक छ । जसका लागि हस्तकला निर्माता, स्थानीय विक्रेता र निर्यातकर्ताहरूका बीचमा सक्रिय समन्वयको जरुरी छ । यसका लागि सो महासंघले भविष्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नुपर्छ ।

नेपालमा हस्तकला उद्योगको ठोस विकास गर्न विद्यमान समस्याहरूको पहिचान गरी समाधान गर्नु आवश्यक छ । यसका लागि नेपाल हस्तकला उद्योग महासंघ र सम्बन्धित निकायहरूको सक्रिय सहयोगको खाँचो छ ।

वित्तीय पहुँच पुग्न नसकेको हस्तकला उद्योगबाट आर्थिक वर्ष २०७९–०८० मा झन्डै २५ अर्ब रुपैयाँको कारोबार भई १२ अर्ब रुपैयाँबराबरका हस्तकलाका सामानहरू निर्यात गरिएको कुरा एक आधिकारिक तथ्यांकले पुष्टि गरेको छ । सो तथ्यांकले नेपाली हस्तकलाका वस्तुहरूले यहाँको निर्यात व्यापार वृद्धि गरी व्यापार घाटा कम गर्न सघाउ पु¥याउने कुरा इंगित गर्छ ।

केही वर्षयता मुलुकमा हस्तकला उद्योग विस्तारित हुँदै गए पनि यसको समसामयिक प्रवद्र्धन गर्न नितान्त आवश्यक छ । यसबाहेक भविष्यमा नेपाल सरकारको नेपाल एकीकृत व्यापार रणनीति (एनटीआईएस) कार्यक्रममा समावेश गरिएका हस्तकलाका वस्तुहरूको प्रचारप्रसार गरी निर्यात व्यापार प्रवद्र्धन गर्न जरुरी छ । यसका लागि बेलाबेलामा स्वदेश तथा विदेशमा हस्तकलासम्बन्धी मेला तथा प्रदर्शनी सञ्चालन गर्न जरुरी छ ।

नेपाली हस्तकला उद्योगको प्रवद्र्धनका लागि हाल बाग्मती प्रदेशमा मात्र केन्द्रित सो उद्योग आगामी दिनहरूमा अन्य प्रदेशहरूमा पनि स्थापना गर्नु आवश्यक छ । जसका लागि उपयुक्त ठाउँहरूको छनोट गर्नुपर्छ ।

नेपालमा बेरोजगारीको समस्या दिन प्रतिदिन तीव्र रूपले बढिरहेको छ । त्यसैले, प्रत्येक वर्ष मुलुकका युवा रोजगारीका लागि बिदेसिने क्रम निरन्तर रूपले बढिरहेको छ । यदि भविष्यमा उपयुक्त ठाउँहरूमा हस्तकला उद्योगहरू स्थापना गर्नसकेमा केही युवाका लागि मात्र भए पनि स्वदेशमै रोजगारीको व्यवस्था गर्न सकिने कुरा जगजाहेर छ, जुन कुरा सम्बन्धित पक्षले बुझ्नुपरेको छ ।

नेपाल एक अतिकम विकसित मुलुक भएकाले यहाँका केही क्षेत्रमा खासगरी दुर्गम क्षेत्रमा गरिबी व्याप्त छ । मुलुकको झन्डै २० प्रतिशत जनसंख्या गरिबीको रेखामुनि छन् । जसलाई अरू त के कुरा, बिहान बेलुकाको हातमुख जोड्ने समस्या समाधान गर्न पनि धौधौ पर्छ । तसर्थ, भविष्यमा यिनीहरूलाई हस्तकला उद्योगमा संलग्न गराउनसके मुलुकमा विद्यमान बेरोजगारी तथा गरिबी न्यूनीकरणमा सघाउ पुग्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी