किन रोइस् मंगले ? आफ्नै ढंगले !

मनाउनेले केही दिनअघि जनयुद्ध दिवस मनाए । माओवादी केन्द्रले त मनाउने नै भयो । सो अवसरमा माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चित्त दुखाइ, गुनासो र अपिल पनि सुनियो । माओवादीलाई चारैतिरबाट घेरामा पार्ने प्रयास भइरहेकामा उनको यथेष्ट चित्त दुखाइ झल्किन्थ्यो । झूठा प्रचार गरेर बदनाम गर्ने प्रयास भइरहेको भन्ने उनको गुनासो देखियो । माओवादीबाट छुट्टिएर टाढा भएका सबैलाई पुनः एकत्रित हुन उनले अपिल गर्दै गरेको पनि सुनियो । परिवर्तन अर्थात् वर्तमान गणतन्त्रात्मक व्यवस्थाका प्रमुख संवाहक आफूहरू भएको दाबी गर्न पछाडि पर्ने त कुरै भएन । राजतन्त्र निर्मूल भएर गणतन्त्र स्थापना भएकामा भरपूर जस उनलाई र उनको राजनीतिक समूहलाई दिनु पनि पर्छ । आफ्नो जमातलाई पुनः एकत्रित गर्न कोसिस गर्नुलाई पनि अन्यथा लिनुहुँदैन । तर, उनको चित्त दुखाइ र गुनासो सहानुभूति योग्य छ त ? थोरै सोच विचार गर्दा अर्घेलो नठाहरिएला ।

कुनैबेला मुलुकको ८० प्रतिशत भूभागलाई लगभग नियन्त्रण गरेको शक्तिलाई आजको दयनीय अवस्था बेहोर्नु पर्दा निराशा हुनु स्वाभाविक हो । सम्झौताबाट आतंकलाई अन्त्य गरेर खुला राजनीतिमा प्रवेश गरेको अवस्थामा पनि अकल्पनीय जनमत हासिल गरेको राजनीतिक दलका नेतालाई यस्तरी खुम्चिनु पर्दा र आफू निरीह भएको अनुभव हुँदा हताशा हुनु पनि अस्वाभाविक होइन । तर, यस्तो अवस्था किन आयो भनेर सोच्ने हो भने दोष सबै प्रचण्ड र उनको जमाततर्फ नै फर्किन्छ कि ?

पहिलो संविधानसभाको निर्वाचनमा माओवादीले अकल्पनीय परिणाम ल्याएकै हो । मतदाताले साँच्चिकै हृदयदेखि विश्वास गरेरै मत दिएका हुन् त ? त्यो परिणामका पछाडि थोरै विश्वास र आश नभएको होइन । कम्युनिस्ट पार्टीको सर्वोच्चतासहितको सर्वहारावर्गको अधिनायकत्व हुने सपना बेचिएको थियो, कथित जनयुद्धमा । त्यो कथित क्रान्तिले घोषित लक्ष हासिल हुन सम्भव नदेखिएपछि माओवादीले संसद्वादी समूहहरूसँग सम्झौता गर्न बाध्य भएको हो । त्यति हुँदाहुँदै पनि ‘बहुदल मान्छौं बहुलवाद मान्दैनौं’ भनेर मतपत्रकै बलमा जनवादी गणतन्त्र स्थापना गर्ने सपना बाँडियो । त्यस निर्वाचनमा माओवादीको पक्षमा देखिएको कुल मतको २० प्रतिशतको हाराहारीको मत यही भूलभुलैयामा फसेका जनयुद्धका योद्धा र तिनका निकटवर्तीहरूको थियो । अर्थात्, २० प्रतिशतजति मत कमजोर भए पनि आशको मत थियो ।

बाँकी ८० प्रतिशत मतचाहिँ निःसन्देह त्रासको मत थियो । माओवादी पुनः गाउँबस्तीमा आउला र अन्नबालीदेखि पशुधनसम्म लुट्ला भन्ने भयले निकै काम गरेको थियो । एकातिर विद्रोही र अर्कातिर सरकारी सुरक्षा संयन्त्रको दोहोरो मारमा परेर सामान्य र स्वाभाविक प्रतिरोध क्षमतासमेत गुमाइसकेका आमजनताको त्रासको अभिव्यक्ति थियो, त्यो मत । ८० वर्ष नाघेका वृद्ध पुरुषलाई खसी मार हानेजस्तै गरी टाउको छिनालेको दृश्य देखेका आमजनताले हतियारधारी समूहलाई नकार्न कसरी सक्थे र † हेक्का रहोस्, त्यसबेलासम्म माओवादीसँग हतियार बाँकी नै थियो र ‘विजयी कामरेड’हरूको सहर बजार र गाउँबस्तीमा चकचकी हदैको थियो । आममतदाताको कुरै छोडौं, ‘बाहुबली’ भनेर कहलिएका प्रतिपक्षी उम्मेदवारहरूसमेत निर्वाचन क्षेत्रमा अड्न नसकेर मैदान छोडेको अवस्था थियो । कथित जनयुद्धका सञ्चालकहरूको ज्यादतीको बेलीविस्तार लगाउने हो भने दुई–चार ठूला ग्रन्थ तयार हुनसक्छन् ।

आजको अवस्था के हो भने आमजनतालाई माओवादीबाट आश र त्रास दुवै हटिसकेको छ । माओवादीले सर्वहारावर्गको अधिनायकत्वसहितको व्यवस्था ल्याइदेला भन्ने आश अब कसैमा छैन । स्वयं हिजोको जनयुद्धका लडाकुहरूमा समेत त्यो आश छैन । वास्तवमा अधिकांश ती लडाकुहरू निराश भएर पलायन भइसकेका छन् । कोही अझै सक्रिय छन् भने तिनीहरूको आश नै रूपान्तरित भइसकेको छ । बचेखुचेका ती लडाकु र उनका परिवारमा शक्तिमा पुगेका माओवादी पार्टीबाट व्यक्तिगत लाभको आश छ । आमजनता र अधिकांश सक्रिय कार्यकर्तालाई माओवादीबाट कुनै आश छैन र भरोसा छैन । अहिले पाइरहेको मत र समर्थन अत्यन्तै सीमित कार्यकर्ताको निहित आश र स्वार्थबाट प्रेरित हो । त्रास त पटक्कै बाँकी छैन । माओवादीको म्यानभित्रको तरबार भुत्ते छ भनेर जनताले बुझिसकेका छन् । आश र त्रास हटेको यस अवस्थामा माओवादी पार्टी संकुचित हुनु अस्वाभाविक होइन ।

सैद्धान्तिक आधार र व्यावहारिक बल दुवै गुमाइसकेको शक्तिले उछिट्टिएका समूह जोडेर केही हासिल गर्नसक्ने अवस्था छैन । के पहिला त ती उछिट्टिएकाहरू जोडिन तयार होलान् ? जोडिइनै हालेको अवस्थामा पनि एकत्रित भएको माओवादीले त्यो आश ब्युँताउन सक्ला ? ब्युँताइहाल्यो भने कति जनसंख्यामा सम्भव होला ? यी प्रश्नको जवाफ अरू कसैले दिनुभन्दा स्वयं माओवादीको नेतृत्वले आफूले आफैंलाई दिँदा ठीक होला । के पुनः त्यस्तै त्रास पैदा गर्न सक्ला त ? त्यो हदसम्म त्रस्त हुने मानसिकताबाट जनता कति माथि उठिसके ? केही वर्षदेखिको जनताको व्यवहारले धेरै कुरो स्पष्ट हुन्छ । माओवादी केन्द्र र यसका नेताको रोइलोप्रति भन्नैपर्ने हुन्छ, किन रोइस् मंगले ? आफ्नै ढंगले !

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
इटहरीको मेयरमा कांग्रेसबाट १० जना आकांक्षी