कांग्रेसमा सनातन हिन्दु धर्मको आवाज किन चर्कंदै छ ?

काठमाडौं । दोस्रो संविधानसभाबाट ३० भदौ २०७२ मा पारित भएको नयाँ संविधान ३ असोजमा जारी हँुदा संविधानमा ‘धर्म निरपेक्ष’ राख्दा नेपाली कांग्रेसका तत्कालीन संविधानसभामा रहेका ६ सय १ सदस्यमध्ये २ सय ७ जनाले समर्थनमा हस्ताक्षर र ताली बजाएका थिए ।

सोही संविधानको विषयमा संविधानको प्रत्येक भाग, धारा र अनुसूचीमा बहस पनि भएको थियो । सबैमा समर्थन जनाएको कांग्रेसभित्र अहिले सनातन हिन्दु धर्मको आवाज बुलन्द रूपमा उठिरहेको छ ।

शुक्रबार नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा २२ जना केन्द्रीय सदस्यले सनातन हिन्दू राष्ट्र हुनुपर्नेमा आफ्नो एजेन्डासहित पूरक प्रस्ताव पेस गरे । शंकर भण्डारीको नेतृत्वमा भएको सो हस्ताक्षरसहितको पूरक प्रस्तावमा पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, प्रकाश रसाइली स्नेही, विद्या तिमल्सिना, गेहेन्द्र गिरी, रंगमती शाही, सीता देवकोटा, सीताकुमारी, दिलेन्द्रप्रसाद बडु, डा. डिला संग्रौला, शारदा पौडेल र अर्जनुबहादुर सिंहले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा चम्पादेवी खड्का, नागिना यादव, नृपबहादुर वड, सञ्जय गौतम, भीम पराजुली, दिनेश कोइराला र मुक्ताकुमारी यादव पनि छन् । प्रस्तावमा हस्ताक्षर गर्ने प्रदेश सभापतिहरूमा बाग्मतीका इन्द्रबहादुर बानियाँ र गण्डकीका शुक्रराज शर्मासमेत छन् ।

‘कांग्रेसजस्तो व्यापक जनाधार भएको प्रजातान्त्रिक पार्टीले नेपाली भूमिमा प्रादुर्भाव भएको बौद्ध एवं किरात धर्म, दर्शन, संस्कृतिसहित ९४ प्रतिशतभन्दा बढी वैदिक सनातन हिन्दु धर्म र संस्कृतिमा आस्था र विश्वास राख्ने जनताको भावनालाई पूरै उपेक्षा गरी राष्ट्रिय एकताका आधार, आपसी सद्भाव, सहिष्णुता, सहअस्तित्वको अभ्यासमा खलल पुग्नेगरी नेपाली कांग्रेस धर्म निरपेक्षताको पक्षमा उभिनु ठीक थिएन,’ उनीहरूले भनेका छन् ।

उनीहरूले वैदिक सनातन हिन्दु राष्ट्र कायम गर्न त्रिवेणी धाम र काठमाडौंमा भएको महासमिति बैठकका बहुमत महासमिति सदस्यले प्रस्ताव राखेको पनि नेतृत्वलाई सम्झाएका छन् । उनीहरूले ७ फागुनदेखि हुने महासमिति बैठकका लागि सो प्रस्ताव अगाडि सारेका हुन् ।

सनातन हिन्दु नेपाल स्थापना महाअभियानका संयोजक रहेका भण्डारीले आफ्नो कुरा राखेर सभापति शेरबहादुर देउवालाई पूरक प्रस्ताव बुझाएका हुन् । भण्डारीसहित २२ केन्द्रीय सदस्यले बुझाएको प्रस्ताव सभापति देउवाले चुपचाप बुझेका छन् ।

यसमा देउवाले मौन समर्थन गरेको देखिन्छ । कांग्रेस बैठकमा धर्म निरपेक्ष खारेज हुनुपर्छ भनेर यसपटक मात्रै होइन यसअघि पनि आवाज उठ्दै आएको हो । तर, यसपटक भने आउँदो महासमिति बैठकमा पेस हुनेगरी बहुमत पु¥याएर कांग्रेस सनातन हिन्दू धर्मको पक्षमा छ भन्ने बलियो मत पु¥याउन भण्डारी नेतृत्वको टोली लागेको छ । जसलाई कांग्रेसका शीर्ष नेताहरूले मौन समर्थन गरेको देखिन्छ ।

महासमिति बैठकमा सनातन हिन्दू धर्मको विषय बलियो गरेर उठाउन शनिबार नयाँ बानेश्वरको बानेश्वर ब्यांक्वटेमा हिन्दु राष्ट्रको पक्षमा महाअभियान कार्यक्रम सम्पन्न भयो । ब्यानरको माथि ॐ लेखेर कांग्रेस हिन्दु धर्मको महाअभियानमा छ भन्ने भान गराइएको थियो । ब्यांक्वेटभित्रको खचाखच भिडमा हिन्दु धर्मको वकालत गर्नेमा हिन्दु मात्रै नभई बौद्ध धर्म मान्नेहरूको पनि उल्लेख्य सहभागिता देखिन्थ्यो ।

बानेश्वर ब्यांक्वेटको उद्घोष आज आइतबारबाट हुन लागेको महासमिति बैठकमा आफ्नो मत बलियो बनाउन भएको हो । संयोजक भण्डारी अब नेपालमा सनातन हिन्दु राष्ट्रको उद्घोष गर्नेबेला आइसकेको बताउँछन् । त्यसका लागि संविधान संशोधन गर्न कांग्रेसले आफ्नो पहलकदमी थाल्ने उनको भनाइ छ । आगामी महासमिति बैठक (नीति अधिवेशन)मार्फत ‘धर्म निरपेक्षता’लाई छोडेर कांग्रेसले ‘हिन्दु राष्ट्र’को मुद्दा औपचारिक रूपमै अँगाल्नुपर्ने भन्दै कतिपय नेताहरू जोडतोडका साथ लागिपरेका छन् ।

पूर्वगृहमन्त्री एवं कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधनपछि कांग्रेसमा सुस्ताएको हिन्दू राष्ट्र फर्काउने अभियान अहिले जोडतोडका साथ उठेको छ । नेपालको अन्तरिम संविधान २०६३ देखि तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालादेखि सुशील कोइरालासम्म खड्काले हिन्दु राष्ट्रको आवाजलाई जोडतोडका साथ उठाए । उनको मागको सम्बोधन कसैले गरेनन् । हिन्दु धर्मको विषयमा यसअघि कांंग्रेस नेता खड्काले पार्टी बैठकको माइन्युटमा आफ्नो राय राखे पनि यसपटक भने कांग्रेसका ३० प्रतिशत बढी केन्द्रीय सदस्यले एकै साथ सनातन हिन्दु धर्मको आवाज उठाइरहेका छन् ।

शुक्रबार पेस भएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक प्रतिवेदनमा हिन्दु धर्मको विषय समावेश नभएपछि पूरक प्रस्तावका रूपमा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको नेतृत्वमा सनातन हिन्दु राष्ट्रको प्रस्ताव पेस भएको हो । सनातन हिन्दु राष्ट्रको विषयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले प्रस्ट रूपमा आफ््नो आवाज नराखे पनि घुमाउरो रूपमा हिन्दु राष्ट्र हुनुपर्ने पक्षमा उनी पनि छन् ।

राजधानीसँग शुक्रबारको कुराकानीमा उनले धर्म निरपेक्ष राख्न नहुने बरु धार्मिक स्वतन्त्र हुनुपर्ने विचार राखेका थिए । साथै केसीले गोलमेच सम्मेलन र आवश्यक परे जनमत संग्रह पनि गर्न कांग्रेस तयार हुनुपर्ने तर्क राखेका थिए । कुन विषयमा जनमत संग्रह भन्ने कुरा चाँहि उनले खुलाएनन् ।

नेता केसी मात्रै होइन यसअघि गत ११ मंसिरमा पूर्वी नवलपरासीको जिल्ला सम्मेलनमा कांग्रेस सभापति शेरबहादुर देउवाले हिन्दु धर्मको विषयमा पार्टीभित्र छलफल गर्न सकिने प्रस्ट रूपमा राखेका थिए । ‘राजाको विषयमा त कुरै नउठाऔं, बरु धर्म निरपक्षेताको विषयमा सोच्न सकिन्छ,’ देउवाले सो सम्मेलनमा भनेका थिए ।

कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले भने हिन्दु धर्मको विषयमा पहिलादेखि नै जनमत संग्रहको वकालत गर्दै आइरहेका छन् । पछिल्लो समय देउवाको पनि मौन समर्थन देखिँदा कांग्रेस पार्टीभित्र सनातन हिन्दु धर्मको विषय अझै बलियो बन्दै गइरहेको कांग्रेस नेताहरू बताउँछन् ।

कांग्रेसमा हिन्दु राष्ट्रको आवाज नेपालमा २०७२ सालको संविधान जारी हुनुअघिदेखि नै भएको हो । अन्तरिम संविधान २०६३ मा धर्म निरपेक्ष लेखिएसँगै कांग्रेसभित्र यो विषय पार्टीभित्र उठ्यो । २०६९ सालमा नवलपरासीमा चैत २६ देखि २९ सम्म भएको पार्टीको महासमिति बैठकमा हस्ताक्षर संकलन नै भयो । तर, सो विषयले मूर्तरूप पाउन सकेन । २०७२ सालको संविधान जारी हुँदा सुशील कोइरालाको नेतृत्वमा सरकार थियो भने संविधानको मस्यौदाकारमध्ये एक थिए कृष्णप्रसाद सिटौला ।

साथै राष्ट्रपति रामवरण यादव पनि कांग्रेस पृष्ठभूमिकै थिए । तर, कांग्रेसले हिन्दु धर्मको विषय संविधानमा उल्लेख गर्न सकेन । अहिले पछिल्लो समय कांग्रेसमा सनातन हिन्दु धर्मको आवाज बलियो गरेर उठ्नुमा कतिपय विश्लेषक दक्षिण भारतमा बलियो बनिरहेको भारतीय जनता पार्टी (भाजपा)ले हिन्दु एजेन्डालाई बलियो गरेर बोकेर हिँड्दा त्यसको प्रभाव नेपालको पार्टीमा पनि परेका बताउने गर्छन् । भारतमा राम मन्दिरको स्थापनापछि यो विषय अझै जोडतोडका साथ उठिरहँदा नेपालमा पनि त्यसको प्रभाव परेको हुन सक्ने विश्लेषकको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 127 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लम्कीचुहाको नगरप्रमुख र उपप्रमुखमा महिला उम्मेदवार विजयी