एनआईसी एसिया ‘रन अन बैंक’ अवस्थानजिक

काठमाडौं । एनआईसी एसिया बैंक दोहोरो मारमा परेको छ । बैंकले एकातिर आफ्नै कर्मचारीको असन्तुष्टि बेहोर्नुपरिरहेको छ भने अर्कोतर्फ आमनिक्षेपकर्ताको अविश्वासको मार खेप्नुपरेको छ । बैंकभित्रको अनियमितताबाट चरम रूपमा असन्तुष्ट रहेका डेपुटी सीईओ सुधिरनाथ पाण्डेले राजीनामा दिएसँगै आमबचतकर्ताबीच बैंकबाट आफ्नो जम्मा निक्षेप निकाल्ने क्रम दिन प्रतिदिन बढ्दै गएको छ ।

बैंकिङ कारोबारको मूल आधार नै आमबचतकर्ताको निक्षेप हो । बचतकर्तासँग निक्षेप लिएर त्यो रकम लगानी गर्ने हो । आमबचतकर्ताहरू बैंकप्रति विश्वस्त हुन नसकेर रकम फिर्ता गर्न बैंकमा लाइन लाग्न पुग्नुलाई ‘रन अन बैंक’ भनिन्छ । एनआईसी ‘रन अन बैंक’ अवस्थाको एकदमै नजिक पुगेको छ । यो आफैंमा अत्यन्तै संवेदनशील अवस्था हो ।

हालै सार्वजनिक एक तथ्यांकनुसार एनआईसी एसिया बैंकको निक्षेपमा एक महिनामै १४ अर्ब रुपैयाँको गिरावट आएको छ । नेपाल बैंकर्स संघको तथ्यांकनुसार एनआईसी एसियाको निक्षेप माघ महिनामा ३ खर्ब ६७ अर्ब ६८ करोड रुपैयाँ रहेको थियो भने गत पुसमा यसको कुल निक्षेप ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँभन्दा बढी रहेको थियो । समग्र वाणिज्य बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा एनआईसी एसिया बैंकको निक्षेप भने उल्लेख्य रूपमा घटेको छ ।

चलनचल्तीको मूल्यभन्दा धेरै बढी मूल्यांकन गरेर कर्जा प्रवाह गर्ने गरेका कारण एनआईसी एसिया बैंकसँग कर्जा स्वाप गर्न अन्य बैंकले मान्दैनथे । अधिक मूल्यका कारण यस बैंकले असुल नभएको कर्जाको धितो लीलामसम्म गर्न सक्दैनथ्यो । त्यसरी लीलाम हुन नसकेको घरजग्गा बैंकले आफैं सकार्दै आएका कारण अहिले बैंकसँग अधिक मूल्यांकन भएको ‘नन बैंकिङ एसेट’को थुप्रो लागेको छ । ऐनअनुसार हदबन्दी लाग्ने भएको हुँदा अब त थप घरजग्गा सकार्नसमेत अप्ठ्यारो अवस्था सिर्जना भएको छ । यसरी अहिलेको अवस्था के हो भने एनआईसी एसिया कर्जा असुल नहुने, धितो लीलाम गर्न नसक्ने र सम्पत्ति सकार्नसम्म नसक्ने भएको छ ।

बैंकले आर्थिक संकटसँग जुध्न भन्दै गत जेठ महिनायता ३० वटा शाखारहित बैंकिङ काउन्टर बन्द गरिसकेको छ । बैंकले १८ जेठमा १६ वटा, ४ साउनमा ४ वटा, २४ कात्तिकमा ६ र २९ माघमा थप ४ वटा काउन्टर बन्द गरेको हो ।

फागुन पहिलो सातामा आइपुग्दा बैंकसँग जम्मा ४७ वटा शाखारहित बैंकिङ सेवा काउन्टर बाँकी छन् । बैंकले २९ माघमा प्रकाशन गरेको प्रेस विज्ञप्तिमा ३ सय ६० शाखा र १ सय १५ वटा बिस्तारित काउन्टर सञ्चालनमा रहेको उल्लेख छ ।

बैंकले पाँच दिनअघि मात्र चारवटा काउन्टर बन्द गरेको हो । शाखारहित बैंकिङ अवधारणाअन्तर्गत सिरहाको जिरोमाइल, नवलपुर जिल्लाको विनय त्रिवेणी गाउँपालिका–७, गोरखाको सिउरिनीटार, झापाको बुद्धशान्ति गाउँपालिका–६ बाट दिँदै आएको बैंकिङ सेवा बन्द गरेको हो भने काठमाडौंमा रहेका आफ्ना शाखासमेत घटाउने नीति एनआईसी एसिया बैंकले लिएको छ ।

दूरावस्थाका लागि को जिम्मेवार ?
एनआईसी एसिया बैंकको दुर्गतिका लागि विभिन्न पात्र जिम्मेवार देखिएका छन् । प्रकट रूपमा बैंकका सीईओ रोशनकुमार न्यौपानेको गैरव्यावसायिक व्यवहार नै यसका लागि जिम्मेवार छ । तर, जानकार स्रोतका अनुसार न्यौपाने त गोटी मात्रै हुन् । उनले जे गरे सबै मुख्य लगानीकर्ता विशाल गु्रपको लहडनुसारको आदेशमै गरेका हुन् । यसक्रममा प्रमुख नियामक निकाय राष्ट्र बैंक पनि तमाम अव्यवस्थाप्रति मौन रहेको देखियो ।

‘राजनीतिक पहुँचका भरमा एनआईसी सञ्चालक र सीईओको बैंकिङ व्यवसायको सामान्य आचरणविपरीत मनपरीतन्त्र चलिरहँदा केन्द्रीय बैंकले समयमै नियन्त्रण गर्न सकेको भए अवस्था यति बिग्रने थिएन,’ एक विज्ञ भन्छन् । विज्ञको यो भनाइप्रति आमबैंकरहरू अनौपचारिक कुराकानीमा सहमत देखिन्छन् । उनीहरू एनआईसी एसियाका कारण समग्र बैंकिङ क्षेत्र नै बदनाम हुने आशंकाले चिन्तित छन् । बैंकरहरूकै अनुसार दुई वर्षअघि नेपाल राष्ट्र बैंकले एनआईसी एसिया बैंकलाई ३ अर्ब रुपैयाँको प्रोभिजिङ गर्न लगाउँदा बैंक सञ्चालकले राजनीतिक दबाब दिई राष्ट्र बैंकका कार्यकारी निर्देशक महेश्वरलाल श्रेष्ठलाई नै सरुवा गराएका थिए ।

एनआईसी एसिया बैंकको ‘डिफल्ट’ पत्ता लगाएर कारबाही गर्न तम्सिएका श्रेष्ठलाई राजनीतिक दबाबबाट तत्कालीन गभर्नर डा. चिरञ्जीवी नेपालमार्फत् डन्डा चलाइएको थियो । श्रेष्ठ नेपाल बैंक लिमिटेड समस्याग्रस्त हुँदा राष्ट्र बैंकका तर्फबाट व्यवस्थापकीय जिम्मेवारी लिएका व्यक्ति थिए । उनकै पहलमा नेपाल बैंकको वित्तीय अवस्थामा सुधार भएको थियो । एनआईसी एसिया बैंकको वित्तीय फ्रडका विषयमा जानकारी पाएपछि कारबाही गर्न अगाडि बढेका श्रेष्ठ उल्टै कारबाहीमा परेपछि केन्द्रीय बैंकका कर्मचारी एनआईसी एसिया बैंकसँग डराउन थालेका थिए । यसका कारण बैंक सञ्चालक र उच्च व्यवस्थापनको अस्वाभाविक चलखेल बढ्न थालेको हो ।

तर, प्रकट रूपमा भने बैंकरहरू एनआईसीको प्रतिरक्षामा उत्रेका जस्ता देखिन्छन् । सम्भवतः आफ्नै पनि कमजोरी भएको हुँदा उनीहरू यसो गर्न बाध्य भएका हुन् । अर्कोतर्फ ‘बैंकको ऋण तिर्नुनपर्ने’ आन्दोलनबाट पनि उनीहरू त्रस्त छन् ।

यता, एनआईसीचाहिँ बैंकको कमजोेरी’bout लेखिएका समाचारविरुद्ध फेक एकाउन्टबाट सामाजिक सञ्जालमा कमेन्ट र स्टाटस लेख्न लगाउने र प्रायोजित समाचारलाई सेयर गराउने जस्ता हर्कतमा लागेको छ । बैंकका कर्मचारीहरू आफूलाई यस्तो उर्दी आएको बताउँछन् ।

यसैबीच, एनआईसी एसिया बैंकले १ फागुनमा जारी गरेको विज्ञप्तिमा राष्ट्र बैंकको सुपरिवेक्षण चलिरहेको स्वीकार गरेको छ । सो सुपरिवेक्षण नियमित भएको पनि बैंकको दाबी छ । बैंकले हरेक दिनजस्तै जारी गर्ने विज्ञप्तिमा भने उसले आफ्नो कमजोरीलाई अस्वीकार गर्दै आएको छ ।

तथ्यांकमा बैंकको स्थिति
– चालू आवमा बैंकको नाफा ४१ दशमलव ८४ प्रतिशतले गिरावट
– खराब कर्जा ९५ प्रतिशतभन्दा बढीले वृद्धि
– गैरबैंकिङ धितो साढे ३ अर्ब रुपैयाँभन्दा बढी, धितो दुई वर्षसम्म लीलाम हुन सकेनन्
– ऋण नउठ्दा बैंकले यस वर्ष ५ अर्ब ६२ करोड ९० लाख रुपैयाँ ‘लोन लस्ट प्रोभिजन’ गर्न बाध्य
– ८० भन्दाबढी ऋणीसँग १ अर्ब रुपैयाँ ऋण असुली गर्न ऋण असुली न्यायाधीकरणमा मुद्दा खेप्दै
– ब्याज आम्दानी १० दशमलव १३ प्रतिशत र सञ्चालन नाफा २४ दशमलव १३ प्रतिशत घट्यो
– वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँले ऋणात्मक
– प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ९ पैसा घट्यो

तपाइको प्रतिक्रिया
(Visited 1,929 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने