राष्ट्रपतिद्वारा भूकम्पले भत्किएका सम्पदाको अवलोकन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महाभूकम्प २०७२ बाट क्षतिपछि हाल पुनर्निर्माण भइरहेको काठमाडौंका विभिन्न सम्पदाको अवलोकन गरेकी छन् ।

राष्ट्रपति भण्डारीले शनिबार बिहान पुनर्निर्माण भइरहेका रानीपोखरी, सुन्धारास्थित धरहरा क्षेत्र, बसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप मन्दिर र नौतले दरबारको अवलोकन गरेकी हुन् । अवलोकनका क्रममा उनले पुनर्निर्माण सम्पन्न भएको रानीपोखरीस्थित भानु माध्यमिक विद्यालय (दरबार हाइस्कुल)को पनि अवलोकन गरेकी थिइन् । महाभूकम्प २०७२ बाट क्षति पुगेको रानीपोखरीस्थित भानु माध्यमिक विद्यालयको पुनर्निर्माण हालै सम्पन्न भएको छ ।

पुरानै ‘दरबार हाइस्कुल’ कै नमुना झल्किने गरी बनाइएको विद्यालय आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण कार्य सम्पन्न गरिएको हो । चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको विद्यालय चिनियाँ कम्पनी सांघाई कन्सट्रक्सनले पुनर्निर्माण गरेको हो । भवनको नमुना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको थियो । ८५ करोडको लागतमा नौ रोपनी जमिनमा निर्माण गरिएको सो विद्यालय भवन चार तलाको छ, यस विद्यालयमा ४० वटा कक्षाकोठा छन् ।

त्यस्तै, धराहराको पुनर्निर्माण पनि तीव्र गतिमा भइरहेको छ । धराहरा पुनर्निर्माणअन्तर्गत जमिनमुनिका दुईटा बेस र माथिको चार तलाको काम सकिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले केही दिनअघि धरहराको अनुगमन गरेका थिए । ज्ञवालीले प्राधिकरणले पछिल्लो समय तय गरेको कार्ययोजनाअनुसार नै काम भइरहेको जानकारी गराएका छन् । ३ अर्ब ४८ करोड रुपैयाँ लागतमा धराहराको पुनर्निर्माण भइरहेको हो ।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त भएको ऐतिहासिक धरहरा पुनर्निर्माणका लागि गत वर्षको पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । अहिले दैनिक १ सय ५० जनाले निर्माणको काम गरिरहेको रमण कन्सट्रक्सनले जनाएको छ । ४२ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको धरहरा बाहिरबाट हेर्दा ११ तलाको हुने भए पनि भित्र २२ तलाको हुने र ७२ मिटर उचाइको हुनेछ ।

धरहरामा बगैंचा, संग्रहालय, रंगीन जलफोहरा, प्रदर्शनी हल तथा पार्किङ स्थलसमेत रहनेछन् । १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । २०७२ सालको भूकम्पले ९ तलाको धराहरा पनि भत्काइदिएको थियो ।

रानीपोखरी पुनर्निर्माणको काम पनि अहिले तीव्र गतिमा भइरहेको छ । वसन्तपुर क्षेत्रस्थित काष्ठमण्डप मन्दिरको पुनर्निर्माण पनि धमाधम भइरहेको छ ।

२०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त भएका यी सम्पदाको पुनर्निर्माणको अवस्था अवलोकन र प्रगतिको प्रत्यक्ष जानकारी लिएपछि राष्ट्रपति भण्डारीले पुनर्निर्माणको पछिल्लो अवस्थाबाट आफू उत्साहित भएको प्रतिक्रिया दिएकी छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनर्निर्माणलाई गति दिइएको र बाँकी काम समयतालिका बनाएर समयमै सम्पन्न गर्ने  जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 216 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

देवघाट महामहोत्सवबाट भक्तजनको मन जितेर फर्किइन् देवी प्रतिभा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगको भ्याकेट निवेदनमा अन्तरिम आदेश अस्वीकार