बीपी कोइरालाको एक चर्चित कथा छ, दोषी चस्मा । यो एक मनोवैज्ञानिक कथा हो । यस कथामा बीपीले कुनै सानोतिनो घटना तथा परिस्थितिले समेत कसरी मानिसमा अपराधबोधको भावना (गिल्टी फिलिङ) उत्पन्न हुन्छ र यस्ता भावनाले मानिसलाई कसरी उदास, निराशा र दुःखी बनाउन सक्दछ भन्ने मनोविज्ञानलाई एक रोचक कथामार्फत् मनोवैज्ञानिक ढंगले सटिक भाषामा प्रस्तुत गरेका छन् ।
हुन पनि हो, अधिकांश मानिसहरूको मन निकै संवेदनशील र भावुक हुनेगर्छ । त्यसैले त बीपीले दोषी चस्मामा उल्लेख गरे झैं झुक्किएर वा नदेखेर मालिकभक्ति गर्न नपाउँदा पनि मानिसको मन ध्वार्रै फाट्न सक्दछ ।
सधैं नमस्कार गर्ने मान्छेले कुनै दिन भुलेर वा नदेखेर नमस्कार नर्फकाउँदा पनि मानिसको मन टुट्न सक्दछ । भुलबससँगै उभिएका दुई जनामध्ये एकलाई बस्ने आग्रह गर्ने तर अर्कोलाई केही नभन्ने हो भने पनि उसको मन फाट्न सक्दछ । थुप्रै यस्ता सानातिना घटनाका कारण नै मानिसको मन पटकपटक सिसा झैं चर्किने र फुट्ने गर्छ ।
तर, यहाँ उल्लेखनीय कुरा के भने कुनै पनि घटना वा परिस्थितिले भन्दा पनि त्यो घटना वा परिस्थितिलाई हेर्ने दृष्टिकोणले मानिसको भावना र वयवहारप्रतिकूल भई धेरै समस्याहरू पैदा हुन्छन् । जस्तो कि कुनै युवती आफ्नो प्रेमीलाई अर्कै केटीसँग कुनै होटलबाट निस्किँदै गरेको वा हात समाएर हिंडेको देखेपछि एकाएक छाँगाबाट खसे जस्तो हुन सक्छिन् । र, आफूले माया गर्ने केटाले यसरी धोका दिई अर्कै केटीसँग लागेको सम्झी एक्कासी उदास, निराश र दुःखी हुन पुग्छिन् ।
अतार्किक पूर्वाग्रह (कग्निटिभ बायस)ले मानिसलाई नकारात्मक सोचको सहरा लिन बाध्य बनाउँछ
तर, यहाँ युवतीको प्रेमी अर्कै केटीसँग हिंडेको घटनाले होइन कि त्यो घटनालाई हेर्ने उनको अतार्किक तथा पूर्वाग्रही (कग्निटिभ बाएस) दृष्टिकोणले युवतीलाई दुःखी बनाएको हुन सक्दछ । त्यो ’cause होटलबाट कुनै युवायुवती निस्किँदैमा वा हातमा हात गाँसी हिंड्दैमा उनीहरू गर्लफ्रेन्ड बोइफ्रेन्ड नै हुन् भन्ने छैन । दाजुबैनी वा कुनै नातेदार पनि त हुन सक्छन् । दाजुबैनी वा नातेदार नभएको खण्डमा पनि युवतीले सोचेजस्तो सम्बन्ध ती केटाकेटीमा नहुन पनि त सक्दछ ।
तर, अधिकांश मानिसको सोच यस्तै हुन्छ । हरेक घटना तथा परिस्थितिको केवल कालो वा सेतो पक्षलाई हेर्ने, घटना तथा परिस्थितिलाई अतिसरलीकृत गर्ने र एकाएक निष्कर्षमा पुग्ने कारणले नै मानिसका घरायसी, पारिवारिक, सामाजिक तथा राष्ट्रिय, धेरै समस्या पैदा हुन्छन् र मानिस समस्या नै समस्याको दलदलमा फस्न पुग्छन् ।
हो, संसारका हरेक मानिस समस्याग्रस्त छन् । हरेक मानिसको टाउकोमा एक दुई वटा होइन, सयांै हजारौं समस्याको गरुंगो भारी छ । तर, अधिकांश यस्ता समस्या वास्तविक नभएर दृष्टिदोषका कारण नै देखापरेका हुन्छन् । मानिसले सकारात्मक सोचको जतिसुकै फाइँफुटी लगाए पनि सकारात्मकतालाई भन्दा नकारात्मकतालाई बढी महŒव दिन्छन् । अनि, दोषी चस्मामा उल्लेख गरे झैं नकारात्मक पाटोमा केन्द्रित रहेर घटनालाई हेर्ने र एकदमसँग निष्कर्षमा पुग्ने गर्छन् ।
यस्तै, दृष्टिदोषमा फसेको छ, नेपालको राजनीति पनि । थुप्रै नेपालका नेता विदेशीको पाउ नमोल्ने हो भने न त सत्तामा पुग्न सकिन्छ न त सत्तामा टिक्न सकिन्छ भन्ने दृष्टिदोषबाट पीडित छन् । अधिकांश नेपाली नेताको यस्तो कग्निटिभ बाइस र मानसिक दरिद्राका कारण पनि नेपालमा विदेशी हस्तक्षेप यति बिघ्न बढेको हो । हस्तक्षेपको कुरा गर्ने हो भने नेपालमा २००७ सालदेखि नै भारतीय हस्तक्षेप सबैभन्दा बढी हुने गरेको धेरैले स्विकारेको घटना हो ।
नेपाली राजनीतिमा भारतीय हस्तक्षेप जतिसुकै बढेको भए तापनि भारतले चाहेअनुरूपका सबै कुराहरू नेपालमा लागू भएका छैनन् । अधिकांश नेपाली नेताले पनि नचाहेको, भारतले पनि नचाहेको कतिपय कुराहरू समेत नेपाली नागरिकको चाहनाअनुसार नेपालमा स्थापित भएका छन् । तर, भारतले नेपालमा आफ्नो एकलौटी प्रभाव छ भन्ने कुरा संसारलाई देखाउन चाहन्छ । यसका लागि मालिकका अगाडि पाल्तु कुकुरले कुईकुई पुच्छर हल्लाउँदै मालिकभक्ति दर्साए झैं गर्ने कतिपय नेतालाई प्रत्यक्षपरोक्ष रूपमा प्रयोग गर्नेगर्छ ।
यस्ता घटनालाई आमनागरिकले अतिसरलीकृत गर्ने गर्छन् । अनि, सबै नेतालाई एकै ठाउँमा मुछेर एउटै चस्माले हेर्ने गर्छन् । तर, वास्तविकता भने पूर्णरूपमा त्यस्तो छैन । नागरिकको यस्तो मनोविज्ञानलाई कतिपय राजनीतिक पार्टीहरूले अतिरंजित रूपमा उपयोग गर्ने प्रयास गर्छन् र आफू मात्र राष्ट्रवादी बाँकी सबै राष्ट्रघाती, विदेशी दलाल भएको सन्देश नागरिकसम्म पु¥याउन खोज्छन् ।
दृष्टिदोष कग्निटिभ समस्या हो । त्यसैले दृष्टिदोषका कारण अन्तर्मनमा गढेका नकारात्मक भावनाहरू हटाउने सर्वोत्तम उपाय भनेको नै सकारात्मक सोच हो । हुन पनि सकारात्मक सोचमा अद्भूत शक्ति हुन्छ । सकारात्मक सोचका कारण नै मानिसले कालो वा सेतो मात्र देख्दैन, खैरो रंग पनि देख्ने गर्छ । अर्थात् घटनालाई नकारात्मक पाटोबाट मात्र होइन कि सकारात्मक र आशावादी दृष्टिकोणबाट पनि हेर्ने गर्छ ।
मनको प्राकृतिक नियम के हो भने सकारात्मक सोचले सकारात्मक परिणाम दिन्छ, नकारात्मक सोच नकारात्मक परिणाम दिन्छ । तर, यहाँ उल्लेखनीय कुरा के भने दन्दन्ती बलिरहेको आगो निभाउन सकारात्मक सोच राखेर मात्र हँुदैन । आगो निभाउन हुर्किरहेको आगोमा पानी वा आगो निभाउने ग्याँस हाल्नुपर्छ । एक दिन त आगो निभ्ने छ भनेर सकारात्मक सोच राख्दा के हुन्छ, थाहा छ ? एक दिन आगो त निभ्नेछ, तर सब कुछ खरानी भएपछि मात्र आगो निभ्नेछ ।
अखण्ड भजनकीर्तन गरेर वा हरहर महादेव पानी देऊ भनेर पानी पर्दैन, पानी कसरी पर्छ भन्ने कुरा अब धेरैलाई थाहा छ । इन्द्र रिसाएर वा भ्यागुतो नकराएर खडेरी पर्दैन, बाक्लो रूपमा वन–जंगल फँडानी हँुदै गयो भने खडेरी पर्छ । त्यसैले खडेरीबाट बच्न वन–जंगल फँडानी रोक्नुपर्छ, प्रशस्त रुखबिरुवा रोप्नुपर्छ ।
शंकाउपशंका, अन्तद्र्वन्द्व, निराशा र दुःखबाट बच्न सकारात्मक मनोविज्ञानलाई मनन गर्नु नै पर्छ
माथि आकाशमा पानी लिएर इन्द्र बसेका छन्, उनले नै पानी बर्साउँछन् भन्ने जस्ता तथ्यहीन कुरामा विश्वास गरेर सोचले सकारात्मक काम गर्दैन । यस्तो अन्धविश्वास तथा अतार्किक पुर्वाग्रही सोचले कालान्तरमा निराशा र दुःख जन्माउँछ ।
शंकाउपशंका, अन्तद्र्वन्द्व, निराशा र दुःखबाट बच्न सकारात्मक मनोविज्ञानको यस गहन पक्षलाई मनन गर्नुपर्छ र घटनालाई तार्किक सकारात्मक दृष्टिकोणबाट हेर्ने गर्नुपर्छ । त्यो ’cause सकारात्मक कार्यलाई मुर्तरूप दिन तार्किक (तथ्यगत) सकारात्मक सोच तथा सिर्जनात्मक चिन्तन (सिर्जनात्मकता) आवश्यक हुन्छ ।
यसरी मानिसले मनको आँखामा भिरेको फुटेको चश्मा निकालेर घटनालाई तार्किक सकारात्मक दृष्टिकोणबाट हेर्ने हो भने मानिसका अनेक समस्याहरू स्वतः समाधान हुन्छन् । त्यसैले दृष्टिदोषको नकारात्मक परिणामबाट मुक्त हुन हामी सबै नेपालीले सबैभन्दा पहिला आआफ्नो मनको आँखामा भिरेको फुटेको चस्मा निकालेर फाल्नुपर्छ ।
यसको सुरुवात नेपाली राजनीतिले गर्नुपर्छ । यसका लागि सर्वप्रथम नेपालका राजनीतिक दलले एकअर्कालाई विदेशी दलालको संज्ञा दिई आफू पानीमाथिको ओभानो बन्न खोज्नुभन्दा पनि बढिरहेको विदेशी हस्तक्षेपलाई एक ढिक्का भई कसरी रोक्ने भन्ने विषयमा तर्कसंगत सकारात्मक चिन्तनमनन गर्नुपर्छ ।
प्रत्यक्ष–परोक्ष रूपमा नागरिकलाई शंकाउपशंका लाग्ने कुनै पनि क्रियाकलाप गर्नुहँुदैन, अपारदर्शी र शंकास्पद व्यवहार देखाउनुहँुदैन । यस कार्यको थालनी बीपीले नै जन्माएको पार्टी, नेपाली कांग्रेस, अनि एमाले तथा माओवादी केन्द्र र यी दलका नेताले नै गरेको खण्डमा धेरै राम्रो हुने थियो कि ?