नेशनल मेडिकल कलेजका एमडी बसुरुद्दिनको पदमा भतिजा

वीरगन्ज । नेपालकै चर्चित मेडिकल कलेजहरु मध्ये वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको प्रवन्ध निर्देशक (एमडी) बसुरुद्दिन अंसारीको स्थान उनैका सहोदर भतिजा शाहनवाज अंसारीले ओगटेका छन् । कलेजको स्वामित्व तानातानमा संचालकहरुको अन्तरिक विवाद सतहमा आएसँगै एमडीको पदमा पनि काका बसुरुद्दिन अंसारीलाई भतिजा शाहनवाजले विस्थापित गराइदिएका हुन् ।

मेडिकल कलेजका संचालक दाजुभाइ डा.जैनुद्दिन अंसारी र बसुरुद्दिन अंसारी बीच कलेजको स्वामित्वमा कस्को पडक बढि ? भन्ने आन्तरिक खिचातानीको विवाद सतहमा आएसँगै संचालक समितिको पदीय भूमिका पनि हेरफेर भएको आइतबार वीरगन्जमा पत्रकार सम्मेलन गरी सार्वजनिक गराइएको हो ।

लामो समय मिलेर रहेका अंसारीद्वय दाजुभाइ कलेजको स्वामित्वमा पकडको बिषयलाई लिएर भने विवादित रहेको यथार्थ छताछुल्ल भएको छ । कलेजका अध्यक्ष डा. जैनुद्दिन अंसारीले गएको साउन २६ गते थपिएका शेयरधनीहरुको नाम नै सार्वजनिक गराउँदै भाइ बसुरुद्दिनको भूमिका कलेजको स्वामित्वमा १० प्रतिशत मात्र रहेको प्रष्ट्याएका छन् । यो तथ्याँकसँगै भाइ बसुरुद्दिन अंसारी प्रवन्ध निर्देशक (एमडी) रहेको स्थानमा पनि आफ्नै सहोदर छोरा शाहनवाज अंसारी रहेको पुष्टि गरेका छन् । डा.जैनुद्दिनले सार्वजनिक गरेको तथ्याँक अनुसार वीरगन्जमा रहेको नेशनल मेडिकल कलेजको स्वामित्वमध्ये उनैको नाममा साविकको ९० प्रतिशत घटेर ४५ प्रतिशतमात्र रहेको उल्लेख गरिएको छ । त्यसै गरी शाहनवाज अंसारीको नाममा १५ प्रतिशत, नुशरत जहान अंसारीको १० प्रतिशत, निकहत यासमिनको १० प्रतिशत, इशर्त जहानको १० प्रतिशत र बसुरुद्दीनको पनि १० प्रतिशत रहेको दावी गरिएको छ ।

सार्वजनिक गरिएको तथ्याँक अनुसार शाहनवाज, नुशरत, निकहत र इशर्त डा. अंसारीका छोरा र छोरी रहेको खुलेको छ । जम्मा १० प्रतिशत मात्रै शेयर रहेको भनिएका साविकका प्रवन्ध निर्देशक बसुरुद्दिन अब शेयरधनीमात्र रहेको नयाँ एमडी शाहनवाज अंसारीलगायतले आइतबार वीरगन्जमा पत्रकार सम्मेलन नै गरी बताए । नेशनल मेडिकल कलेजका अध्यक्ष डा जैनुद्दिन अन्सारीले कलेजका प्रबन्ध निर्देशक बसरुद्दिन अन्सारीलाई कम शेयर दिएर निष्कासन गरेको अर्कापक्षको आरोप छ । कलेजको सम्पतिमा दाजुभाइको तानातानको विवाद चुलिएपछि यो बिषय छताछुल्ल हुँदै आएको हो ।

कलेजको स्थापनाकालदेखि प्रबन्ध निर्देशक (एमडी) भएर काम गर्दै आइरहेका बसरुद्दिन अन्सारीलाई कलेजले गएको फागुन ११ गतेदेखि हटाएको अध्यक्ष डा.जैनुद्दिनले सार्वजनिक गरेको विज्ञप्तीमा पनि उल्लेख गरिएको छ । भाइ बसुरुद्दिनले डा.जैनुद्दिनलाई ज्यानमार्ने धम्की समेत दिएपछि सुरक्षाका माग गर्दै डा. जैनुद्दिनले स्थानीय प्रशासनमा निवेदन समेत दिएको नयाँ एमडी शाहनवाज अंसारीले पनि खुलासा गरे । अध्यक्षद्वारा जारी विज्ञप्तिमा पनि ‘यो कम्पनीमा मेरो ९० प्रतिशत र भाइ बसरुद्दिन अन्सारीको १० प्रतिशत शेयर थियो । तर ७ महिना अगाडि यसमा केही नयाँ शेयरधनी थपिएका छन्, जसका कारण शेयर प्रतिशत बाँडफाँट भएर मेरो शेयर प्रतिशत घटेको छ ।’ भनिएको छ ।

नेशनल मेडिकल कलेज प्राइभेट लिमिटेडको साधारणसभा– २०८० ले कम्पनी ऐन २०६३ र कम्पनी निर्देशिका २०७२ (दोस्रो बमोजिम) तीन सदस्यीय संचालक समिति गठन गरेको दावी गरिएको छ ।

यता कलेज संचालक दाजुभाइबीचको स्वामित्व विवाद उत्कर्षमा पुगेपछि बसरुद्दिन अन्सारी नेशनल मेडिकल कलेजको अध्यक्षमा चुनिएको खबर सामाजिक संजाल फेसबुक मार्फत बाहिर प्रचार गराइएको छ । यो काम बसुरुद्दिनले आफ्ना निकटस्थबाट आफै गराएको बेकारको हल्ला रहेको अर्को पक्षले दावी गरेका छन् ।

२०५७ साल ३१ भदौ नेशनल मेडिकल कलेज प्रालि दर्ता भएको हो । सुरुमा वीरगन्जको बाबा होटललाई भाडामा लिएर संचालन भएको नेशनल मेडिकल कलेजसँग अहिले अर्बौंको सम्पत्ति रहेको खुलेको छ । मेडिकल कलेज प्रारम्भ गर्दा अध्यक्ष र एमडीबीच ५०–५० प्रतिशत शेयरमा कारोबार गर्ने सम्झौता भएको निवर्तमान एमडी बसरुद्दिन अन्सारीले बताए ।

‘सुरुमा आधा–आधा शेयरमा लगानीमा सञ्चालन गर्ने सहमति थियो, त्यसमा दाइले १० प्रतिशत बढी लिएर सञ्चालन सुरु भयो । तर अहिले आएर हिसाब माग्दा दाइ (जैनुद्दिन) ले शेयर छोराछोरीको नाममा सार्नु भयो ।, जुन बेइमानी हो,’ साविकका एमडी अंसारीले जनाए । काठमाडौमा संचालनमा रहेको नेपाल मेडिकल कलेज आफूलाई दिएर हिसाब किताब गर्ने सम्झौता थियो । तर पछि त्यो सम्झौताबाट पनि दाइ पछि हटेको उनको आरोप छ ।

वीरगन्जमा नेशनल मेडिकल कलेजको लागि प्रतिकट्ठा ३० हजार रुपैयाँका दरले २८ बिघा जग्गा खरिद गरी आफ्नै जग्गामा कलेज संचालन गरिएको थियो । अहिले त्यो जग्गामात्र प्रतिधुर १० लाखभन्दा बढी पर्छ । त्यो हिसाबमात्र जोड्ने हो भने हाल वीरगन्जको मेडिकल कलेजको जग्गाको मूल्यमात्रै ११ अर्बभन्दा बढि हुने कलेजलाई भित्रबाटै जान्ने एकव्यकितले दावी गरे ।

यो बाहेक भवनसहित अन्य सम्पत्ति जोड्दा वीरगन्जमा मात्रै १५ सय करोडभन्दा बढी र काठमाडौं र वीरगन्जका २ वटा कलेज समेत गरेर कुल २ हजार करोड बढी सम्पत्ति हुने पनि उनको तर्क छ । सुरुको चरणमा भन्दा ‘पोपर्टी’ (सम्पति) बढेको तर ठोस रुपमा कति भयो भन्ने आफू पनि नयाँ एमडी भएकोले अहिले नै ठोस भन्न अलि नसक्ने शाहनवाजले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

प्रहरी नायव निरीक्षक खतिवडाले किन गरे आत्महत्या ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा