साना देशमा पर्यटन क्षेत्रको योगदान

केही वर्षयता विश्वका साना देशमा पर्यटन क्षेत्रको विकास तीव्र गतिले भइरहेको छ । फलतः यी देशहरूको अर्थतन्त्रमा सो क्षेत्रको योगदान पनि बढिरहेको छ । उदाहरणका लागि सन् २०१९ मा मकाउको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५२ दशमलव २ प्रतिशत थियो भने दक्षिण एसियाको सानो देश मालदिभ्सको कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान २६ दशमलव ४ प्रतिशत थियो । यसैगरी, सेसेल्स नामको सानो देशको कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान २६ दशमलव ४ प्रतिशत थियो । जसलाई न्यून मान्न सकिँदैन ।

सन् २०१९ मा विश्वका सात देशका कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० प्रतिशतभन्दा बढी थियो । बाँकी देशमा खासगरी एसिया प्रशान्त क्षेत्रका देशमा सो क्षेत्रको ठोस विकास भएन । सन् २०१९ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगण्य थियो । त्यसैले, सो वर्ष पर्यटन विकासको सन्दर्भमा नेपाल विश्वको ८८औं स्थानमा रहेको थियो ।

विभिन्न ठाउँमा ठूला तारे होटेल स्थापना गर्ने क्रम बढिरहेकाले भविष्यमा विदेश बजारीकरण बढ्नेछ

सन् २०२१ मा ‘द ग्लोबल इकोनोमी डटकम’ले पर्यटन क्षेत्रबाट कुल गार्हस्थ्य उत्पादनमा १० प्रतिशतभन्दा बढी योगदान प्राप्त गर्ने देशका नाम आफ्नो प्रतिवेदनमा समावेश गरेको थियो । सो प्रतिवेदनअनुसार सन् २०२१ मा अरुबा भन्ने सानो देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ४१ दशमलव २६ प्रतिशत भई पहिलो स्थानमा रहेको थियो भने सार्क क्षेत्रको सानो देश मालदिभ्सको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३७ दशमलव ६१ प्रतिशत भई विश्वको दोस्रो स्थानमा रहेको थियो । यसैगरी, एन्टिगवा एन्ड बर्बाडोस भन्ने सानो देशको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको ३० दशमलव ३६ प्रतिशत योगदान थियो भने नेदरल्याण्डको मातहतमा रहेको एन्टिलेस टापुको कुल गार्हस्थ्य उत्पादनमा सो क्षेत्रको योगदान २३ दशमलव ३ प्रतिशत थियो । सन् २०२१ मा सम्बन्धित देशका कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रबाट १० प्रतिशतभन्दा बढी योगदान प्राप्त गर्ने देशमध्ये सबैभन्दा सानो देश बहमास हो । सो वर्ष यसको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान १० दशमलव ३८ प्रतिशत थियो ।

सन् २०२१ मा नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान नगण्य थियो । तसर्थ, ‘ग्लोबल इकोनोमी डटकम’ले त्यसबेला प्रकाशित गरेको एक प्रतिवेदनअनुसार सो वर्ष यहाँको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान शून्य दशमलव ७१ प्रतिशत मात्र थियो । जुन, अन्य साना राष्ट्रको तुलनामा न्यून हो । विश्वमा कोभिडको असर न्यून भएपछि अन्तर्राष्ट्रिय मापदण्ड खुकुलो बनाइएका छन् भने व्यावसायिक वातावरण सहज बन्दै गएको छ । यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पर्यटकीय क्षेत्रको प्रभावकारी बजारीकरणका नयाँ रणनीतिक कार्ययोजना बनाउन तयारी भएकाले आगामी वर्षमा नेपाललगायत विश्वका धेरै देशमा पर्यटकको संख्या बढ्ने सम्भावना छ ।

नेपाल सरकारले हरेक वार्षिक बजेटमा सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्य स्थलको विकास गरी राष्ट्रिय अर्थतन्त्रमा पर्यटन क्षेत्रको योगदान वृद्धि गर्दै लैजाने कुरा उल्लेख गर्दै आएको छ । यसबाहेक नेपाल सरकारले एकातर्फ सन् २०२५ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेको छ भने अर्कातर्फ सन् २०२२ देखि सन् २०३२ सम्मलाई पर्यटन दशकका रूपमा मनाएर यहाँ प्रति वर्ष ३५ लाख पर्यटक भिœयाउने लक्ष्य लिएको छ । वर्तमान समयमा काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मात्र विदेशी पर्यटक नेपाल आउँछन् । भविष्यमा पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि यहाँ आउने पर्यटकको संख्या बढ्न सक्ने सम्भावना छ ।

पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालमा विदेशी पर्यटकको संख्या बढ्न सक्ने सम्भावना छ

हाल नेपालका विभिन्न ठाउँमा ठूला तारे होटेलबाट स्थापना गर्ने क्रम बढिरहेकाले भविष्यमा विदेशमा बजारीकरण बढ्नेछ । जसको फलस्वरूप आगामी दिनमा यहाँ पर्यटकको संख्या निकै नै बढ्नेछ । नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइँ अवधि अन्य देशको तुलनामा न्यून छ । तसर्थ, हालसम्म पनि यहाँको पर्यटन उद्योगबाट आशा गरेअनुरूप फाइदा प्राप्त गर्न सकिएको छैन । उदाहरणको लागि सन् २०१७ मा यहाँ आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत बसाइँ १२ दशमलव ६ दिन थियो भने सन् २०१८ र सन् २०१९ सो अवधि १२ दशमलव ४ दिन थियो । सन् २०२० मा यहाँ भ्रमण गर्न आएका विदेशी पर्यटकको औसत बसाइँ केही बढे पनि सन् २०२१ मा सो अवधि १५ दशमलव १ दिन पुगेको थियो । जुन, हालसम्मको बढी मानिन्छ । नेपालमा आउने विदेशी पर्यटकले यहाँको अर्थतन्त्रमा केही प्रभाव पार्छन् । परन्तु, छोटो बसाइँका कारण उनीहरूले थोरै रकम मात्र खर्च गर्छन् । त्यसैले, उनीहरूले यहाँको अर्थतन्त्रमा थोरै मात्र योगदान पु¥याउँछन् ।

उदाहरणका लागि सन् २०१७ मा यहाँ आउने विदेशी पर्यटकले प्रतिदिन प्रतिव्यक्ति औसत ५४ डलर खर्च गरेका थिए भने सन् २०१८ मा ४४ डलर मात्र खर्च गरेका थिए । यसैगरी, सन् २०१९ मा यहाँ आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति औसत खर्च ४८ डलर थियो । यद्यपि, सन् २०२० मा नेपाल भ्रमण गर्न आएका विदेशी पर्यटकको प्रतिदिन प्रतिव्यक्ति खर्च ६५ डलर पुगेको थियो । जुन हालसम्मको बढी औसत खर्च मानिन्छ । पर्यटन विकासका लागि भविष्यमा यहाँ आउने विदेशी पर्यटकका औसत बसाइँ अवधि बढाउन सक्नुपर्छ । यसका लागि एकातर्फ उनीहरूलाई बढी सुविधा दिन आवश्यक छ भने अर्कातर्फ उपयुक्त योजना बनाई कार्यान्वयन गर्न उत्तिकै जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो गठबन्धन कति दिन टिक्छ भन्ने टुङ्गो छैन: अध्यक्ष नेपाल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले पोखरा महानगरका मेयर–उपमेयरले सार्वजनिक गरे चुनावी प्रतिबद्धतापत्र