स्थानीय पाठ्यक्रममा नागरिक शिक्षा

शिक्षा समाज निर्माणको जग हो । शिक्षाले व्यक्ति, समाज र सिंगो मुलुकलाई निर्देशन गर्छ । तथापि कस्तो शिक्षा प्रदान गरी कस्तो व्यक्ति, समाज र मुलुक निर्माण गर्ने भन्ने कुरा शिक्षाको मोडेलले निर्धारण गर्ने कुरा हो । शिक्षाको क्षेत्र व्यापक छ । विविध क्षेत्रमध्येको एउटा महत्वपूर्ण क्षेत्र भनेको नागरिक शिक्षा हो । नागरिक शिक्षाले व्यक्ति र समाजलाई शिष्ट, सभ्य, इमानदार, कर्तव्यनिष्ठ तथा असल चरित्र निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्छ । समाजमा सँगै बस्न, सँगै काम गर्न, एकले अर्काको सम्मान गर्न सिकाउँछ । व्यक्तिलाई कर्तव्यनिष्ठ बन्न प्रेरित गर्छ । नागरिक शिक्षाको ज्ञानले व्यक्तिलाई जातजाति, भाषाभाषी र समुदायहरूका बीचमा सबैका सांस्कृतिक तथा सामाजिक मूल्य र मान्यताहरूलाई सामाजिक दबाबविना नै स्वतस्फुर्त रूपमा स्वीकार गर्नसक्ने क्षमता र उदार व्यवहारको विकास गराउन मद्दत गर्छ ।

नागरिक शिक्षाले व्यक्तिलाई आफूकेन्द्रित स्वार्थबाट माथि उठ्न सिकाउँछ । अरूका भावनाको कदर गर्न र आपसी समझदारी बढाउनसक्ने भावनात्मक क्षमताको विकास गर्न सहयोग गर्छ । नागरिक शिक्षाले बेमेलभित्र मेलमिलापको खोजी गर्न सहज बनाउँछ । यसका साथै बहुजातीय संस्कार, मूल्य, मान्यता, रहनसहनअन्तर्गतका सबैका विचार र भावनाहरू अटाउनसक्ने फराकिला संस्कारहरूको बिजारोपण गर्ने ठूलो भूमिका खेल्छ । त्यसैले विद्यालय उमेर समूहका बालबालिकालाई सभ्य, अनुशासित, सामाजिक, सरल, इमानदार, कर्तव्यनिष्ठ र असल आचरण निर्माण गर्नका लागि स्थानीय तहको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा नागरिक शिक्षाको विषयवस्तुलाई समावेश गर्न आवश्यक ठानिन्छ ।

राज्यले विद्यालय शिक्षालाई स्थानीय तहअन्तर्गत रहने व्यवस्था गरेको छ । शिक्षाको नयाँ संरचनाअन्तर्गत ८ कक्षासम्मको शिक्षालाई आधारभूत शिक्षा भनिएको छ भने ९ देखि १२ कक्षासम्मलाई विद्यालय शिक्षा । कक्षा १ देखि ८ सम्मको सय पूर्णांकको पाठ्यपुस्तक निर्माण गरी पठनपाठन गर्न पाउने अधिकार पनि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । यस सन्दर्भमा स्थानीय तहमा पाठ्यक्रम निर्माण गर्दा नागरिक शिक्षाको विषयवस्तुलाई समावेश गरी बालबालिकालाई सानैदेखि अनुशासित, सकारात्मक, सहयोगी बनाउनुपर्छ । समाजका भिन्न जात, जाति, धर्म, लिंग, वर्गजस्ता विभेदहरूमा सहभाव राख्न सिकाउनुपर्छ । अब्राहम लिंकनले समाजका बालबालिकाहरूलाई शिक्षा दिन सकियो भने प्रौढहरूलाई सिकाउनु नै पर्दैन भनेका छन् । लिंकनले भनेजस्तो समाजका बालबालिकाहरूलाई नागरिक शिक्षाले प्रशिक्षित बनाउनसकेमा आदर्श समाज निर्माण गर्न सकिन्छ । यस दृष्टिकोणबाट हेर्दा स्थानीय तहको पाठ्यक्रम निर्माण गर्दा नागरिक शिक्षाको विषयवस्तुलाई समावेश गर्न जरुरी छ ।

नागरिक शिक्षाले व्यक्तिलाई आफूकेन्द्रित स्वार्थबाट माथि उठ्न, अरूका भावनाको कदर गर्न र आपसी समझदारी बढाउन सिकाउँछ

पाठ्यक्रम भनेको बालबालिकाहरूको सर्वांगीण विकासका लागि तयार गरिएको योजना हो । बालबालिकाको सर्वांगीण विकासअन्तर्गत आचरण निर्माण एउटा बलियो पक्ष हो । आचरणबिनाको शिक्षाले मानवीय मूल्य र मान्यताहरूलाई हेक्का राख्दैन । अहिले शिक्षाबाट उत्पादित जनशक्तिमा सद्विचार, सद्भाव, राष्ट्रियता, स्वदेशीपन, कर्मशीलता अत्यन्त कमजोर भएको अवस्था छ । समाजमा पारिवारिक कलह, विग्रह, असझदारी, टुट, फुट र झैझगडाहरू बढिरहेका तथ्यांकहरूले देखाउँछन् । आपूmलाई जन्मदिने माता, पिताहरूलाई मानसिक पीडा दिने सन्तानहरूको संख्या बढ्दै गएको देखिन्छ । वर्तमान अवस्थामा माता, पिताका आदेश वा सहकार्यका आधारमा घरपरिवारको व्यवहार चलाउने शिक्षित छोराछोरीहरूको अभाव हुँदै गएको अभिभावकहरूको अनुभव छ । यस सन्दर्भमा विद्यालय शिक्षादेखि नै हाम्रा बालबालिकाहरूलाई सभ्य, शिष्ट, इमानदार, कर्तव्यनिष्ठ बनाउनुपर्ने अवश्यकता देखिन्छ । यसका लागि नागरिक शिक्षालाई विद्यालय शिक्षाको पाठ्यक्रम तथा पाठ्यपुस्तकमा समावेश गर्नुपर्छ ।

नेपालको राष्ट्रिय शिक्षा पद्घति योजना २०२८ ले पाठ्यक्रमलाई ‘शिक्षाको उद्देश्यप्राप्तिका लागि बनाइएको शैक्षिक कार्यक्रम हो’ भनेको छ । शिक्षाका धेरै उद्देश्यमध्येको एउटा प्रमुख उद्देश्य असल नागरिक उत्पादन गर्नु हो । असल नागरिकको अभावमा घर, परिवार, समाज र सिंगो मुलुक प्रताडित हुन्छ । व्यक्तिव्यक्ति मिलेर घर, समाज र मुलुक निर्माण हुने भएकाले हरेक व्यक्तिहरू असल भएमा मात्र आदर्श समाज निर्माण हुनसक्छ । आदर्श समाज निर्माणको आधार नागरिक शिक्षा हो । सानै उमेरमा सिकेको ज्ञानको प्रभाव स्थायी हुन्छ । त्यसैले आधारभूत विद्यालयमा अध्ययन गर्ने उमेर समूहका बालिबालिकाहरूलाई असल शील, स्वभाव, रहनसहन, आचरण तथा चिन्तनको विकास गराउनका लागि नागरिक शिक्षाको ज्ञान चाहिन्छ ।

शिक्षाविद् पेरे बोड्र्युले हरेक बालबालिकाको सिकाइमा उसको पारिवारिक तथा सामाजिक संरचनाले गहिरो प्रभाव पारेको हुन्छ भन्ने धारणा राखेका छन् । यसको अर्थ मानिसको सिकाइमा वातावरणले ठूलो प्रभाव पारेको हुन्छ भन्ने हो । घर तथा समुदायभन्दा अलि परको अर्को महत्वपूर्ण संस्था विद्यालय हो । विद्यालय शिक्षाले बालबालिकाहरूको जीवनमा अझै ठूलो प्रभाव पारेको हुन्छ । शिक्षाविद् मारिया मन्टेश्वरी बालबालिकाहरूलाई दिएको शिक्षा नै असल समाजको बाटो हो भन्छिन् । असल समाज निर्माणका लागि असल सामाजिक व्यवहारको खाँचो हुन्छ । असल व्यक्ति वा समाज निर्माणको स्रोत नागरिक शिक्षा भएकाले स्थानीय पाठ्यक्रममा नागरिक शिक्षाको आवश्यक हुन्छ ।

मानिसको जीवनमा सानै उमेरमा सिकेको ज्ञान अत्यन्त प्रभावकारी हुन्छ भन्ने मनोविद्हरूको ठहर छ । नेपाली समाज बहुसांस्कृतिक, बहुधार्मिक, बहुजातीय र बहुभाषिक चरित्रको छ । हाम्रो जस्तो बहुआयामिक मुलुकमा हरेक व्यक्तिमा समाजमा रहेका विविधतालाई सम्मान गर्नसक्ने लोकतान्त्रिक आचरणको आवश्यक हुन्छ । समाजका बालबालिकाहरू भिन्न धर्म, जात, जाति, संस्कृति र संस्कारका साथीसंगीहरूसँग अन्तक्र्रिया गरिरहेका हुन्छन् । यस सन्दर्भमा एक अर्काका संस्कार र संस्कृतिहरूसँग घुलमिल हुनका लागि नागरिक शिक्षाका विषयवस्तुको ज्ञान आवश्यक हुन्छ । बालबालिकाहरूको कलिलो मस्तिष्कमा रोपिएको ज्ञानले उनीहरूको जीवनमा गहिरो प्रभाव पारेको हुन्छ । यसर्थ, आधारभूत शिक्षा आर्जन गर्ने उमेर समूहका बालबालिकाहरूका लागि नागरिक शिक्षाको विषयवस्तुको प्रशिक्षण अति आवश्यक ठानिन्छ ।

हाम्रो जस्तो बहुआयामिक मुलुकमा हरेक व्यक्तिमा समाजमा रहेका विविधतालाई सम्मान गर्नसक्ने लोकतान्त्रिक आचरणको आवश्यक छ

प्रजातान्त्रीकरण र नागरिक शिक्षाको बीचमा अन्तरसम्बन्ध छ । नागरिक शिक्षाको ज्ञानबिना प्रजातान्त्रिक आचरणको विकास हुनसक्दैन । नागरिक शिक्षाले अर्काको सम्मान गर्न सिकाउँछ । मानिसका कर्तव्य र अधिकारबीचको दायित्व बोध गराइदिन्छ । समाजका बालबालिकाहरूमा प्रजातान्त्रिक आचरणको विकास हुनसकेमा भोलिको समाज प्रजातान्त्रिक बन्नसक्छ । सामाजिक मेलमिलाप झाँगिनसक्छ । सबैभन्दा माथि मुलुक हुन्छ भन्ने चेतनाको विकास गर्न पनि नागरिक शिक्षाको ज्ञान चाहिन्छ । नागरिक शिक्षाले व्यक्तिगत स्वार्थलाई सामूहिक हितको अगाडि त्याग गर्नसक्ने उदार भावनाको विकास गराउँछ । नागरिक शिक्षाको अभावका कारण आज समाज विभिन्न राजनीतिक दल वा क्षेत्रीय चिन्तनमा विभाजित छ । समाजमा (भाइ फुटे गवार लुटे) भन्ने उक्ति चरितार्थ भएको छ । त्यसैले वर्तमान अवस्थाका चुनौतीहरूको सम्बोधन गर्न र नेपालको सुन्दर भविष्य निर्माण गर्नका लागि नागरिक शिक्षाको ज्ञान अनिवार्य सर्त बनेको छ ।

हाम्रो मुलुकमा अहिले ७ सय ५३ स्थानीय तहहरू छन् । यी सबै स्थानीय तहमा नागरिक शिक्षा उत्तिकै महत्वपूर्ण छ । यी स्थानीय तहहरूको भौगोलिक, सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक, भाषिक, प्राकृतिक स्रोत तथा साधनका आधारमा विविधताले भरिएका छन् । स्थानीय तहलाई पाठ्यक्रम निर्माण गर्न दिनुको अर्थ पनि यी भिन्न स्वरूप र सामथ्र्यमा रहेका स्थानीय तहहरूले आप्mनो आवश्यकताअनुरूपको पाठ्यक्रम निर्माण गरी बालबालिकाहरूलाई स्थानीय ज्ञान तथा सीप हस्तान्तरण गर्न सकून् भन्ने हो । नागरिक शिक्षा हरेक स्थानीय तहका बालबालिका तथा जनतालाई आवश्यक पर्ने ज्ञान भएकाले हरेक स्थानीय पाठ्यक्रममा नागरिक शिक्षाको विषवस्तुलाई समावेश गर्नुपर्छ ।

अन्त्यमा स्थानीय पाठ्यक्रम निर्माण गर्दा सम्बन्धित ठाउँको आवश्यकता, व्यक्ति तथा समाजको चाहनालाई सम्बोधन गर्नसक्ने शिक्षाको खाँचो हुन्छ । यस सन्दर्भमा नागरिक शिक्षा हरेक उमेर समूहका बालबालिकालाई आवश्यक पर्ने हुनाले यो शिक्षा अत्यन्त महत्वपूर्ण हुन आउँछ । नागरिक शिक्षाको ज्ञान सबै बालबालिकाका लागि अनिवार्य अध्ययनको क्षेत्र भएकाले हरेक स्थानीय तहमा पाठ्यक्रम तथा पाठ्यपुस्तक निर्माण गर्दा नागरिक शिक्षाको विषयवस्तुलाई प्राथमिकता दिनुपर्छ । त्यसैले, स्थानीय पाठ्यक्रम निर्माण गर्दा जनप्रतिनिधि, स्थानीय बुद्घिजीवी, शिक्षक, प्राध्यापक, अभिभावकलगायत ‘स्टेक होल्डर’हरूले नागरिक शिक्षालाई प्राथमिकतामा राख्नका लागि प्रभावकारी भूमिका खेल्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दार्चुलाको महाकालीमा एमाले र नौगाडमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित