स्वास्थ्य सामग्री खरिदमा व्यापारीका लागि अनुकूल स्पेसिफिकेसन

काठमाडौं । सरकारले खरिद गर्ने स्वास्थ्य सामग्री खरिदमा आफूअनुकूल व्यापारीले मात्र टेन्डर हालेर पार्न सकिने स्पेसिफिकेसन बनाइ टेन्डर खोलेको पाइएको छ ।

स्वास्थ्य सेवा विभागले विश्व बैंकको ऋण सहयोगबाट प्राप्त बजेटमा भ्रष्टाचार गरी कमिसनअनुकूल व्यापारीले मात्र टेन्डर हाल्न सकिनेगरी टेन्डर स्पेसिफिकेसन बनाई टेन्डर खोलेको रहस्य खुलेको छ ।

पण्डितको सेटिङ र मिलेमतोमा करोडौंको चलखेल

स्वास्थ्य सामग्रीको व्यापार क्षेत्रका शक्तिशाली ठेकेदारका रूपमा परिचित विशाल पण्डित अनुकूल स्पेसिफिकेसन बनाई विभागले टेन्डर आह्वान गरी भ्रष्टाचार गरेको हो । आफूअनुकूल स्पेसिफिकेसन बनाउन लगाएर पण्डितले बजार मूल्यभन्दा दोब्बर बढी रकममा करोडौंको सरकारी स्वास्थ्य उपकरण सरकारलाई बिक्री गर्नेगरेको पाइएको छ । स्वास्थ्यमन्त्री र स्वास्थ्य सेवा विभागसँगको बलियो सेटिङका कारण केन्द्रदेखि मधेस प्रदेशको टेन्डरसम्ममा उनकै वर्चश्व रहेको खुलेको छ ।

पण्डित सञ्चालक रहेको हस्पिटेक इन्टरप्राइजेज कम्पनीमार्फत करिब २५ करोडको टेन्डर पार्ने गरी सेटिङ मिलाइएको छ । पण्डितले तत्कालीन स्वास्थ्यमन्त्री मोहन बस्नेत, स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख सुरेन्द्र चौरासियालगायतसँग सेटिङ गरेर टेन्डरको स्पेसिफिकेसन नै आफूले मात्रै दाबी गर्न सक्ने बनाएका छन् ।

विभागले गत माघ ४ गते आह्वान गरेको ५० सेट ‘फिक्सड एक्स–रे ५०० एमए विथ डिटेक्टर’ को २६ करोडमा खरिद गर्नेगरी आह्वान टेन्डरमा डिक्टेर र प्रिन्टरको ठेक्का पण्डितले पाउन निश्चित भएको छ । अन्य आपूर्तिकर्ताले १६ करोडमा नै दिन तयार हुँदाहुँदै विभागले पण्डितसँग सेटिङ गरेर यो मेसिन २५ करोडमा खरिद गर्ने तयारी गरेको छ । एउटा हाइफ्रिक्वेन्सि एक्स–रेको मूल्य करिब १६ लाख, डिटेक्टरको १२ लाख र प्रिन्टरको ४ लाख गरी ३२ लाखमा आउने स्वास्थ्य सामग्रीलाई विभागले ५२ लाखमा खरिद गर्ने प्रपञ्च गरेको छ । पण्डितले दक्षिण कोरियाको पिक्सजेन कम्पनीबाट डिटेक्टर ल्याइदिनेगरी र अर्का मेडिकल व्यवसायी उमेश शर्माले भारतको एलेन्जर कम्पनीबाट एक्स–रे ल्याइदिने गरी टेन्डर प्रस्ताव गर्ने तयारी गरिएको छ ।

तीन वर्षमा दुईवटा खरिद सम्झौतामा कम्तीमा १७ करोडको कारोबार गरेको हुनुपर्ने सर्त राखेर यो मेसिनको खरिदमा विशेषगरी नयाँ सप्लायर्सले टेन्डर नै प्रस्ताव गर्न नसक्ने गरेर कार्टेलिङ गर्न खोजिएको छ । संसारभर ब्याट्री परिवर्तनको जमाना हटिसकेका बेला पण्डितको पुरानो उपकरण खरिद गर्नकै लागि विभागले ब्याट्री परिवर्तन गर्न मिल्नेगरी टेन्डर स्पेसिफिकेसन बनाएको छ । पण्डित अनुकूलको स्पेसिफिकेसन बनाउनमा विभागका दुई बायोमेडिकल इन्जिनियर आशीष चौहान र पद्मा मिश्राले साथ दिने गरेका छन् ।

यसैगरी, संसारभर १ सय माइक्रोन प्रयोगमा आइसकेका बेला विभागले भने यसको स्पेसिफिकेसनमा १५० माइक्रोन मागेको छ । एक्सरे मेसिनमा जति कम माइक्रोन भयो त्यति नै इमेज क्वालिटी बढ्ने हुन्छ । शर्मा र पण्डितबाहेक अन्यले दाबी नै गर्न नसक्नेगरी विभागले यस्तो स्पेसिफिकेसन र मापदण्ड बनाएको हो ।

सिंहदरबारअगाडि मापदण्डविपरीत बसेरा बुटिक होटल खोलेर विवादमा तानिएका पण्डितले यही वर्ष विश्व बैंकको ऋणमा खरिद गर्न लागिएको इन्डोस्कोपिक अल्ट्रासाउन्डको टेन्डर पनि आफैंले हत्याएका छन् । बजारमा डेढ करोड पर्ने यो उपकरणलाई ३ करोड ४० लाखमा बेच्नेगरी उनी ‘सेटिङ’ मिलाएका छन् । विभागले कमिसनको चक्करमा दुइटा इन्डेस्कोपिक अल्ट्रासाउन्डलाई ६ करोड ८० लाखमा खर्च गर्न लागेको प्रस्टै देखिएको छ । डीआर र अल्ट्रासाउन्ड दुवै मेसिनको ठेक्का पण्डितलाई दिलाउन विचौलियाको भूमिकामा पूर्वमन्त्री बस्नेत निकट यज्ञ भण्डारीले भूमिका खेलिरहेका छन् ।

पण्डितकै कम्पनीलाई टेन्डर दिएको आरोपमा ३० साउन २०७६ सालमा स्वास्थ्य सेवा विभागका व्यवस्थापन महाशाखा प्रमुख चौरासियालाई भ्रष्टाचारको उजुरी नै परेको थियो । टी–क्यान, यूएसजी, मेडिकल वेस्टलगायतका उपकरण खरिदमा १६ करोड भ्रष्टाचार भएको आरोपमा अख्तियारमाथि उजुरी परे पनि उनीमाथि अनुसन्धान प्रक्रियाअघि बढ्न सकेको छैन । पण्डितले नै दुई÷तीनवटा फर्मबाट टेन्डर हालेर आफ्नो नाममा पारेको आरोप थियो । जबकि, स्वच्छ प्रतिस्पर्धामार्फत सीटी स्क्यान, यूएसजी र मेडिकल वेस्ट खरिद गरिएको भए १३ करोड मात्रै पथ्र्यो । तर, मन्त्री र विभागसँगको मिलेमतोमा पण्डितले २९ करोडमा बेच्न सफल भए । तर, चौरसिया आफूहरू प्रक्रियाअनुसार खरिद गरिरहेको बताउँछन् ।

मधेस प्रदेशका स्वास्थ्य उपकरणका ठेक्कामा पनि पण्डितकै हालिमुहाली छ । स्वास्थ्य मन्त्रालयअन्तर्गतको आपूर्ति विभागले फागुन १० गते आह्वान गरेको १२८ स्लाइसको दुईवटा सिटी स्क्यान मेसिनको ठेक्का पनि पण्डितले नै पाउनेगरी स्पेसिफिकेसन लक्ड गरिएको छ । स्पेसिफिकेसन आफूअनुकूल बनाउन पण्डितले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र जनकपुरका बायोमेडिकल इन्जिनियर शैलेन्द्र यादवलाई सिरहाको प्रादेशिक अस्पतालमा नै सरुवा गराएको खुलेको छ । त्यहाँ स्थायी इन्जिनियर रहेका उनलाई सिराहा पठाएर उनको स्थानमा बन्दना मिश्रलाई करारमा ल्याइएको छ । मिश्र कुनै बेला पण्डितकै कम्पनीको कर्मचारीसमेत रहेको स्रोतको भनाइ रहेको छ । स्पेसिफिकेसन पण्डितको कम्पनीको उत्पादकसँग मिल्नेगरी बनाएपछि यो टेन्डरविरुद्ध मधेस प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी नै परेको छ । मुख्यमन्त्रीले प्रमुख सचिवलाई कानुनबमोजिम प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिइसकेका छन् ।

यसअघि मधेसका १ सय बढी पालिकाका लागि खरिद गरिएको ठेक्का पनि उनैले पाएका थिए । जबकि, अधिकांश पालिकामा जनशक्ति अभावका कारण ती ल्याब प्रयोगविहीन अवस्थामा छन् ।

लाइफलाइन ट्रेड प्रालिका सञ्चालक समेत रहेका पाण्डेले प्रदेश स्वास्थ्यमन्त्री वीरेन्द्र सिंहसँगको मिलेमतोमा ठेक्का लिन खोजिरहेको बताइएको छ । उनी यसअघि स्वास्थ्य आपूर्ति विभाग सामाजिक विकास मन्त्रालयअन्तर्गत रहँदा पनि नवलकिशोर साहसँग नजिक थिए । नजिक मात्रै होइन, त्यति बेला त मन्त्री साहका छोरा सुमित साह त स्वास्थ्यसम्बन्धी ठेक्कामा बिजनेस पार्टनर नै रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 94 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

माघे सक्रान्तिमा रुरु धाममा भक्तजनको भीड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)