काठमाडौं । कृषा ताम्राकारको बाल चित्रपुस्तक ‘म उड्न सकेँ’ तथा ‘I wish I could Fly’ कथालयले हालै बजारमा ल्याएको छ । पुस्तकमा पन्छीजस्तै बनेर स्वतन्त्र भई आकाशमा उड्न चाहने एक जिज्ञासु बालकलाई मुख्य पात्र बनाइएको छ । पुस्तकका सबै चित्र लेखक ताम्राकारले नै बनाएकी हुन् ।
चरीजस्तै बन्ने तीव्र हुटहुटीले लखेटेको बालकले आफूलाई चरीजस्तै बनाइदिन बाबाजीसामु आग्रह गर्छ । बाबाजी मन्त्र जप्न थाल्छन् । जब एकछिनपछि आँखा खोल्छन्, उनी आफै छक्क पर्छन् । के बाबाजीले उसको इच्छा पूरा गरे होलान् ?
लेखक कृषा ताम्राकार भन्छिन्, ‘मेरो कथाको अन्त्य पाठकको शुरुवात हो’ त्यसमा मलाई खुसी लाग्छ । ‘म उड्न सकें’ लेखक र चित्रकारको रूपमा उनको पहिलो पुस्तक हो । तर यस भन्दा पहिला ‘य:मरि’ लगायत उनका अरू दुई चित्र पुस्तकहरु प्रकाशित छन् ।
पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशित छन् । यस पुस्तकको नेपाली अनुवाद कथालयकी कार्यकारी अधिकृत सुनिती अमात्यले गरेकी हुन् भने, सम्पादन चर्चित कवी विप्लव प्रतीकले गरेका हुन् ।