सुनसरी । सशस्त्र प्रहरी बल नेपाल र समकक्षी भारतीय सुरक्षा निकाय एसएसबीबीच मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिएको छ ।

सशस्त्र प्रहरी र एसएसबीबीच सुमधुर सम्बन्ध र भ्रातृत्व भाव कायम रहोस् भन्ने हेतुले मैत्रीपूर्ण भलिबल खेल आयोजना गरिएको हो ।
सुनसरीको कोशी गाउँपालिका–६ यादव टोलस्थित नेपाल–भारत सहायक सीमा स्तम्भ नं. २०२/१ wp ८१ नजिकै दशगजामा सो खेल सम्पन्न भएको हो । सो खेलमा भारतीय समकक्षी एसएसबी ४५ बटालियन ३–१ सेटले विजयी भएको छ ।

सो खेलमा नेपालतर्फबाट सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहित सुरक्षा समितिका अन्य पदाधिकारीहरु, स्थानीय निकायअन्तर्गत कोशी गाउँपालिका– ६ का वडाअध्यक्ष तथा भारतर्फबाट जिल्ला सुपौलका सहायक डीएम निरज कुमार, एसएसबी ४५ बटालियनका कमाण्डेण्ट गौरभ सिंह, वीरपुर नगरपञ्चायतका वडा प्रमुखहरु, दुवै देशका पत्रकारहरु र एक सय ५० भन्दा बढी स्थानीय सीमावासीहरुको उपस्थिति रहेको थियो ।

सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले ऐतिहासिक रुपमा यस्तो खेलकुद कार्यक्रम सञ्चालन भएको जानकारी दिए ।
सीमावासीसँग सशस्त्र प्रहरी बल नेपाल कार्यक्रमअन्तर्गत सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरीले विविध गतिविधि सञ्चालन गर्दै आइरहेको छ । सोही क्रममा यसअघि नै सीमा पैदल यात्रा तथा अन्तरक्रिया कार्यक्रम, संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको मर्मत म्ंभार तथा रंगरोगन कार्यक्रम सञ्चालन भइसकेको छ ।
