कलामा सम्भावना खोज्दै अरुण

कमलामाई नगरपालिका वडा नं. ३ चपौलीका अरुण दर्नाल (१८) कलै कलाका खानी हुन । उनी सानै उमेरमा नै कला निर्माणमा अब्बल बन्दै गएका छन । सामान्य परिवारमा जन्मेका उनी बहुप्रतिभाका धनी छन ।

अरुण दर्नाल

उनीसँग थुप्रै कला छन तर बाहिर ल्याउने अवसर पाईरहेका छैनन् । कलाले प्रचार नपाउँदा ओझेलमा परिरहेका छन् । कला निर्माणको सिप सिक्ने अवसर उनले पाएका छैनन । विना कुनै प्रशिक्षण, विना कुनै मागदर्शन उनले कला निर्माणलाई भने निरन्तरता दिईरहेका छन । खाली समय पाउनासाथ उनले कि चित्र कोर्न थाल्छन, कि काठका मूर्ति बनाउन थाल्छन, कि त साहित्य लेख्न थालिहाल्छन ।

उनले यतिबेला चित्र, काठका मूर्ति, जराका कला बनाउनेदेखि नृत्य, साहित्य लेखन र साहित्य वाचनमा समेत आफ्नै बलबुताले आफुलाई निखार्दै लान थालेका छन् । वाचन गरेका साहित्यलाई आफ्नै युटुबमा पोष्ट गर्न पनि सिक्न थालेका छन ।

अरुण सानै देखि पेन्सिलबाट चित्र बनाउन सौखिन चाहिँ हुन तर नत स्कुलमा उनको रुचिलाई कसैले साथ दिए नत परिवारले नै अगाडि बढाउन मेसो मेलो पायो । तै पनि उनले ६ वर्षदेखि सुरु गरेको पेन्सिलबाट चित्र कोर्ने काम छोडेनन् । हालसम्म उनले एक सय बढी पेन्सिलबाट कागजमा चित्र कोरेका छन । घरको एउटा कोठाको भित्ताभरी काठको फ्रेम बनाएर चित्र टाँसेका छन । कहिलेकाहिँ साथीहरुकै चित्र बनाएर वा कसैले बनाईदिनु भनेमा फोटो हेरेर जस्ताको तस्तै चित्र बनाउँछन र उपहार दिन्छन । उनलाई त्यस्ता चित्र कति कोरें भन्ने पनि हिसाब छैन ।

अरुण पेन्सिलबाट चित्र कोर्न मात्र अब्बल छैनन्, काठबाट मूर्ति बनाउन पनि उत्तिकै सिपालु छन । उनले काठका मात्रै ६० वटा भन्दा बढी मूर्ति बनाएका छन । शिव, बुद्ध, जनावर, मान्छे, चराहरु, सर्प लगाएतका मूर्तिहरु अब्बल मूर्तिकारले जस्तै गरि बनाएका छन उनले । घरमै पाईने साधन स्रोतको प्रयोग गरेर उनले चित्र, मूर्ति बनाउने गर्छन ।

उनले फुर्सदको समयमा जंगलमा पाईने रुखका जराहरु ल्याएर जर्वुट्टा कला समेत निर्माण गरेका छन । उनलाई कुनै कसैले सिकाएर, तालिम लिएर मूर्ति बनाएका भने हैनन । अरुणका बुबा धन बहादुर वि.क काठको काम गर्छन । बुवाले काठको काम गर्दा बाँकी रहेका काठका टुक्रालाई उनले सदुपयोग गर्छन । बुवाकै काठको काम गर्ने औजारको प्रयोग गर्छन र मूर्ति बनाउँछन । काठका मूर्ति बनाउन थालेको उनले करीब ३ वर्ष भईसकेको छ । उनलाई फर्निचरका सामान बनाउन पनि आउँछ । फर्निचरका सामान बनाउन उनले बुवाले बनाएको देखेरै सिकेका हुन ।

उनीसँग भएको अर्को प्रतिभा हो साहित्य लेखन । उनले कथा, कविता, गजल लेख्छन । अरुणले लेखेका केहि गजल, कथा र कविता स्थानीय पत्रिकामा समेत प्रकाशित भएका छन । उनी नृत्य गर्न पनि रुचाउँछन । रुची मात्र हैन, राम्रो नृत्य गर्छन पनि । बहुप्रतिभा भएका अरुण गाउँकै जलकन्या माविबाट कक्षा १२ पास गरेका छन ।

अब उनलाई उच्च शिक्षामा कलासँग सम्बन्धित विषय नै पढ्न मन छ । उनको रुचिको विषय पढ्न जिल्लामा क्याम्पस छैनन । काठमान्डौ गएर पढ्न घरको आर्थिक अवस्था कमजोर छ । क्याम्पसको खर्च, बस्न, खान काठमान्डौ सजिलो छैन । खेति किसान र ज्यालादारी काम गरेर जीविकोपार्जन गर्दै आएका बाबुले उनलाई पढाउन खर्च जुटाउन हम्मे हम्मे छ । उनलाई जसरी पनि सार्वजनिक जीवनमा कलाबाटै देखिनु, चिनिनु छ । तर उनलाई सहयोग गर्ने र बाटो देखाउने कोहि नहुँदा अन्यौलमा छन । उनी कलामै सम्भावना खोजी गरिरहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 234 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ, २०८१ सालको वर्षफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले क्लिनस्विप गरेको पाख्रिबासमा गठबन्धन विजयी