राजनीतिमा दूरदृष्टिको अभाव

मुलुकलाई सुशासन र विकास दिन राजनीतिक दल र नेतृत्वमा पुग्ने नेतागणहरूमा दूरदृष्टिको अभाव रहेको राजनीतिक शास्त्रीहरू बताउँछन् । राजनीतिलाई स्वार्थसिद्घको माध्यम बनाइरहेकाले राजनीतिक दलहरूप्रति आमनागरिकको आक्रोश बढेको छ । प्रजातन्त्रको पुनस्र्थापना भएपछिको समयलाई मात्र मूल्यांकन गर्ने हो भने दलहरूले राजनीतिलाई मुलुक विकास र जनहितमा प्रयोग गरेनन् । राजनीतिलाई क्षणिक लाभको साधन बनाइरहे । आमनिर्वाचन २०७९ पछाडिको १५ महिनामा तीनपटक सरकार बन्ने र भत्कने काम भयो । मुलुक झनपछि झन भद्रगोलको अवस्थामा पुगेको छ ।

नेपाली जनताले लामो संघर्ष गरेर ल्याएको लोकतन्त्र सीमित व्यक्तिहरूका लागि रजाइँ गर्नका लागि थिएन । लोकतन्त्र आमजनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मातजस्तै भएको छ । अल्पदृष्टि र स्वार्थले निर्देशित दलका शीर्ष भनिने नेताहरू र यिनीहरूका वरिपरी गणेश परिक्रमा गरेर अवसर प्राप्त गर्ने क्रममा रहेका नेताहरूका कारण राजनीति चरम अस्थिर बनेको छ । अहिलेको मिश्रित निर्वाचन प्रणालीका कारण निर्वाचनमा कुनै पनि दलले बहुमत ल्याउनसक्दैन । बहुमत नभईकन सरकार बन्दैन । सरकार बनाउनका लागि संसद्मा रहेका राजनीतिक दलहरूका बीचमा गठबन्धन हुनु अनिवार्य हुन्छ । यस्तै, भइरहेको छ ।

दलहरूले सत्ताका अगाडि राजनीतिक सिद्घान्त र निष्ठालाई वास्ता गर्दैनन् । राजनीति भनेको सत्तामा जानका लागि नै गरिन्छ भन्ने दृष्टिकोणले काम गरेको छ । पालैपालो सत्तामा जाने धेयले मिश्रित निर्वाचन प्रणाली बनाइएको हो भन्ने जानकारहरूको ठहर छ । सत्ताका लागि जुनसुकै दलहरूले पनि गठबन्धन गर्ने र मन्त्री बनिहाल्ने अभ्यास भइरहेको छ । यस मुलुकमा थुप्रै राजनीतिक दलहरू छन् । सरकारमा बहुमत पुराउनका लागि यिनीहरूले बार्गेनिङ गर्ने र सत्तामा जाने अवसर पाइरहेका छन् । भागबन्डामा मन्त्रीहरू बन्ने, मन्त्रीहरू बन्नका लागि कुनै योग्यता, क्षमता वा अनुभव हुन नपर्ने यस गाइजात्रे राजनीतिका पछाडि यिनै दलहरूले बनाएको निर्वाचन प्रणाली जिम्मेवार छ । दलहरूले मुलुकको विकास र सुशासन चाहेका भए यसो गर्ने थिएनन् । अथवा, राजनीतिमा दूरदृष्टिकोण भएको भए, यसो हुने थिएन ।

अहिलेका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले सार्वजनिक ठाउँमै आपूm बाँचुन्जेल नेपालको राजनीतिमा उथुलपथुल भइरहने भाषण गरे । प्रधानमन्त्रीको भाषणको आशयले मुलुकलाई अस्थिर बनाइरहने उद्देश्य रहेको प्रमाणित गर्छ । उनको भनाइमा आपूm राजनीतिक खेलाडी भएको मनोविज्ञानले काम गरेको देखिन्छ । एकातिर मुलुकका राजनीतिक दलहरूमा सिद्घान्त, निष्ठा र दृष्टिकोणको अभाव छ भने अर्कोतिर नयाँ दलका रूपमा उदाएका दलहरू परिपक्व देखिँदैनन् । उनीहरू पनि पुराना दलहरूजस्तै सत्ता स्वार्थमा मरिहत्ते गरेको देखिन्छ । यस्तो राजनीतिक क्रियाकलापले नागरिकहरू निराश भएका छन् । राजनीतिक अस्थिरताले मुलुकले दुःख पाइरहेको छ ।

एक–दुई जना नेताहरूको लहडमा जहिले पनि मुलुक उथलपुथल नहोस्

हाम्रो मुलुकका राजनीतिक दलहरूमा नैतिकता, आदर्श, सिद्घान्त, निष्ठा, इमानदारतिा, दृष्टिकोण तथा लोकलाज भएको पाइँदैन । मुलुक निर्माण गर्ने मार्गचित्र, क्षमता र इमानदारिता छैन । यस्तो अवस्था हुनु नेपाल र नेपालीहरूको दुर्भाग्य हो । मुलुकमा व्यवस्था बदलियो तर अवस्था बदलिएन । दलहरूले लोकतन्त्र, गणतन्त्र, जनतन्त्र आदि इत्यादि उत्ताउला भाषणहरूमा मतदाताहरूको भोट लिने र स्वार्थको राजनीति गर्नेक्रम लामो समयदेखि चलिरह्यो । मुलुक र जनतालाई केन्द्रमा राखेर काम गर्ने नेतृत्वको अभाव खड्किरह्यो ।

नेपालको संविधान २०७२ बनेपछि नागरिकहरूको विकासको आशा थियो । आर्थिक समृद्घिको अपेक्षा थियो । रोजगारीको अवसरको आशा थियो । स्वास्थ्य, शिक्षा, सबै नेपालीहरूको पहँुचमा हुनसकोस् । मुलुक तीव्र विकासको गतिमा अगााडि बढ्नसकोस् भन्ने चाहना थियो । तर, नागरिकका यी चाहनाहरूमा दलहरूले तुषारापात गरे । दलहरूले नयाँ नेपालका नाममा भद्रगोल नेपाल बनाए ।

मुलुक विकास गर्नका लागि सत्ताको बागडोरमा पुगेको नेतृत्वमा राज्य सञ्चालन गर्ने क्षमता, विकासको स्पष्ट रोडम्याप (मार्गचित्र), दृढ इच्छाशक्ति र आर्थिक व्यवस्थापनजस्ता गुणहरू अनिवार्य चाहिन्छ । तर, दलहरूको अर्जनदृष्टि सत्तामा पुग्ने र गठबन्धन जोगाउने काममा केन्द्रित छ । सत्ताका लागि गठबन्धन तोड्ने, नयाँ बनाउने, आपूm सत्तामा जाने र आर्थिक लाभ लिनेजस्ता क्रियाकलापहरू भइरहेका छन् । शीर्ष नेताहरूले कसरी सत्तामा टिकिरहने भन्ने षड्यन्त्रको तानाबाना बुन्नमै समय खर्च गरेको देखिन्छ । यस्तो अल्पकालीन स्वार्थ सिद्घ गर्ने षड्यन्त्र भएकाहरूबाट मुलुकमा रहेका समस्याहरू कसरी समाधान हुनसक्छन् ? मुलुकले विकासको गति कसरी लिनसक्छ ?

राजनीतिमा दूरदृष्टिको अभावका कारण युवाहरू पालयन भए । कृषि उत्पादन घट्दै गयो । विकास निर्माणका कामहरू चुस्त दुरूस्त हुनसकेनन् । व्यापार घाटा बढ्दैगयो । मुलुकमा उद्योगहरू खुलेनन् । निजी लगानीका शिक्षालयहरू महँगा भए । सामुदायिक विद्यालयहरू थलापरे । विश्वविद्यालयहरू लथालिंग भए । भ्रष्टाचार नियन्त्रण हुनसकेन । यसरी हेर्दा अदूरदर्शी राजनीतिक दल र तिनीहरूबाट बन्ने सरकारका कारण उल्लिखित समस्याहरू सिर्जना भएका हुन् । आज मिटर ब्याजपीडितहरू मेची महाकालीबाट पैदल यात्रा गरेर काठमाडौं आउनुपर्ने, आएर पनि न्याय नपाउने, सहकारीहरूले जनताको पैसा खाइदिने, प्रधानमन्त्री, सहकारीमन्त्री तथा राज्यका सम्बन्धित निकायहरू रमिते भएका छन् । किसानहरूले दूध र तरकारी सडकमा प्mयाँक्नुपर्ने जस्ता कार्यहरू भएका छन् । लोकतान्त्रिक राज्यबाट जनताहरू किन पीडित हुनुप¥यो ? यस्तो पनि जननिर्वाचित राज्य हुन्छ ?

दलका शीर्ष भनिने नेताहरूको आफू र आफ्नो स्वार्थगत जडशूत्रीय कार्यले गर्दा मुलुक दिनानुदिन बर्बाद भइरहेको छ । लोकतन्त्रका लागि जेल, नेल, युद्घ, संघर्ष गरेका नेताहरू सत्तामा पुगेपछि मुलुक विकास गर्न असक्षम देखिए । अदूरदर्शी प्रमाणित भए । मुलुकले सक्षम नेतृत्व पाउनसकेन । बारम्बार सरकारहरू पविर्तन भइरहे । यस्तो कार्यले एकातिर गरिब जनताले तिरेको करबाट जम्मा भएको राज्यको ढुकुटीको चरम दुरुपयोग हुनेगरेको छ भने अर्कातिर सरकार परिवर्तन भइरहँदा मुलुकका हरेक क्षेत्रमा नकरात्मक प्रभाव परिरहेको छ ।

अल्पदृष्टि र स्वार्थप्रेरित शीर्षनेता वरिपरि गणेश परिक्रमा गरी अवसर प्राप्त गर्ने नेताका कारण राजनीति चरम अस्थिर बनेको छ

राजनीतिक असक्षमताका कारण मुलुकका प्रायः सबै क्षेत्र कमजोर भएका छन् । बारम्बार सरकारमा जान मरिहत्ते गर्ने राजनीतिक दलहरू र यिनका नेतृत्वले युवाहरूको मिहेनत र पसिनाबिना मुलुक विकास सम्भव हँुदैन भन्ने वास्तविकतालाई बुभ्mन सकेनन् । गाउँमा युवाहरू नबस्दा अहिले उर्वर खेतबारीहरू बाँझिएका छन् । पशुपालन धरासायी भएको छ । आप्mना खेतबारीहरू बँझो राखेर विश्व बजारमा काम गर्न जाने रहर नेपाली युवाहरूको होइन । परन्तु मुलुकमा रोजगारीको अभाव र आत्मनिर्भर बनाउनसक्ने शिक्षाको कमीका कारण युवापुस्ता बिदेसिएको हो । राज्यसँग रोजगारीको खोजीमा छटपटिएको युवापुस्तालाई स्वदेशमा नै आयआर्जनको अवसर सिर्जना गर्ने योजना तथा परियोजनाहरू छैनन् । मुलुकलाई विकासको मार्गमा अगाडि बढाउन युवापुँजीलाई परिचालन गर्ने मार्गचित्र छैन । ग्रामीण बस्तीहरू ज्येष्ठ नागरिक र बालबालिकाहरूका बस्ती बनेका छन् । यस्तो वातावरण सिर्जना गर्ने राजनीतिक दल र यिनका नेतृत्वकर्ताहरूलाई कसरी दूरदर्शी नेतृत्व भन्ने ?

अहिले बनेको सरकारबाट पनि राम्रो कामको अपेक्षा गर्ने ठाउँ छैन भन्नेहरू धेरै छन् । राजनीतिक विश्लेषकहरू भन्छन्, ‘यो सरकार नयाँ बोतलमा पुरानो रक्सी राखेर नयाँ स्वादको अपेक्षा गर्नुजस्तै हो, प्रधान्मन्त्री उनै, कतिपय मन्त्रीहरू उनै, बागबन्डामा योग्यता र विज्ञताबिना नै नियुक्त भएका नयाँ पात्रहरू सत्तामा देखिए तापनि प्रवृत्ति उस्तै छ । त्यही पनि गीतामा भनिएजस्तो जे भइरहेको छ, राम्रैका लागि भइरहेको छ भन्ने आशा गर्ने हो भने जे भइरहेको छ, ठीकै छ भन्न सकिन्छ ।

अन्त्यमा मुलुकमा जे भइरहेको छ, यसभन्दा खराब काम नहोस् । एक दुई जना नेताहरूको लहडमा जहिले पनि मुलुक उथलपुथल नहोस् । मुलुकमा राजनीति कुकर्म अति भइसक्यो । प्रजातन्त्र पुनस्र्थापना पछाडिको ३३ वर्षमा ३० वटा सरकार बन्ने र भत्कने काम भयो । यसभन्दा बढी राजनीतिक अस्थिरता के हुनसक्छ ? अति गर्नु अत्याचार नगर्नु भनिन्छ । अब दलहरूले यसभन्दा बढी अत्याचार नगरून् । सत्ता स्वार्थमा लिप्त नबनुन् । सत्ताको कुर्सीमा पुगेकाहरू भूपि शेरचनले भनेजस्तो घुम्ने कुर्सीमा अन्धा मान्छेजस्ता नबनून् । मुलुक र जनहितमा काम गरून् ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

देउवा-नेपालको भेटले सत्ता समीकरणमा तरंग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सशस्त्र प्रहरीलाई आईजीपी अर्यालको निर्देशन