Monday, June 1, 2020
Home बिचार आधुनिकताले सिर्जित मानसिक बेचैनी

आधुनिकताले सिर्जित मानसिक बेचैनी

नेपाली समाज पूर्वीय मूल्य र मान्यताबाट प्रशिक्षित समाज हो । हाम्रा पुर्खाहरू सेवा नै धर्म हो भन्ने शिक्षादीक्षाबाट प्रशिक्षित थिए । उनीहरूले बटुवालाई बस्न पाटी पौवाहरू बनाए । भरियालाई शीतल ताप्नका लागि चौतारी बनाए । सबैले पानी खान पाऊन् भनेर कुवा खनाए । धर्मात्मालाई बस्नका लागि धर्मशाला निर्माण गरे । गाउँघरमा पशुपन्छीलाई पानी खानका लागि पोखरीहरू खने । समाजमा धार्मिक आस्था जगाउनका लागि मन्दिर निर्माण गरे । व्यक्तिले गर्ने नराम्रो कामलाई धार्मिक आस्थाका आधारमा पापसँग जोडे । राम्रो कामलाई, स्वर्गसँग जोडे । यसरी समाज आर्दशवादी थियो । उपकारी थियो ।

मातृदेवो भवः, पितृदेवो भवः, आचार्य देवो भवः, अतिथि देवो भवः, समाजका आदर्श थिए । समयको विकाससँगै शिक्षा ऋषिकुल, देवकुल, पितृकुल, राजकुल र गुरुकुल हुँदै विद्यालय शिक्षाको अवस्थामा आयो । वैदिककालमा शिक्षाको सम्पूर्ण गतिविधि गुरुमा निहित थियो । गुरु र ऋषि समाजका नेतृत्ववर्ग मानिन्थे । प्राचीन समयमा औपचारिक विद्यालय एवं विश्वविद्यालय थिएनन् । तथापि, समाज कल्याणकारी थियो । परोपकारी थियो । समाजमा दया, धर्म र नैतिक चेतना उच्च थियो । मानिस ईश्वर र समाजसँग डराउँथ्यो । समाजमा नैतिक व्यवहार एवं आत्मअनुशासन थियो । बिस्तारै गाउँगाउँमा आधुनिक विद्यालय खोलिए । कलेज एवं विश्वविद्यालय स्थापना भए । समाज शिक्षित हँुदै गयो । आजको अवस्थासम्म आइपुग्दा देशमा दुईतिहाइ जनसंख्या साक्षर छ । समाजमा विद्वान, बुद्विजीवी, विज्ञ, विशेषज्ञ, लेखकलगायत अध्ययनका लागि प्रशस्त पुस्तक उपलब्ध छन् । धर्मशास्त्रका पुस्तकहरू छन् । उपनिषद् छन् । इन्टरनेटमा पाइने ज्ञानको सागर छ । तथापि समाजमा नैतिकता, जनहितकारी संस्कार र कर्तव्यको बोधजस्ता मानवीय गुण कमजोर बन्दै गएका छन् ।

आज हामीहरू २१आंै शाताब्दीको सातांै दशकमा जीवनयापन गरिरहेका छौं । समाजमा उपलब्ध भएका भौतिक सुविधाको उपयोग गर्ने जीवनशैलीलाई समाजले आधुनिकताको नाम दिएको छ । विज्ञान र प्रविधिको विकासले समाजलाई नवीन जीवन शैलीमा रूपान्तरण गरिरहेको छ । आधुनिक जीवन शैलीको नाममा सामाजिक मूल्यमान्यता, धर्म, संस्कृति, खानपान, भेषभूषा, मानवीय संवेदना, आत्मअनुशासन, नैतिक चेतना एवं परोपकारी भावनामा आमूल परिवर्तन आएको छ ।

आधुनिकताले समाजमा रहेको मानवीय पक्षको क्षति गर्नुका साथै विश्वास, शान्ति, अमनचयनजस्ता सुन्दर पक्ष हराउँदै गएका छन्

त्यसो त परिवर्तन आवश्यक नै छैन भन्न खोजिएको होइन । समयको दौरानसँगै समाज गतिशील हुन्छ । समाजका मूल्य र मान्यतामा फेरबदल हुन्छ । परिवर्तन आवश्यक पनि छ । परन्तु, परिवर्तनले समाजमा रहेको मानवीय पक्षको क्षति भयो भने समाजमा विश्वास, शान्ति, अमनचयनजस्ता सुन्दर पक्षहरू हराउँदै जान्छन् । मानिसमा नैतिक धरातल कमजोर भएमा ऊ व्यक्तिगत रूपमा अराजक बन्छ । भ्रष्ट आचरणको विकास हुँदै जान्छ । समाजमा अविश्वास र बेचैनी हुर्कन थाल्छ । आनन्दको अनुभूति हराउँदै जान्छ । अनि मानिसमा नैराष्यता, उदासिनता, एक्लोपन बढ्दै जान्छ । आत्मिक सुखबाट समाज टाढिँदै जान्छ । आर्थिक समृद्घिले सम्पन्न भए पनि मानवीय गुणको अभाव भएमा मानिसले महल बनाउन सक्ला, सुविधा सम्पन्न विस्तारा किन्न सक्ला, नयाँ तन्ना एवं पर्दा फेरिन सक्लान् । तर, मानिसले निद्रा किन्न सक्दैन । इज्जत र प्रतिष्ठा खरिद गर्न सक्दैन । सुख शान्ति किन्न सक्दैन । अनि हाम्रा महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘हातको मैलासुनको थैला के गर्नु धनले, साग र सिस्नो खाएको वेश आनन्दी मनले’ भनेझैं मानिस आर्थिक सम्पन्नताभित्रको छटपटीमा भौतारिने अवस्थाको सिर्जना हुन्छ ।

अहिले समाजमा आधुनिकताका नाममा परम्परादेखि चल्दै आएका विश्वास, चालचलन, संस्कार, रीतिरिवाज, रहनसहन र विचारबाट निर्माण भएका मूल्य र मान्यता खल्बलिएका छन् । समाजमा रहेका अन्धविश्वास वैज्ञानिकतर्कका आधारमा संशोधन वा परिवर्तन हुनुपर्दछ । तर, पुर्खाले आर्जन गरेका संस्कृति, आदर्श र सामाजिक मूल्यलाई आधुनिक कवचले ढाक्दै गयो भने समाजको मानवीय आदर्श पनि सेलाउँदै जान्छ । संस्कृतिबाट निर्देशित सांस्कृतिक क्रियाकलाप हराउँदै जान्छन् । समाजको नैतिक धरातल खस्कँदै जान्छ ।

अहिले नयाँ पुस्ता पाश्चात्य आधुनिकवादमा अन्धभक्त भएर लागेको छ । अग्रज पुस्ताले नयाँ पुस्तालाई समाजका आधारभूत मूल्यलाई हस्तान्तरण गर्न सकेको छैन । देशको औपचारिक शिक्षालय विकसित देशका लागि कामदार तयार गर्ने कारखानाजस्ता भएका छन् । स्वदेशमा रोजगार छैन । नयाँ पुस्ता आर्थिक समृद्घिको दौडमा वा सुविधाको जोहो गर्ने काममा विदेशमा यान्त्रिक जीवन बिताइरहेका छन् । समाज जति धन, सम्पत्ति र सुविधालाई जीवनको सुख प्राप्तिको स्रोत संकलनमा आतुर देखिन्छ, त्यति नै मानसिक चिन्ता र बेचैनले अशान्त बन्दै छ ।

आधुनिक जीवन जिउन रहर गर्ने हाम्रो समाजले स्वदेशमा नै आर्थिक अवसरसहितको आफ्नै संस्कृति निर्माण गर्नुपर्छ

अहिले हाम्रो समाजमा नैतिक चिन्तन र इमानदारिताको ठूलो खडेरी छ । देशको राजनीति एवं प्रशासनतन्त्र जनमुखी हुन सकेको छैन । व्यापारमा कालोबजारी छ । उत्पादनमा रसायन विषादीको बिगबिगी छ । समाजमा ठगी, चोरी, चकारी, बेइमानी, सम्बन्धविच्छेद, झैझगडा, असझदारी, आत्महत्या, लागूपदार्थ दुव्र्यसनी, दलालीलगायतका क्रियाकलाप बढिरहेका छन् । हिंसा, बलात्कार, अपराधीकरण व्याप्त छ । मानवता एवं संवेदनशीलता हराउँदो छ । यसैगरी समाजमा सहनशीलता, सामाजिक सद्भाव र सहिष्णुमैत्रीपूर्ण व्यवहार कमजोर बन्दै छ । आफ्नै शिक्षित छोराछारीबाट नै बृद्घ मातापिता अपहेलित हुनुपरेका घटना व्याप्त छन् । समाजमा यी र यस्ता आचरण एवं व्यवहार आधुनिक भनिने चालचलनका उपज बनेका छन् ।

शिक्षाशास्त्री ओटावेले नवजात शिशु जन्मँदा असामाजिक हुन्छ भन्दै उसलाई सामाजिक र मानवीय जीवनचर्यामा परिणत गर्ने काम घरपरिवार समुदाय, विद्यालयलगायतका निकायको हो भन्ने आशय व्यक्त गरेका छन् । यसको अर्थ मानिस जन्मँदा उसले खाली दिमाग लिएर जन्मन्छ र उसको खाली मस्तिष्कमा जस्तो वातावरण वा शिक्षादीक्षा दियो । तदअनुरूपको ज्ञान आर्जन गरी उसले बानी, व्यवहार सिक्दछ भन्ने हो । बालबालिकालाई घरपरिवार, समुदाय तथा विद्यालयले जस्तो शिक्षादीक्षा दियो त्यहीअनुरूपको व्यक्ति, व्यक्तित्व एवं समाज निर्माण हुन्छ । अहिले समाजशास्त्रीय दृष्किोणबाट हेर्दा अभिभावकमा आफ्ना छोराछोरीलाई देशभक्त, नैतिकवान्, कर्तव्यनिष्ठ, सरल, सभ्य, इमानदार एवं कर्मशील बनाउनुभन्दा पनि आधुनिक शिक्षा पढाउने र विदेश पठाउने चिन्तन तीव्र रूपमा रहेको पाइन्छ ।

अहिले युवापुस्ता गाउँघरमा छैनन् । गाउँटोल वृद्घवृद्धा बस्ने ठाउँ भएका छन् । किसान परिवारका खेतखला बाँझिएका छन् । गोठहरू भत्किएका छन् । पुर्खाले बनाएका पाटी, पौवा, मठ, मन्दिर, पोखरी एवं चौतारी भत्किएका छन्, कति जीर्ण अवस्थामा छन् । पुर्खाले जीवन चलाउनका लागि आविष्कार गरेका स्थानीय आविष्कार एवं उपकरण जाँतो, ढिंकी, चेपुवा कोल, हँसिया, खुर्पेटो, नाम्लो, दाम्लो, कुटो, कोदालो, ठेकी, मदानी, चौंठी लोप हँुदै छन् । हाम्रा लोकबाजागाजा, डम्फु, मादल, सारंगी, झ्याली, सोरठी, रोदी, मिथिला चित्रकलालगायतका विविध समुदायका भाषा, संस्कृति तथा सम्पदा छांयामा पर्दै छन् । यिनीहरूको संरक्षण गर्नुपर्छ कि पर्दैन ? नयाँ पिंढीलाई पुस्तान्तरण गर्नुपर्छ कि पर्दैन ?

हो, समाजमा गरिबी, आर्थिक अभाव, शैक्षिक बेरोजगार छ । राज्यले सञ्चालन गरेको शिक्षाले मुलुकमा रहेको प्राकृतिक स्रोतसाधनको उपयोग गर्नसक्ने ज्ञान र सीप भएका जनशक्ति उत्पादन गर्न सकेको छैन । त्यसैले युवापुस्ता वैदेशिक रोजगारमा जान बाध्य भएको छ । यस सन्दर्भमा एकातिर राज्यले युवापुस्तालाई व्यावहारिक शिक्षाको माध्यमबाट स्वदेशमा नै आयआर्जनका क्षेत्रहरू सिर्जना गर्नसक्ने व्यावसायिक शिक्षा दिनुपर्छ भने अर्कोतिर आफ्ना छोराछोरीलाई विदेश पठाएर देखावटी रूपमा समाजमा नाक लामो गराउने अभिभावकको चिन्तन बदलिनु आवश्यक छ ।

अन्त्यमा, संस्कृति, संस्कार, परोपकार, आध्यात्मिक चेतना, सामाजिक सद्भावबिनाको आधुनिक जीवनशैलीको खोजीले व्यक्ति एवं समाजमा मानसिक बेचैनी बढाउँछ । बरु विश्वजगत्मा उपलब्ध भएका विज्ञान र प्रविधिलाई कृषि, पशुपालन, घरेलु उद्योगलगायतका क्षेत्रमा उपयोग गरी यी काम गर्ने तरिकामा आधुनिकता खोज्नुपर्छ । आधुनिक जीवन जिउन रहर गर्ने हाम्रो समाजले स्वदेशमा नै आर्थिक अवसरसहितको आफ्नै संस्कृति एवं संस्कारभित्रको आधुनिक जीवनयापन गर्ने मानसिकता बनाउनुपर्छ ।

(Visited 67 times, 1 visits today)
Loading comments...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

थप २२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १७ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा २२६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा...

प्रदेश पाँचमा ७७ जनाले जिते कोरोना

बुटवल । प्रदेश नम्बर पाँचमा ७७ जना कोभिड–१९ (कोरोन भाइरस) लाई जितेर घर फर्किका छन । रूपन्देही, बाँके, कपिलवस्तु, दाङ र पश्चिम नवलपरासीका गरी...

क्वारेन्टाईनमा बसेकालाई खाना खुवाउन सक्रिय छ एनडी प्रकाश भोजन चुलो

डडेल्धुरा । नेपाली काग्रेस डडेल्धुराले एनडी प्रकाश चटौत आपतकालिन भोजन चुलो मार्फत डडेल्धुराका विभिन्न क्वारेन्टाईनमा रहेका व्यक्तिहरुको भोक मेटाउने कार्य गरेको छ । कोरोना संक्रमणको...

बाँकेमा गाडी दुर्घटना : मृतक र घाइतेको स्वाब परीक्षण हुँदै

बाँके । बाँकेमा गएराति भएको सवारी दुर्घटनामा परेर मृत्यु भएका र घाइते भएकाको कोरोना भाइरस भए/नभएको पुष्टि गर्न स्वाब सङ्कलन गरिएको छ । भेरी...

भर्खरै

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

धेरै पढिएका

गुल्मीका ३१ बर्षीय पुरुषले १० दिनमा जिते कोरोना

गुल्मी । गुल्मीमा ३१ बर्षीय पुरुषले १० दिनमा कोरोना जितेका छन् । मदाने गाउँपालिका ६ पुर्कोट दहस्थित कृषि विकास बैंकका कर्मचारी ओव बहादुर डाँगीले...

सप्तरीमा एक घण्टाको वर्षाले अधिकांश सडक र टोल जलमग्न

सप्तरी । हावाहुरी र मेघगर्जनसहित सोमबार करिब एक घण्टा भएको वर्षाले सदरमुकाम राजविराजसहित ग्रामिण क्षेत्रका अधिकांश सडक जलमग्न भएको छ । वर्षाको पानीले सिरहा...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण, संक्रमित सबै भारतबाट आएका

सर्लाही । सर्लाहीमा एकैदिन ३८ जनामा कोरोना संक्रमण देखिएको छ । कविलासी नगरपालिकामा ३ जना महिलासहित ३६ र हरिपुर नगरपालिकामा १ जना महिला गरी...

ई-पेपर

(Visited 35 times, 2 visits today)