वर्षका हरेक महिना केही न केही ठूला पर्व परिरहेका हुन्छन् । चैत्र महिनामा चैत्राष्टमी मुख्य पर्व मानिदै आए पनि यो महिनाभर श्रीमद्भागवत् कथा वाचन र श्रवण गरिन्छ । यसमा चराचर जगतको सृष्टि, विकास र मानव मात्रको चासोका विषयमा सबै प्रकारले व्याख्या गरिएको छ । त्यसैले यस पुराणलाई पुराणहरूको पनि पुराण भनिन्छ । यही अर्थमा यो महापुराण हुन गएको हो ।
श्रीमद्भागवत पुराण खास गरी हिन्दुहरूको र ज्ञान आर्जन गर्न तथा हिन्दु धर्मको सार श्रवणका लागि सबै सम्प्रदायहरूका लागि सर्वश्रेष्ठ ग्रन्थ पनि हो । यसमा भगवान विष्णुको विभिन्न २४ अवतारको वर्णन गरिएको छ । विष्णुको अवतार द्वापर युगमा श्री कृष्णका रूपमा भएकाले यसमा कृष्ण चरित्रलाई प्रधान बनाइएको हुन्छ ।
पुराण विभिन्न देव देवीका स्वरूप र तिनका अवतारलाई पात्र र प्रवृत्तिका रूपमा प्रदर्शित गरिएको हुन्छ । श्रीमद्भागवतमा यसै कारणले पनि विष्णुको र त्यसमा पनि विष्णुको अवतार मानिएका श्रीकृष्णको चरित्रको विस्तृत वयान छ । यसको रचना महर्षि कृष्णद्वैपायन व्यास अर्थात् वेद व्यासले ब्रह्मर्षि नारदको प्रेरणाबाट गरेका हुन् ।
भनिन्छ, महाभारतजस्तो महाग्रंथको रचनापछि पनि वेद व्यास सन्तुष्ट र प्रसन्न हुन सकेनन् । उनको मनमा खिन्नता रहिरह्यो । उनको अन्तरमनमा देखिएको खिन्नता मेट्न नारदले वेद व्यासलाई प्रेरणा दिएपछि यो ग्रन्थ तयार हुन गएको भनिन्छ । यसको केन्द्रमा भगवान विष्णु रहेका छन् । शायद विष्णुको मानव अवतारबाट वेदव्यास सन्तुष्ट भएनन् । उनले, यस कारण पनि, श्रीमद्भागवत्को रचनामा आफ्नो आशक्ति व्यक्त गरे ।
१२ स्कन्ध रहेको श्रीमद् भागवतमा १८ हजार श्लोक छन् । हिन्दु पुराण साहित्यमा श्रीमद्भागवतलाई समस्त श्रुतिहरूको सार, महाभारतको गुह्य तथा तथा ब्रह्मसूत्रको भाष्य मानिन्छ । यसमा सृष्टिको रचनादेखि कलियुग र त्यसको विनाश सम्मको कथा छ । यसमा भगवान र तिनका विविध अवतारको जीवन कर्म र शिक्षा तथा सन्देश समावेश गरिएको छ ।
श्रीमद्भागवत व्यवहारिक र गृहस्थ्यतासम्बन्धी जीवन ग्रन्थ हो । यसमा आम जीवनमा उपयोगी धेरै कुरा छन् ।