फागु भनेको फागुन शुक्ल अष्टमीदेखि पूर्णिमासम्म परस्परमा रङ छ्यापेर तथा अबिर दलेर नाच्ने गाउनेगरी विभिन्न किसिमका रङले एक अर्कोमा रमाइलो मनाउने उत्सव हो । यही उत्सवलाई फागु अर्थात् होली नामबाट चिनिन्छ । यस पर्वलाई फागु वा होली भनेर उच्चारण गर्नुका पछाडि फागुन महिनामा पर्ने धेरै चाडमध्ये यो पर्व एउटा रमाइलो चाड हो । यो पर्व होलीका नामकी राक्षसलाई मारेको खुसीमा मनाइने पर्व भएकाले होली या फागु भनिएको हो भन्ने किंवदन्ती छ । यसरी होलीका मरेको उपलक्ष्यमा सबैले खुसियाली मनाउन होली खेल्ने चलन सुरु भएको कुरा भविष्य पुराणमा उल्लेख छ । यसर्थ वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ ।
नेपाली समाजमा फागु पर्वलाई विशेष उल्लासमय वातावरणमा मनाउने गरिन्छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइने यो पर्व यस वर्ष यही चैत्र ११ गते आइतबार परेको छ तर पूर्वको सुरुवात भने एक साताअधि अर्थात् फागुन शुक्ल अष्टमीदेखि हुने गर्छ । फागु पर्वले नयाँ उत्साह, जोस, जाँगर र नवीन ऊर्जालाई छताछुल्ल गरी सामाजिक एकता र सद्भावमैत्री र भाइचारा जगाउने गर्छ । उराठलाग्दो चिसो मौसमलाई बिदा गर्दै वसन्तको सिर्जनात्मक बिहानी बोकेर आउने एक साता लामो फागु उत्सवको उष्कर्ष फागु पूर्णिमा नै हो । सबै जाति, सबै धर्म, सम्पूर्ण संस्कृतिप्रेमीको यो सिंगो चाड हाम्रो तराई क्षेत्रमा त झनै विशेष धुमधामका साथ मनाइन्छ ।
पर्वको खुसियालीको आडमा प्रश्रय पाउँदै आएका अनेकौं विकृति र विसंगतिको अन्त्य गर्न सचेत रहनुपर्छ
यसमा खासगरीकन मिथिलाञ्चलको जनकपुरदेखि सम्पूर्ण समथर भू–भाग र काठमाडौं उपत्यकालगायत पहाडी पवित्र होली उत्सवले चिनिने फागु पर्वलाई ‘चिरदाह’का रूपमा पनि लिइन्छ । यसमा धार्मिक शास्त्रअनुरूप असत्यमाथि सत्यको विजय, कुण्ठा, ईष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय उत्सवका रूपमा लिइने यस पर्वलाई मिथिली भाषामा ‘संमत जलाउने’ पनि भनिन्छ । विशेषगरी युवापुस्ताका लागि रङीन र जीवन्त यो महोत्सव होलिका महोत्सवले पनि चिनिएको छ ।
हाम्रो नेपाली समाजमा फागु पर्व पनि एउटा विशेष महत्व बोकेको चाड पनि हो । हरेक वसन्त ऋतुुको आगमन साथै वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ, लोला आदि प्रयोग नगरी आफ्ना दौतरीबीच रमाइलो गर्ने आनन्ददायक पर्व हो । यस पर्वमा भगवानको भजन कीर्तनको साथ साथै नाचगान गरी विभिन्न किसिमका रङले एकआपसमा मिलेर अबिर दल्दै आमोदप्रमोद गर्दै हाँसखेल ठट्टा गरेर आनन्द मनाउनु यो पर्वको मर्यादित गरिमा मान्न सकिन्छ । यस पर्वलाई अनुशासित रूपमा मनाउने परम्पराको मानसिकतालाई जीवन्त राख्नु सबैको परम कर्तव्य हो । यस पर्वलाई उमेरको हदबन्दी छैन, त्यस्तैगरी राजादेखि रंकसम्म सबैले आपसमा मिलेर बढो उल्लासमय वातावरणमा रम्ने गर्छन् । यसमा खास गरी युवायुवती बढो जाँगरका साथ यस पर्वमा बढीभन्दा बढी संख्यामा सहभागी हुन्छन् र रमाउँछन् ।
फागुपूर्णिमा अर्थात् होलीको प्रचलन कसरी आयो त भनी खोतल्ने हो भने विभिन्न धार्मिक कथा भेटिन्छन् जसको कारणले होली पर्व चलेको छ । यसमा पनि भन्ने नै हो भने प्राचीनकालमा हिरण्यकश्यपु नामक राक्षसका प्रल्हाद नाम गरेका छोरा थिए तर बाबु पापिष्ट राक्षस भए तापनि छोरा प्रल्हाद भने बडो विष्णुभक्त थिए । उनका बाबुले आफ्नो छोरालाई विभिन्न कोसिस गरेर बाटो अगाल्न लगाउँदा पनि भगवान् विष्णुको भक्त प्रल्हादको डेग नचलेपछि बहिनी होलिकालाई हिरण्यकश्यपुले छोरा प्रल्हादलाई आगोमा हालेर मार्न लगाए । तर, प्रल्हादको विष्णुभक्तिले गर्दा आगोले नजल्ने तपस्या पाएकी होलीका उल्टै भष्म भइन् भने प्रल्हादलाई आगोले केही गर्न सकेन । सोही खुसियालीमा होलीपर्व चलेको हो भन्ने किंवदन्ती छ ।
फागुपूर्णिमाको एक साता अगाडिदेखि नै आफ्नो कार्यालय, स्कुल, क्याम्पस, बाटो हिँड्ने आदि व्याक्तिलाई जथाभावी रङाइदिने, लोला हान्नेजस्ता घटना सामान्य भइसकेका छन । यस्तै, किसिमको सामान्य घटनाले उग्र रूप लिइ जनधनको ठूलो नोक्सान नहोला भन्न सकिन्न । यसमा पनि रङ उत्सवको खुसियालीपूर्ण चाडलाई नबुझी हिंसात्मक वा त्रास र विकृतिपूर्ण रूपमा मनाउनु मूर्खता हो । फलतः सञ्चारमाध्यमको भनाइअनुसार विभिन्न किसिमका रसायन मिसाइएको रङ, कालोमोसो, अबिरमा बालुवा, लोलामा नालीको लेदो, पोखरीको दूषित पानी बेलुनद्वारा हाल्नेजस्ता निन्दित एवं घृणित कार्य हुन्छ साथै यस्तो पवित्र दिन स्म्याक, हिरोइन, भांग, गाँजा, रक्सी खाई साथमा विभिन्न प्रकारका रङका पुरिया राखी मोटरसाइकलमा चढी सार्वजनिक स्थलमा पुग्छन् । तसर्थ, देशका सहरका युवक र विदेशी पर्यटकलाई समेत रङले विरूप पारिदिन्छन् । जुन होलीको नाममा यस्ता किसिमका उच्छृंखल कामले गर्दा देशको संस्कृति र उत्सवप्रतिको खस्किँदो चाहना दिनप्रतिदिन बढ्दै गएको छ । तर, विडम्बना हाम्रा यावत् यस्ता महान् र महामानव बनाउने यावत कार्य हिजो आज आएर फेसन र मनोरञ्जनमा परिणत हुँदै छन् ।
धार्मिक शास्त्रअनुरूप होली असत्यमाथि सत्यको विजय, कुण्ठा, इष्र्या र वैमनस्यतामाथि सरल, सहज, द्वेषरहित र स्नेहको विजय मानिन्छ
अन्त्यमा भन्नुपर्दा प्राचीन कालदेखि मनाउँदै आएका विभिन्न चाडपर्वमध्ये फागु वा होली पनि एउटा विशेष महत्वको चाड हो । वस्तुतः फागुन शुक्ल अष्टमीका दिन चिर गाडी अबिर छरेर पूजा गरी सुरु गरिने चाड पूर्णिमाको रातमा चिर बालेपछि समाप्त हुन्छ । मुख्य होलीको दिन एक आपसमा अबिर दलादल गर्ने र मिठामिठा पकवान खाने चलन छ । वर्षमा एकचोटि आउने चाड सभ्य तरिकाले कसैको इच्छाविपरीत रङ नलगाएर आफू आफूमा मात्र खेल्यौ भने मात्र सही अर्थमा होलीको महत्व रहन्छ । यो पर्व नेपाल र भारतलगायत विश्वभरि नै रमाइलो गरी मनाउने गरेका छन् । विश्वको एक मात्र हिन्दु राष्ट्र नेपालको आफ्नै संस्कृति र वेशभूषा रहेको छ । हाम्रो संस्कृति, सभ्यता परम्परानुसार वर्षभरि नै कुनै न कुनै पर्व पर्ने गर्छ । कुनै पनि चाडपर्वको विशेषता नै चित्त शुद्ध पार्नु र शारीरिक रूपले निरोगी हुनु हो ।
जुन विशुद्ध उद्देश्यबाट यो पर्व परापूर्वकालदेखि सुरु भयो सोहीअनुरूप हाल व्यवहारमा देखापर्न सकिरहेको छैन । यो पर्व नेपाल र भारतलगायत विश्वका अरू हिन्दुधर्मावलम्बीले अति नै रमाइलो गरी मनाउने चाड हो । धर्म मान्ने र पर्व मनाउने क्रममा खासगरी हाम्रो मुलुकमा मानिसले विदेशी तडकभडक र छाडा संस्कृति भित्याउने गरेको अवस्था कसैबाट छिपेको छैन । यस्ता पर्वको खुसियाली मनाउने क्रममा हाम्रो समाजमा अनेकौं विकृति र विसंगतिले प्रश्रय पाउँदै आएको छ । यस्ता किसिमका गलत प्रवृत्ति हटाउन बेलैमा सम्पूर्ण नेपाली सचेत हुनुको साथै सरकारले पनि कडाभन्दा कडा कानुनी प्रक्रिया पु¥याइ दरिलो कदम चाल्नुपर्छ ।
यसले गर्दा हाम्रो धर्म र संस्कृतिमा कुनै किसिमको विकृतिको अन्त्य हुन जाने विश्वास लिन सकिन्छ । नत्र भने हाम्रो अनादिकालदेखि नै चल्दै आएको धार्मिक तथा संस्कृति संस्कार, सभ्यता, परम्परा एवं रीतिरिवाजलाई विकृतिले जरो गाडी हाम्रो अस्तित्व संकटमा पर्न जाने तथ्यलाई नकार्न सकिन्न ।