किशोर–किशोरीका समस्या र सुझाव

युवायुवती किशोर–किशोरीले कुल जनसंख्याको झन्डै २४ प्रतिशत भाग ओगटेका छन् । आगामी ३० वर्षसम्म अहिलेका किशोरीहरू प्रजननशील उमेरमा रहनेछन् । त्यस्तै प्रकारले झन्डै २० प्रतिशत जनसंख्याको भार युवायुवतीले ओगटेका छन् । त्यसैगरी, ध्यान दिनुपर्ने कुरा के छ भने अहिले नै प्रजननशील उमेरमा र जनसंख्या वृद्धिको कारकका रूपमा छन् । यदि जनसंख्या वृद्धिदरलाई कम गर्ने हो भने हाम्रो कार्यक्रम यी सबै समूहमाथि केन्द्रित हुनु आवश्यक छ ।

अन्तर्राष्ट्रिय मान्यतानुसार युवा भनेको सामान्यतया १५ देखि २९ वर्षसम्मका उमेरसमूहका मानिसहरूको समूह हो । विश्व स्वास्थ्य संगठनले शारीरिक स्वास्थ्यका दृष्टिकोणबाट १५ देखि २९ वर्षको उमेरसम्मका मानिसको समूहलाई युवा भनी व्याख्या गरेको छ । नेपालमा यो कुल जनसंख्याको करिब २७ प्रतिशतजति पर्न आउँछ । नेपाली राष्ट्र सागर, २०५७ ले युवालाई तरुण, युवक, जवान, नवजवान भनी परिभाषित गरेको छ । यसैगरी, अक्सफोर्ड डिक्स्नरीले युवालाई ‘युथ द टाइम ह्वेन ब पर्सन इज योङ्ग स्पेसियल्ली द टाइम बिफोर अ चाइल्ड बिकम एन बडल्ट’ भनेको छ ।

संख्यात्मक र गुणात्मक दुवै दृष्टिकोणले युवावर्गलाई मुलुकको सबैभन्दा महत्वपूर्ण वर्गका रूपमा लिइन्छ । युवावर्गलाई राष्ट्रनिर्माणको कर्मठ र सक्रिय जनशक्तिका रूपमा लिने गरिन्छ । युवावर्ग राष्ट्रको मेरुदण्ड हो । मुलुकलाई विकासको अग्रपंक्तिमा लैजानका लागि युवावर्गको महत्वपूर्ण र अग्रगामी भूमिका तथा योगदान रहने कुरालाई कसैले नकार्न सक्दैन । तसर्थ, मुलुक विकासमा यस वर्गलाई स्तम्भ (पिल्लर)का रूपमा स्वीकार गरिन्छ । युवाहरूको जोश, जाँगर, हौसला, सिर्जनशीलता र कार्यकुशलतालाई अन्य कुरासँग तुलना गर्न सकिँदैन । तर, राष्ट्रनिर्माणमा युवावर्गको यत्रो महत्वपूर्ण भूमिका र दायित्व रहँदारहँदै पनि युवावर्गमा विभिन्न किसिमका चुनौती रहेका छन् । अधिकांश युवावर्ग आत्मविश्वासको कमीबाट ग्रसित छन् । विभिन्न कारणले गर्दा उनीहरूलाई मुलुकको आर्थिक तथा सामाजिक विकासमा अपेक्षित रूपले परिचालन गर्न सकिएको छैन ।

युवा शक्तिलाई ठोस रूपमा परिचालन गर्ने उद्देश्य लिई ६ असोज २०५२ मा युवा, खेलकुद तथा संस्कृति नामक छुट्टै मन्त्रालय गठन भयो । तर, २०५८ सालमा युवा र खेलकुद शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गत एउटा शाखाका रूपमा कार्यरत रहेको छ । मन्त्रालयको खेलकुद तथा युवा कार्यक्रम शाखाले युवा सम्बन्धमा विगतदेखि विभिन्न क्रियाकलापहरू जस्तैः युवा परिचालन, युवा निबन्ध प्रतियोगिता सञ्चालन, अन्तर्राष्ट्रिय युवा दिवस मनाउने कार्य, युवानीतिको मस्यौदा निर्माण, खेलकुद प्रतियोगिता सञ्चालन, युवा बुलेटिन प्रकाशन, युवा आदानप्रदान कार्यक्रम, गैरसरकारी संघसंस्थासँग सहकार्य आदि सञ्चालन गर्दै आएको छ ।

राष्ट्रिय तथ्यांक कार्यालयले प्रकाशित गरेको राष्ट्रिय जनगणना २०७८ को मुख्य नतिजामा उल्लेख गरिएनुसार कुल जनसंख्याको ६१ दशमलव ९६ प्रतिशत १५ देखि ५९ वर्ष उमेर समूहका रहेका छन् । गत २०६८ सालमा यो उमेर समूहका जनसंख्या ५६ दशमलव ९६ प्रतिशत मात्र रहेको थियो । हाल १४ वर्ष वा सोभन्दा कम उमेरका र ६० वर्ष वा सोभन्दा माथिल्लो उमेरका जनसंख्या क्रमशः २७ दशमलव ८३ प्रतिशत र १० दशमलव २१ प्रतिशत रहेको छ ।

किशोरावस्था मानसिक एवं मनोवैज्ञानिक रूपमा जीवनको दोस्रो दशकमा यात्रारत हुन्छ

यसलाई अंग्रेजीमा एडल्सेन्स भनिन्छ भने यसको नेपाली रूपान्तरणमा किशोरावस्था वा वयस्क अवस्था भन्ने अर्थ लाग्छ । एडल्सेन्स शब्दको ब्युत्पत्ति ल्याटिन भाषाको ‘एडोलेसर’बाट भएको हो, जसको अर्थ हुन्छ बढ्नु (टु ग्रो) वा परिपक्वतातिर बढ्नु । विश्व स्वास्थ्य संघले १० वर्षदेखि १९ वर्षसम्मका केटाकेटीहरूलाई किशोर–किशोरी भनी परिभाषित गरेको छ । यसलाई वाल्यवस्थापछिको वयस्क अवस्थामा प्रवेश गर्ने अवस्था पनि भनिन्छ । किशोरावस्थाको वर्गीकरण गर्दा जीव विज्ञान र मनोविज्ञानका अलगअलग आधारहरू छन् भने वैज्ञानिक आधारमा हेर्दा यस अवस्थालाई सीमान्त अवस्था ‘मार्जिनल सिचुएसन’ भनिन्छ ।

किशोर–किशोरीहरूको शैक्षिक स्थितिलाई अध्ययन गर्दा किशोरहरूको तुलनामा किशोरीहरू शिक्षा प्राप्त गर्नबाट पछाडि परेको कुरा तथ्यांकले देखाएको छ । प्रायसः किशोरीहरू विवाहपश्चात विद्यालय नजाने प्रवृत्ति देखिएको हुँदा किशोरको तुलनामा किशोरीहरूको शैक्षिक स्थिति कमजोर रहेको पाइन्छ । यसो हुनुमा महिलाहरूको कम उमेरमा विवाह हुने सामाजिक प्रवृत्ति जिम्मेवार देखिन्छ । विवाह सामाजिक घटना हो । सामान्यतया नेपालमा प्रजनन विवाहपश्चात मात्र हुने हुँदा हाम्रो जस्तो समाजमा विवाहको उमेरको प्रजननमा महत्वपूर्ण भूमिका रहन्छ । नेपालमा क्रमिक रूपमा महिलाको विवाहको उमेर बढ्दै गइरहेको पाइन्छ । कम उमेरमा बच्चा पाउनाले आमा र बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकाले समेत विवाहको उमेरको आफ्नै महत्व छ ।

नेपालमा विवाहको प्रचलन झन्डै सर्वव्यापक नै छ भने चाँडो विवाह गर्ने प्रचलन पनि यथावत नै रहेको पाइएको छ । यसरी चाँडो विवाह गर्नु भनेको प्रजनन प्रक्रियामा पनि चाँडै भाग लिनु हो । नेपालमा महिलाको बच्चा जन्माउन औसत उमेर भनेको २० वर्ष रहेको छ । यसले के जनाउँछ भने नेपालमा प्रायः महिलाले २० वर्ष नपुग्दै एउटा बच्चा जन्माइसकेका हुन्छन् भने १५ देखि १९ वर्ष समूहका करिब २१ प्रतिशत किशोरी कति त आमा बनिसकेका छन् वा पहिलो सन्तानको जन्म दिइसकेका छन् वा हाल पहिलोपटक गर्भवती छन् । यस्तो बच्चा जन्माउने महिलाको अनुपात उनीहरूको बढ्दो शिक्षानुसार घटेको देखिन्छ । जस्तै, ३२ प्रतिशत अशिक्षित महिला आफ्नो किशोरावस्थामै आमा बनिसकेका छन्, जुन एसएलसी वा सोभन्दा माथिका महिला ८ प्रतिशत मात्र रहेका छन् । परिवार नियोजनको साधनको ज्ञान उच्च भए तापनि यसको प्रयोग विवाहित किशोरीमा अत्यधिक कम भएको पाइएको छ ।

नेपाल जनसांख्यिक र स्वास्थ्य सर्वेक्षण, २००१ ले हाल विवाहित किशोरीमध्ये मात्र १२ प्रतिशतले परिवार नियोजनको साधन प्रयोग गरिरहेको कुरा देखिएको छ । सबैभन्दा बढी प्रयोग गरेका आधुनिक साधनमा क्रमशः कन्डम (१० दशमलव ४ प्रतिशत), सुई (६ दशमलव ४ प्रतिशत) र खाने चक्की पिल्स (३ दशमलव ८ प्रतिशत) छन् भने त्यसैगरी परम्परागत विधिमा प्रायः स्खलन विधि (७ प्रतिशत) प्रचलनमा रहेको पाइएको छ । हाल कुनै पनि आधुनिक परिवार नियोजनको साधनको प्रयोग गर्ने विवाहित १५ देखि १९ वर्षसम्मका किशोरीको प्रतिशत क्रमशः १२ र ९ प्रतिशत छ । (पुरुषका लागि भने कुनै तथ्यांक प्राप्त छैन) त्यस्तै बढ्दो उमेरसँगै परिवार नियोजनका साधनको प्रयोगमा पनि कमी आउँछ भन्ने कुरालाई हामी नकार्न सक्दैनौं ’cause कम उमेरका महिला जन्मान्तरका लागि परिवार नियोजनको साधन प्रयोग गर्छन् भने बढी उमेरका महिला अरू थप बच्चा नजन्माउनका लागि प्रयोग गर्छन् ।

नेपालमा परम्परागत रूपले अर्थात् सुडेनीको सहयोगबाट बच्चा जन्माउने प्रचलन मातृ मृत्युदरको मुख्य कारण भए तापनि यसको प्रचलन अझै पनि प्रख्यात छ । विशेषगरी ग्रामीण क्षेत्रमा यसले महत्वपूर्ण भूमिका खेलेको छ । अझै पनि आधाभन्दा बढी महिला नातेदार तथा साथीको सहयोगबाट बच्चा जन्माउँछन् । २० वर्षभन्दा कम उमेरका एक चौथाइ महिलाले यस्ता प्रकारका सुडेनीद्वारा बच्चा जन्माएका छन् । करिब ११ प्रतिशत बच्चा मात्र स्वास्थ्य सुविधायुक्त स्थलमा जन्मिएका छन्, जसमध्ये १८ प्रतिशत बच्चा मात्र दक्ष स्वास्थ्यकर्मी अर्थात् डाक्टर, नर्स, अनमी, स्वास्थ्य सहायक वा अहेव, मासिका र ग्रामीण स्वास्थ्य कार्यालयको सुपरिवेक्षणमा जन्मिएका छन् । गर्भावस्थासम्बन्धी स्याहारमा २० वर्षभन्दा कम उमेर समूहका महिला जसले जीवित बच्चालाई जन्म दिएका छन्, ती महिलाका बढी भएको देखिन्छ । यस अवस्थामा स्वास्थ्य जाँच एक महत्वपूर्ण पक्ष रहे तापनि विभिन्न कारणले स्वास्थ्य जाँच एक ठूलो समस्या बन्न पुगेको छ । झन्डै ८८ प्रतिशत किशोरीले विभिन्न कारणले गर्दा स्वास्थ्य सेवा पाउनु ठूलो समस्या हो, भनेका छन् ।

‘औषधि खाएर गर्भपतन गराउन २० वर्षमुनिका युवतीहरू धेरै आउँछन्,’ सिन्धुलीमा सञ्चालित एक मेडिकल सञ्चालकले भने । कम उमेरमा गर्भ रहने र पतन गराउने क्रम बढेको भन्दै कार्यालयले परिवार नियोजनसम्बन्धी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने जनाएको छ । परिवार नियोजनका साधनमध्ये छोटो अवधिका साधन प्रयोग गर्नेको संख्या उल्लेख्य छ । कार्यालयबाट कन्डम, पिल्सलगायत छोटो समयका लागि काम गर्ने साधन, इम्प्लाट र कपर टीलगायत ५ वर्षभन्दा लामो समय काम गर्ने साधन प्रयोग गर्ने गरेका जनाइएको छ ।

विश्व स्वास्थ्य संगठन (सन् २०१२) का अनुसार तालिमप्राप्त चिकित्सक तथा नर्सद्वारा गरिने गर्भपतनलाई सुरक्षित गर्भपतन मानेको छ । नेपालमा हाल १२ सातासम्मको गर्भपतनलाई सुरक्षित मानिन्छ । सरकारी मान्यताप्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट १२ सातासम्मको गर्भपतन निःशुल्क रूपमा गराउन सकिन्छ । त्यस्तै, जबर्जस्ती करणी वा बलात्कारको हकमा भने १८ सातासम्मको गर्भलाई जुनसुकै बेला गर्भपतन गर्न सकिने व्यवस्था छ । गर्भमा रहेको शिशु विकलांग भएमा, आमाको स्वास्थ्यमा जटिल समस्या उत्पन्न भएमा पनि जुनसुकै बेला गर्भपतन गराउन सकिन्छ । त्यबसाहेक, अनिच्छित गर्भ रहेको खण्डमा ९ सातासम्मको गर्भपतन गर्दा त्यसको जोखिम कम रहन्छ भने १२ साताभन्दा माथिका गर्भपतनमा जोखिम हुने सम्भावना बढी रहने चिकित्सकहरू बताउँछन् ।

स्वतन्त्रताको भावना विकास हुँदा यस अवस्थामा किशोर–किशोरीले आफ्नो समस्या आफैं समाधान गर्न खोज्छन्

किरोरावस्था मानसिक एवं मनोवैज्ञानिक परिवर्तनको यस्तो अवस्था हो, जहाँ ऊ न बच्चा रहन्छ न त युवा र जीवनको दोस्रो दशकमा यात्रा गर्ने किशोर–किशोरीहरूमा शारीरिक रूपमा परिवर्तनहरू पनि यसै अवधिमा तीव्र रूपमा हुने गर्छ । उनीहरू’bout एकातिर विस्तृत अध्ययनको अभाव छ भने अर्कोतिर उनीहरूलाई आवश्यक पर्ने विविध सेवा प्रभावकारी रूपमा पु¥याउन पनि सकिएको छैन । विश्वभरी यिनीहरूको स्वास्थ्यसम्बन्धी (खासगरी प्रजनन स्वास्थ्य) आवश्यकता’bout निकै चर्चा भई सोअनुरूप कार्यक्रमहरू विकास भइरहेको पाइन्छ । शिक्षालाई कुनै पनि सकारात्मक परिवर्तनको प्रमुख तत्वका रूपमा विविध अध्ययनहरूले स्थापित गराइसकेको छ । शिक्षाबाटै मानवीय व्यवहारमा सकारात्मक परिवर्तन आउँछ । सामाजिक, आर्थिक विकासको प्रमुख सूचकांक पनि शिक्षा नै हो । जनसंख्या व्यवस्थापनको पक्षबाट हेर्दा शिक्षा र प्रजननबीच विपरीत सम्बन्ध रहेको पाइन्छ भने विवाहको उमेर तथा परिवार नियोजनको साधनको प्रयोग र शिक्षाबीच सकारात्मक सम्बन्ध रहेको पाइन्छ ।

किशोरावस्था एक महत्वपूर्ण अवस्था हो, जसमा व्यक्तिको आचरण एवं व्यवहारमा तत्कालै र दीर्घकालसम्म पनि प्रभाव पार्ने भएकाले किशोरावस्थालाई महत्वपूर्ण अवस्थाका रूपमा लिने गरिन्छ । यसबेला केटाकेहीहरू शारीरिक एवं यौन विकासमा परिपक्व भइसकेका हुन्छन् । उनीहरू सामाजिक संयोजन हुनका लागि सामाजिक कार्यमा सक्रिय भई लाग्ने हुनाले पनि यो अवस्था महत्वपूर्ण हुन्छ । लामो समयपछि किशोरावस्था आउने भएकाले किशोरकिशोरीहरूले पूर्वअपरिपक्व व्यवहारहरू छाडिसकेका हुँदैनन् । यौवनवस्था बानी व्यवहारका रूपमा समाजले स्वीकृति नदिने हुँदा यस उमेर अवस्थालाई संक्रमण अवस्थाका रूपमा लिइन्छ । किशोरावस्था परिवर्तनको अवस्था हो । हरेक व्यक्तिका लागि किशोरावस्था एक परिवर्तनको अवस्था हो । यस अवस्थामा किशोरत्किशोरीहरूको शारीरिक परिवर्तनको तीव्रतासँगसँगै व्यवहार एवं मनोवृत्तिमा तीव्र परिवर्तन आउनुका साथ संवेगात्मक रूपमा पनि परिवर्तन देखापर्छ । विशोरावस्था भनेको बाल्यावस्था र वयस्क अवस्थाबीचको अवस्था भएकाले यस अवस्थालाई जटिल अवस्था पनि भनिन्छ । यस अवस्थामा खासगरी पाँचवटा परिवर्तनहरू देखापर्छन् । किशोरावस्था एक समस्यायुक्त अवस्था हो । बाल्यावस्थामा प्रायः आफ्ना अभिभावक तथा शिक्षकले पुरै वा आंशिक रूपमा समस्या समाधान गरिदिनाले उनीहरू आफैं समस्या समाधान गर्न अनुभवहीन देखिन्छन् । साथै, किशोर–किशोरीहरूमा हुने स्वतन्त्रताको भावनाले गर्दा आफ्नो समस्या आफैं समाधान गर्न खोज्छन् । अभिभावक तथा शिक्षकले कुनै सहयोग गर्न खोजेमा त्यसमा आपत्ति जनाउँछन् ।

किशोरावस्थाका विशेषताहरू
१. किशोरावस्था परिवर्तनको अवस्था हो,
२. किशोरावस्था दोधारको अवस्था हो
३. किशोरावस्था महत्वपूर्ण अवस्था हो
४. किशोरावस्था परिचय खोज्ने अवस्था हो
५. किशोरावस्था वयस्कपनको सँघार हो
६. किशाोरावस्था दिवास्वप्नको अवस्था हो
७. किशोरावस्था डराउने र दुःखी हुने अवस्था हो
८. किशोरावस्था समस्यापूर्ण अवस्था हो ।

वर्तमान १५औं योजना (२०७६–२०८१ साल) मा बालबालिका तथा किशोर–किशोरीको विकास कार्यक्रमअन्तर्गत बालअधिकार सुनिश्चित भएको बालमैत्री समाज बनाउने सोच राखिएको छ । बालबालिका तथा किशोर–किशोरीलाई सबै प्रकारका हिंसा, दुव्र्यवहार र शोषणबाट मुक्त बनाउँदै, उनीहरूको हकअधिकार संरक्षण तथा प्रबद्र्धन गरी राष्ट्रनिर्माण गर्नसक्ने, योग्य र सक्षम नागरिकका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ । यसका साथै बालबालिका तथा किशोर–किशोरीको अधिकारको संरक्षण र प्रबद्र्धन गर्नु, बालबालिका तथा किशोर–किशोरीमैत्री वातावरणको सिर्जना गर्नु, बालबालिका तथा किशोर–किशोरीविरुद्ध हुने शारीरिक तथा मानसिकलगायत सबै प्रकारका हिंसा, विभेद, दुव्र्यवहार, शोषण र उपेक्षाको अन्त्य गर्ने उद्देश्य राखिएको पाइन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 908 times, 1 visits today)

epaper

ताजा समाचार

सिन्धुलीमा सुमोले ठक्कर दिँदा ८ वर्षिय बालकको मृत्यु