लमजुङ । लमजुङमा आयोजना गरिएको राष्ट्रव्यापी खुला प्रतियोगितामा पर्वत पहिलो, खोटाङ दोस्रो र लमजुङ तेस्रो भएका छन् । ठाडोभाका लोककला प्रतिष्ठान नेपालले वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको ११९ औं स्मृति दिवसमा सो प्रतियोगिताको आयोजना गरेको हो ।
साहित्यका लागि पर्यटन काव्यायात्राको दोस्रो शृंखला अन्तरगत आयोजित उक्त प्रतियोगितामा कुल १७२ जनाले भाग लिएका थिए । सो प्रतियोगितामा तीन चरणमा गरी अन्तिम नतिजा घोषणा गरिएको थियो । जसमा पर्वतकी सजीना पौडेल पहिलो भएकी छन् भने खोटाङका अनाम उपेक्षित (लिवन राई) हाल मलेसिया निवासी दोस्रो भएका छन् । त्यसैगरी, प्रतियोगितामा विजयराज न्यौपाने लमजुङ हालः काठमाडौं तेस्रो भएको आयोजकको भनाइ छ । यसैगरी, तुलसीप्रसाद भट्टराई झापा र उदयपुरकी सुमी पोखरेलले सान्त्वना स्थान हासिल गरेका छन् । बैतडीका कर्णदयाल सोराङीलाई विशेष सान्त्वना पुरस्कार प्रदान गरिएको आयोजक ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कोषाध्यक्ष सीता गुरुङले बताइन् । उनका अनुसार प्रतियोगितामा सर्वोत्कृष्ठ ठहर भएका १८ जना कविहरूलाई अन्तिम चरणमा सहभागी गराइएको थियो । उक्त प्रतियोगिताको निर्णायकमा कविवर भुवनहरि सिग्देल, कविद्वय प्रभा भट्टराई र गोविन्दबहादुर कुँवर निर्णायक थिए ।
राष्ट्रिय कवि गोष्ठीका साथमा गरिएको उक्त पुरस्कार वितरण कार्यक्रममा ती विजेताहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङ, विशेष अतिथि त्रय गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेल, मस्र्याङ्दी गाउँपालिका र क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष क्रमशः अर्जुन गुरुङ र सूर्यप्रसाद गुरुङले संयुक्त रुपमा पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए । उक्त प्रतियोगितामा पहिलो हुनेलाई ४० हजार रुपैयाँ, दोस्रोलाई ३० हजार रुपैयाँ, तेस्रोलाई २० हजार रुपैयाँ तथा सान्त्वना स्थान हासिल गर्नेलाई १०– १० हजार रुपैयाँ र विशेष सान्त्वना स्थानलाई छ हजार रुपैया नगदका साथ फ्रेमसहितको प्रमाणपत्र प्रदान गरिएको आयोजक प्रतिष्ठानका कोषाध्यक्ष सीता गुरुङले बताइन् ।
नेपाली भाषा, साहित्य एवम् संस्कृतिका लागि आफ्नो जीवन समर्पण गरेर क्रियाशील रहदै आउनु भएका नेपाल प्रज्ञा प्रतिष्ठानका निवर्तमान उपकुलपति डा. जगमान गुरुङले वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको व्यक्तित्व र कीर्तित्वलाई बचाउन र उठाउन उनका नाउँमा प्रतिष्ठान र पुस्तकालय खोल्नु पर्नेमा जोड दिए । पुरस्कार वितरण गर्दै डा गुरुङले
राष्ट्रकवि घिमिरेलाई कविता लेख्न सिकाउनुका साथै राष्ट्रकविको पहिलो कृति समेत डिल्लीजङले प्रकाशन गरिदिनु भएको थियो । जो आफूसँग आज पनि सुरक्षित छ डा.गुरुङले भने । कविवरले कपिल गीताको भावानुवाद गरे र जतिपनि उनका कृतिहरू छन्– सबै वेदान्त प्रकृति परक छन् त्यसो भएको हुनाले उनलाई वेदान्त शिरोमणि हुनुभएको हो भने । यस प्रकार नेपाली भाषा, साहित्य, सेवा तथा विकासका कार्यमा समेत उत्तिकै रुचि राख्ने र काम समेत गर्ने बानी वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको थियो । यस्ता व्यक्तिको अमरत्वका लागि उनका नाउँमा प्रतिष्ठान र पुस्तकालय सञ्चालन गर्नु पर्छ र त्यो कार्य गर्न कविवरको परिवारजनहरू सक्षम समेत छन् भन्ने दोहोर्याउँदै डा.गुरुङले जोड दिए ।
घनपोखरा लमजुङ तेस्रो आँखा भएको बताए । उनले पहिलो आँखा दुराडाँडा र दोस्रो आँखा चितिमा रहेका बाहुनहरू ङार्रर ङुर्रर गर्दा पनि के हो बाहुन बाजेहरू ? भने पनि उनीहरू चुप बस्ने गरेको हुँदा जहिले पनि घनपोखराले मध्यस्थ र मध्यमार्र्गी बाटो लिएको स्मरण गरे । उनले वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको व्यक्तित्व र कीर्तित्वका ’boutमा गर्भावस्थादेखि मृत्यु पर्यन्तका विशेष घट्नाहरू सविस्तार उल्लेख गरे । कविवर डिल्लीजङका पिता कविवर गर्भमै छँदा बित्नु भएको थियो त्यसैले उहाँलाई ‘गर्भे सुब्बा’ पनि भनिन्थ्यो । जन्मदा केही व्यक्तिको राजग्रह परेको हुन्छ भन्दै डा.गुरुङले त्यसमध्येका एक कविवर डिल्लीजङ हुन्् ।
उक्त कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य भेषबहादुर पौडेल, मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, क्ब्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङ, नेपाली काँग्रेसका गण्डकी प्रदेशका संगठन विभाग प्रमुख हरिप्रसाद बराल, राप्रपाका जिल्ला उपाध्यक्ष ठाकुरप्रसाद गुरुङ, अनेसासको नेपाल च्याप्टरका अध्यक्ष राजेन्द्र केसी, डा. जीवन अधिकारी, सहप्रा. ज्ञाननिष्ट ज्ञवाली, अनेसास नेपाल च्याप्टरका निवर्तमान महासचिव ऋषभदेव घिमिरे, वरिष्ठ मुक्तककार दिव्य गिरि, मुक्ताकार मीना चौलागाई, अनुपम सिर्जना प्रतिष्ठान कलंकीका उपाध्यक्ष जगदिश्वर पोखरेल लगायतले शुभकामना मन्तव्य सहित दुई दर्र्जन बढीले कविले आआफ्ना रचना वाचन गरेका थिए ।
सो अवसरमा वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङको अर्धकदको सालिका अनावरण, उनको व्यक्तित्व चिनाउने कविवर मेदिनी सु्वेदीद्वारा लिखित ‘मेरो कविगुरु डिल्लीजङ गुरुङ’, अनेसासद्वारा प्रकाशित राष्ट्रकवि माधव घिमिरे विशेषांक ‘दर्पण’ तथा ठाडोभाका लोककला प्रतिष्ठान नेपालद्वारा प्रकाशित स्मारिकाको विमोचन गरिएको थियो ।
दुई दिने उक्त कार्यक्रममा अघिल्लो दिन साँझ ठाडोभाकाको विशेषप्रस्तुति गरी पाहुनाहरूलाई मनोरञ्जन प्रदान गरिएको थियो । सो अवसरमा अनेसास नेपाल च्याप्टरलागयतलाई सहकार्य गर्ने विभिन्न संस्था तथा व्यक्तिहरूलाई सम्मान गरिएको थियो ।
वेदान्त शिरोमणि कविवर डिल्लीजङ गुरुङका कान्छा छोरा मेजर गोपाल गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा उनले धन्यवाद मन्तव्य समेत व्यक्त गरेका थिए भने ठाडोभाका लोककला प्रतिष्ठान नेपालका अध्यक्ष नवराज पहाडीले सञ्चालन तथा उपाध्यक्ष शोभा थापाले स्वागत गरेकी थिइन् ।