सुन्दरहरैचा । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एक कार्यक्रम आयोजना गरी ‘दुर्व्यसनीविरुद्ध आमाहरू’ कार्यक्रमको शुभारम्भ गरेको छ ।
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुवेर खापुङको प्रमुख आतिथ्यतामा मोरङको बेलबारी नगरपालिकाको सभाहलमा सो कार्यक्रमको शुभारम्भ भएको हो ।
शुभारम्भ कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि खापुङले बालबालिकासँग आमाहरूले बढी समय दिनुका साथै उनीहरूको बानी बेहोराको समेत जानकारी राख्ने भएकाले आफ्नो छोराछोरी लागूऔषधको कुलतमा फसे नफसेको तथा बानी बेहोरामा आएको परिवर्तन आमाले सहजै महसुस गर्ने भएकाले आमाहरूलाई लक्षित गरी यो कार्यक्रमको थालनी गरिएको बताए । उनले यो कार्यक्रमले लागूऔषध दुर्व्यसनीीबाट हुने अपराध न्यूनीकरणमा सहयोग पुग्ने र जनचेतनामा अभिवृद्धि भई सुरक्षित समाजको निर्माणमा टेवा पुग्ने बताए ।

यो अभियान बुधबारबाट कोशी प्रदेशका १४ वटै जिल्लामा लागू भएको छ भने स्थानीय स्कुल कलेजका विद्यार्थी, श्रमिक वर्गको बाहुल्यता भएको स्थान, यातायात क्षेत्रका श्रमिक भएका बस्तीका बासिन्दा, लागूऔषध सेवनकर्ता, अन्तर्राष्ट्रिय सिमानासँग जोडिएका बस्तीका बासिन्द, लागूऔषध प्रभावित स्थानीय तहमा नेपाल प्रहरीले स्थानीय निकायका विभिन्न संघसंस्थासँग समन्वय र सहकार्य गरी निरन्तर रूपमा सञ्चालन गर्नेछन् ।
कार्यक्रमकी अध्यक्ष बेलबारी नगरपालिकाकी उपप्रमुख नितु थापा कोइरालाले नेपाल प्रहरीले युवाहरूलाई लागूऔषधको कुलतबाट जोगाउन शुभारम्भ गरेको ‘दुर्व्यसनीविरुद्ध आमाहरू’ कार्यक्रममा स्थानीय तहको सदैव साथ र सहयोग रहने बताइन् ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले स्वागत मन्तव्य राखेका थिए भने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब उपरीक्षक सुनिल दाहालले लागूऔषध दुर्व्यसनीीविरुद्धको सचेतनासम्बन्धी प्रस्तुतीकरण दिएका थिए ।






