एमाले स्याङ्जा नवौ अधिवेसनको तयारीमा

स्याङ्जा । नेपाल कम्युनिष्ट पार्टी एमाले स्याङ्जा नवौ जिल्ला अधिवेसनको तयारीमा जुटेको छ । प्रत्येक ३–३ बर्षमा गरिने अधिवेसन यो पटक भने २ बर्षमै हुदैछ । चैत्र २३ र २४ गते जिल्ला सदरमुकाम पुतलीबजार जिल्ला अधिवेसन गर्ने निर्णय गरेर तयारी थालेको एमाले स्याङ्जाले नेतृत्व देखी जिल्ला कार्य समिति चुन्न वडातहमा अधिवेसनको सरगर्मी शुरु भएको छ । केन्द्रीय नेतृत्वलाई अभिभावक मान्दै गुटगतको अन्त्य भएको दावीगर्दै आएको एमालेले दोस्रो तहका नेताले भने प्रदेश अधिवेसनबाटै गुटगतको राजनीति मौलाएको देखिन्छ । यो रोग जिल्लातहमा पनि देखिन थालेको छ ।

नेतृत्व चुन्न वडातहमा अधिवेसनको सरगर्मी

चैत्र १७ गते जिल्लाका ९७ वटै वडामा एकैदिन जिल्ला अधिवेसन प्रतिनिधि छनोट तयारीमा पार्टी जुटेको एमाले जिल्ला अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) ले जानकारी दिए । सबै वडातहलाई जिल्ला अधिवेसन प्रतिनिधि चुन्न पत्राचार गरिसकेको र सबै वडातहका पार्टीका संगठित सदस्यहरु प्रतिनिधि छनोट प्रक्रियामा अगाडी बढेको अध्यक्ष गैह्रेले बताए । ६० जना संगठित सदस्यबाट एक महिला सहित ३ जनाप्रतिनिधि छनोट गर्न पाइने व्यवस्था एमालेको विधानमा रहेको छ । ६० भन्दा माथी ३० जना बराबर एकजनाका दरले प्रतिनिधि चुन्ने व्यवस्था रहेको छ ।

त्यसैगरी उत्पीडीत समुदायबाट भने पालिकास्तर बाट चुनिने व्यवस्था रहेको एमालेले जनाएको छ । हरेक पालिकामा ४० जना बराबर एक जना महिला सहित ३ जना जिल्ला अधिवेसन प्रतिनिधि चुन्न पाईने व्यवस्था छ । वडातहबाट र पालिकाबाट चुनिने प्रतिनिधि झण्डै ६ सय ५ जना भन्दा बढी हुने अनुमान रहेको अध्यक्ष गैह्रेले बताए । वडातहबाट आएका प्रतिनिधिहरुको संख्याको आधारमा ५ प्रतिशत प्रतिनिधि जिल्ला बैठकले चुन्ने व्यवस्था एमाले केन्द्रीय निर्वाचन समितिले गरेको परिपत्रमा उल्लेख छ । नेकपा एमाले स्याङ्जामा हालसम्म नविकरण गरेका सांगठनिक सदस्य ९ हजार १ सय ७१ जना रहेका छन् । यीनै सांगठनिक सदस्यहरुबाट जिल्ला अधिवेसन प्रतिनिधि चुनिने अध्यक्ष गैह्रेले बताए । जिल्ला अधिवेसनलाई भब्यरुपले सम्पन्न गर्न जिल्ला देखी वडातह सम्म कार्यकर्तालाई तयारीमा जुट्न निर्देशन समेत दिएको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।

चैत्र २३ र २४ गते हुने एमाले स्याङ्जाको नवौ जिल्ला अधिवेसनको उदघाटनका लागि केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीलाई निम्तो पठाइएको अध्यक्ष गैह्रेले बताए । अहिले सम्म केन्द्रीय अध्यक्ष आउन सक्ने वा नसक्ने भन्ने बिषयमा केही जानकारी नआएको बताइएको छ ।

अध्यक्षमा गैह्रे र डुम्रेको चाहना
नेकपा एमाले स्याङ्जाको नवौ अधिवेसनमा अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष सुर्यप्रसाद गैह्रे (पारस) र सचिव राजेन्द्र डुम्रेले चाहना व्यक्त गरेका छन् । दुवै जना सगँ राजधानी दैनिकले गरेको कुराकानीमा अध्यक्ष पदमा चाहना रहेको बताएका छन् । गैह्रे र डुम्रे वर्तमान कार्य समितिका अध्यक्ष र सचिव हुन् । दुईबर्ष अगाडी भएको आठौं अधिवेसनमा एउटै प्यानलबाट निर्वाचन लडेका गैह्रे र डुम्रे नवौ अधिवेसनमा अध्यक्ष पदमा भिड्न सक्ने एमालेका एकजना जिम्मेवार कार्यकर्ताले नाम उल्लेख नगरिदिने सर्तमा बताए ।

पछिल्लो समय नेकपा एमालेमा पनि गुटगत राजनीति चल्न थालेको छ । बाहिरी आवरणमा नदेखिए पनि भित्री आवरणमा भने एमालेमा गुटगतको राजनीति चर्को रहेको ति कार्यकर्ताले बताए । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेसन पछि जिल्लातह सम्म गुटगत राजनीति हाबीहुन थालेको बताइएको छ । गण्डकी प्रदेशमा पृथ्वीसुब्वा गुरुङ र पदमा अर्याल, खगराज अधिकारी विच बनेको गुटबन्दीको असर स्याङ्जामा पनि देखिएको छ । एमालेको केन्द्रीय सचिव रहेकी पद्मा अर्यालको जिल्लामा नवौ अधिवेसन नजिकिदै गर्दा अर्यालको भुमिका कस्तो रहन सक्छ भन्ने चर्चा समेत शुरु हुन थालेको छ । आठौं अधिवेसनमा वर्तमान अध्यक्ष गैह्रेलाई अध्यक्ष बनाउन खुलेर लागेकी नेतृ अर्याल अहिले भने गैह्रेको पक्षमा नदेखिन सक्ने अनुमान ति कार्यकर्ताले लगाए । गण्डकी प्रदेशमा गुटगतको समुह फेरेकी अर्याल आफ्नो गृह जिल्लामा संगठनलाई मिलाएर लैजान सफल हुन्छिन् या असफल हुन्छिन् त्यो भने हेर्न बाँकी छ ।

नवौ अधिवेसनमा पृथ्वीसुब्बा गुरुङ्को समुह र पद्मा अर्यालको समुहबाट छुट्टाछुट्टै उम्मेदवार बन्न सक्ने बताइएको छ । दुईदिन अगाडी छिमेकी जिल्ला कास्कीमा भएको निर्वाचनमा पृथ्वीसुब्बा गुरुङ समुह पराजित भएपनि स्याङ्जामा भने गुरुङ्को समुह बलियो रहेको ति कार्यकर्ताले बताए । जिल्ला अध्यक्षमा चाहना व्यक्त गरेका गैह्रे गुरुङ् समुहबाट र डुम्रे अर्याल समुहबाट चुनाव लड्ने पक्कापक्की जस्तै भएको बुझिएको छ । तर दुवै समुहका नेताले भने मुख खोलेका छैनन् ।
एमाले स्याङ्जाका जिम्मेवार एक सदस्यले राजधानी दैनिकसगँ भने आठौंमा देखिएको समुह अहिले छिन्न भिन्न भएको सुनाए । उनका अनुसार गुरुङ समुहमा वर्तमान जिल्ला अध्यक्ष गैह्रे, गण्डकी प्रदेशका उपाध्यक्ष तथा एमाले स्याङ्जाका पुर्व अध्यक्ष मिनप्रसाद गुरुङ्, सुधिर पौडेल, सिमाकुमारी क्षेत्री, मोहन रेग्मी, विश्व पौडेल, खिम थापा, उदय श्रेष्ठ, यामबहादुर कुँवर, राजु कोइराला, सरस्वती भट्टराई, खिमनारायण मानन्धर, सुर्य कुँवर, रामविर गुरुङ, दानबहादुर थापा, विश्वनाथ अर्याल लगायतका नेताहरु रहेका छन् । यता अर्याल समुहमा राजेन्द्र डुम्रे, नारायण मरासिनी, सिता सुन्दास, कृष्ण खाँण, दिलिपकुमार वगाले, घनश्याम सुवेदी, शोभाकान्त पौडेल, लक्ष्मीपति पौडेल, सन्तोष केसी लगायतका नेताहरु रहेका छन् ।

आठौ अधिवेसनमा छुट्टै समुह बनाएका नारायण मरासिनी यो पटक भने अर्यालको समुहमा देखिएका छन् । तर पनि उनले अर्यालको समुहमा रहने वा नरहने भन्ने बिषयमा भने मुख नखोलेको बताइएको छ । एमालेका सांगठनिक नेताको पहिचान बनाएका वालिङका पुण्यप्रसाद अर्याल र गल्याङ्का भुपराज अधिकारी भने अहिले सम्म कुनै समुहमा पनि देखिएका छैनन् । दुवै जना एमाले केन्द्रीय सचिव अर्यालसगँ रुष्ट रहेको बताइएको छ । प्रदेश अधिवेसनको बेला दुवै जना खगराज अधिकारी समुहमा रहेपनि स्याङ्जामा भने खगराज, पद्मा समुहमा नरहन सक्ने आकलन ति कार्यकर्ताले सुनाए । जिल्लामा अर्याल र अधिकारी नेतृत्व चुन्नेक्रममा निर्णायक रहन सक्ने बताइएको छ ।

गुरुङ समुह र अर्याल समुह बिच एमाले जिल्लाको नेतृत्वमा निर्वाचन भयो भने निकै प्रतिस्पर्धा हुने देखिन्छ । तर पालिकास्तरको नतिजा हेर्ने हो भने ३ पालिका बाहेक अन्य पालिकामा गुरुङ समुह निकै बलियो रहेको बताइन्छ । यसरी हेर्दा नवौ जिल्ला अधिवेसनले अर्याल समुहलाई निकै कमजोर बनाउन सक्ने दावी ति कार्यकर्ताको छ । अर्याल पनि एमाले जिल्लाको नेतृत्व सम्हालेको व्याक्ति भएकाले कमजोर भन्न सकिने अवस्था भने छैन । अहिले सम्म एमाले स्याङ्जाको राजनीति अर्यालकै हातमा छ । उनले अहिले सम्म कसलाई नेतृत्व दिने भन्ने बिषयमा मुख नखोलेको बताइएको छ ।

एमाले स्याङ्जाको नवौ जिल्ला अधिवेसनमा अध्यक्षको चाहना राखेका गैह्रे अध्यक्ष भएमा दोस्रो कार्यकाल हुनेछ भने डुम्रेको पहिलो कार्यकाल हुनेछ । नेकपा माओवादीको शसस्त्र युद्धबाट उदाएका गैह्रे २०७४ मा एमाले र माओवादी पार्टी मिलेर निर्माण भएको नेकपा पार्टीको अध्यक्ष भएका थिए । पछि माओवादी र एमाले फुटेपछि उनले एमाले पाटी रोजेर एमाले भएका थिए । आठौं अधिवेसनबाट उनी नेकपा एमाले स्याङ्जाको अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नो दोस्रो कार्यकालका लागि पुन अध्यक्ष बन्न चाहना रहेको बताउदै गैह्रेले सबै सगँ सल्लाह गरेर मात्रै उम्मेदवारी दिने बताएका छन् । ३ बर्षेकार्यकाल भएपनि यो पटक केन्द्रीय समितिले छिट्टै जिल्ला अधिवेसन तोकिदिदा कार्यकाल पुरा गर्न नपाएको गैह्रेको भनाई छ । पछिल्लो समय शालिन नेताका रुपमा प्रस्तुत गरेका गैह्रे निर्वाचनमा जान्छन् या सहमतिमै टुङ्ग्याउने रणनीतिमा लाग्छन् त्यो भने हेर्न बाँकी छ ।

यता अध्यक्षमा चाहना राखेका वर्तमान जिल्ला कमिटीका सचिव राजेन्द्र डुम्रेले अव जिल्ला अध्यक्ष बन्ने आफ्नो पालो आएको बताए । जनप्रतिनिधिहरु अध्यक्ष बन्न पाउने व्यवस्था हाम्रो पाटीमा नभएको र सुर्य गैह्रे कमरेड अध्यक्ष भइसकेकोले अब मेरो पालो आएको हो की भन्ने लागेको डुम्रेले बताए । अध्यक्षको दावेदारी गर्न सक्ने वर्तमान उपाध्यक्ष कृष्ण खाँण वालिङ नगरपालिकाको नगर प्रमुख छन् भने पुर्व सचिव रहेर काम गरेका नेता सुधिर पौडेल गण्डकी प्रदेशको सांसद छन् । दुवै जना जनप्रतिनिधि भएकाले नेतृत्वमा जानबाट बन्चित भएका छन् । पत्रकारीता क्षेत्रबाट राजनीतिक यात्रा शुभारम्भ गरेका डुम्रे प्रेस चौतारी स्याङ्जाका संस्थापक अध्यक्ष हुन् । डुम्रले वालिङ बहुमुखी क्याम्पसको स्ववियु सभापति, नेकपा एमालेको भातृसंगठन अनेरास्ववियुको जिल्ला अध्यक्ष, वालिङ नगर कमिटीको अध्यक्ष हुदै जिल्ला सदस्य, जिल्ला सचिवालय सदस्य, उपसचिव र हाल सचिव भएर काम गरिसकेका छन् । २२ बर्षको राजनीतिक यात्रा अव जिल्ला नेतृत्वमा पुगेर काम गर्ने रहर आफुसँग रहेको उनले बताए । अध्यक्षमा चाहना राखेका गैह्रे र डुम्रेले भने सर्वसहमतिमै नेतृत्व चयन हुने विश्वास व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
लोसपा पनि चुनावी गठबन्धनतर्फ