काठमाडौं । २४ सै घन्टा ठमेल खुला गर्ने वा नगर्ने भन्ने विषयमा घरधनीहरुको बैठक शनिबार सम्पन्न भएको छ । कामपा–२६ का वडाध्यक्ष ख्यामराज तिवारीसहित बसेको उक्त बैठकले काठमाडौंमा २४ सै घण्टा ठमेल खुल्ला गर्ने नेपाल सरकारको निर्णयविरूद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाउने निर्णय भएको स्थानीय घरधनी सोजेशमान मालाकारले बताए ।
बैठकमा सहभागी सञ्जीवमान प्रधानका अनुसार ठमेललाई तत्काल २४ सै घन्टा खुल्न गर्न नहुने, धेरै कुराको अध्ययन गर्नुपर्ने तथा कुनै पनि संघ संस्थाले घरधनी र व्यवसायी भनेर मतभेद गर्न नहुने निष्कर्ष निकालेको छ । बैठकमा १०० जनाभन्दा धेरै घरधनीको सहभागिता रहेको प्रधानले बताए ।
त्यस्तै रन्जुमान प्रधानले आचरसंहितामा ठमेलका घरधनीलाई समावेश नगरेको भन्दै उक्त त्यसलाई संशोधन गर्नुपर्ने बताए । पूर्ववडाध्यक्ष विश्वम्भरलाल प्रधानले ठमेल क्षेत्रको एकिन नक्सा के हो र कति क्षेत्रलाई ठमेल भन्ने र हाल ठमेलको नाम र क्षेत्र बढ्दै गइरहेको बताए ।
कामपा–२६ का वडाध्यक्षले उक्त आचारसंहितामा वडा तथा नगर प्रहरीको पर्याप्त भूमिका नलेखिएको र आफ्ना घरधनीहरुलाई रातमा सुत्न समस्या हुनसक्ने बताए । बिगतको कुरा सम्झदै उनले उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा अतिरिक्त प्रहरी महानिरीक्षक दिवेश लोहनी रहँदा यस क्षेत्रका घरधनीले सुरक्षा अनुभूति गरेको तर हाल सुरक्षा अनुभूति नभएको बताए ।
